बाँकेमा बर्सेनि बढ्दै एचआइभी/एड्स सङ्क्रमित

डिसी नेपाल
१५ मंसिर २०७८ १६:१०

काठमाडौं।बाँकेमा एचआइभी/एड्स रोगको सङ्क्रमण बर्सेनि बढ्दो क्रममा रहेको छ । पछिल्लो एकवर्षमा मात्रै बाँकेमा ११७ एचआइभी एड्स सङ्क्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए ।

उनका अनुसार बाँकेमा आर्थिक वर्ष २०७४/७५ मा ५० जना नयाँ सङ्क्रमित थप भएकामा २०७५/०७६ मा ८९ जना २०७६/७७ मा ११६ र २०७७/ ७८ मा ११७ नयाँ सङ्क्रमित थप भएका छन् । बाँकेमा विसं ७४/७५ मा एक हजार १२, २०७५/७६ मा एक हजार १०१, ७६/७७ मा एक हजार २१७ र २०७७/७८ मा एक हजार ३३४ जनामा एचआइभी एड्सको सङ्क्रमण देखिएको छ ।

बाँकेका ५१० सङ्क्रमितले भेरी अस्पतालबाट एआरटी सेवा र ३२६ सङ्क्रमितले अन्य सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा बनाएका कारण उपचारमा सहज भएको भेरी अस्पतालका एचआइभी÷एड्सस्रोत व्यक्ति डा सङ्केतकुमार रिसालले बताए ।

उनका अनुसार ४५२ सङ्क्रमितले स्वास्थ्य बीमा बनाएर निःशुल्क सेवा लिइरहेका छन् । एचआइभी सङ्क्रमण दर घटाउन अस्पतालले सुईबाट लागुऔषध सेवन गर्नेलाई मौखिक पद्धतिबाट लागुऔषध दिने गरेको छ । भेरी अस्पतालबाट ८० लागुऔषध प्रयोगकर्ताले मौखिक पद्धतिबाट लागुऔषध सेवन गर्दै आएका छन् । एचआइभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मिने बच्चामा एचआइभी सङ्क्रमण हुन नदिन अस्पतालमा पिएमटिसिटी सेवा लागू गरिएको डा रिसालले बताए ।

विश्व एड्स दिवसको अवसरमा बाँकेमा आज जिल्ला स्वास्थ्य कार्यालय, भेरी अस्पताल, नेपालगञ्ज उपमहानगरपालिका र एचआइभी÷एड्सको क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्थाले संयुक्त रुपमा सचेतनामूलक कार्यक्रम गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *