बंगलादेशको ढाकामा पर्यटन सेल्स मिशन कार्यक्रम सम्पन्न

डिसी नेपाल
१२ मंसिर २०७८ १२:५०

काठमाडौं । पछिल्लो समय कोभिड–१९ को महामारी खुकुलो हुँदै गएको अवस्थामा नेपाल पर्यटन बोर्डले नजिकका छिमेकी मुलुकहरुमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बंगलादेशको ढाकामा नोभेम्बर २३ मा पर्यटन सेल्स मिसन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका १४ वटा टुर अपरेटरहरुले बंगलादेशका ६० भन्दाबढी पर्यटन व्यवसायी र संचारकर्मीहरुलाई पर्यटनसँग सम्बन्धित आकर्षक प्याकेजहरुको बारेमा जानकारी गराएका थिए । साथै, नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा, नेपालमा उपलब्ध पर्यटकीय सुविधाहरुको बारेमा सूचना तथा ढाकास्थित नेपाली दूतावासले बंगलादेशी पर्यटकहरुका लागि सहजरुपमा प्रवेशाज्ञा उपलब्ध हुने बारे जानकारी गराइएको थियो ।

दक्षिण एसियाका मुलुकहरु मध्ये सबैभन्दा बढि आर्थिक वृद्धिदर भएकोे बंगलादेशले कोभिड–१९ को महामारीलाई पनि कुशलतापूर्वक व्यवस्थापन गरिरहेको सन्दर्भमा बंगलादेशीहरु माझ अन्तर्राष्ट्रिय पर्यटनको माग बढ्दै गएको देखिएको छ र नेपाल नजिकको गन्तव्य भएको, नेपाल र नेपालीहरुको छवि बंगलादेशमा अत्यन्त राम्रो रहेकाले नेपाल भ्रमणका लागि बंगलादेशीहरुको गहिरो चासो र उत्सुकता रहेको पाइएको जनाइएको छ ।

विश्व बैंकको तथ्याङ्क अनुसार बंगलादेशको कूल ग्राहस्थ उत्पादन २०२१–२०२२ मा ६ दशमल ४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ जुन दक्षिण एशियाली मुलुकहरु मध्ये सबैभन्दा उच्च आर्थिक वृद्धिदर मानिन्छ । आर्थिक वृद्धिसंगै नागरिकहरुको खर्च गर्न सक्ने सामाथ्र्य पनि बढ्ने भएकाले बंगालदेशीहरुमाझ अन्तर्राष्ट्रिय भ्रमणको माग पनि उच्च हुने देखिएको छ ।

नेपालको पर्यटन आगमन तथ्याङ्क अनुसार सन् २०१८ मा बंगलादेशबाट २६ हजारभन्दा बढी पर्यटकहरुले नेपालको भ्रमण गरेको थिए । तत् पश्चात विश्व महामारीको कारणले पर्यटन आगमनमा उच्च गिरावट आएको छ ।

नेपालको बंगलादेशस्थित दूतावासका उपनियोग प्रमुख कुमार राईले दूतावासबाट हुने सहयोगमा कुनै कमी नहुने आश्वासन दिंदै नेपाल र बंगालदेशको अत्यन्त सुमधुर सबन्ध रहेको र ढाकाबाट केवल एक घण्टामा काठमाडौं पुग्न सकिने र स्थलमार्ग भएर पनि नेपाल सहजरुपमा पुग्न सकिने भएकाले आगामी दिनहरुमा बंगलादेशी पर्यटकहरुको संख्या ह्वात्तै बढने संभावना रहेको बताए ।

नेपाल र बंगलादेश दुबै देशहरुले अन्र्तराष्ट्रिय पर्यटकहरुको लागि सीमाना खुला गरिसकेको सन्दर्भमा दुबै देशका टुर अपरेटरहरु आगामी वर्षहरुमा पर्यटनको आगमन उच्च वृद्धि हुनेमा निकै आशावादी रहेको कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले जानकारी दिए ।

कोभिड–१९ ले थला परेको नेपालको पर्यटनलाई छिमेकी राष्ट्र बंगालदेशबाट हुन सक्ने पर्यटकको आगमनले ठुलो राहत पुग्नसक्ने कार्यक्रममा सहभागीहरुको धारणा रहेको छ । साथै निकट भविष्यमै ढाकादेखि भारतको जलपाईगुडी रेलवे स्टेशनसम्म सिधा रेल सेवाको सुरुवात हुने भएकाले स्थलमार्ग भएर नेपाल आउने बंगालदेशी पर्यटकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि हुने साथै नेपाल एशोसियशन अफ टाभल एण्ड टुर एजेन्टस्का अध्यक्ष अच्युत गुरागाँइले बताए ।

२०१९ को मार्चदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ पश्चात् बोर्डले हालै मात्र श्रीलंकाको कोलम्बोमा पनि यस्तै कार्यक्रम गरको थियो भने अब स्थिति सामान्य हुँदै गएको खण्डमा अन्य स्रोत बजारहरुमा पनि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु व्यापक रुपमा संचालन गर्ने तयारी गरिरहेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट बोर्डका वरिष्ठ निर्देशक भण्डारी तथा अधिकृतहरु सुशिला कुमारी बराल र सिद्धार्थ विश्वकर्मा सहभागी रहेका थिए । साथै, नेपाल एशोसियशन अफ टाभल एण्ड टुर एजेन्टस्का अध्यक्ष अच्युत गुरागाँइले व्यवसायीहरुको टोलीको नेतृत्व गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *