तीन हजार पर्यटन मजदूरलाई राहत

डिसी नेपाल
१५ मंसिर २०७८ १६:४९

काठमाडौं।नेपाल पर्वतरोहण सङ्घले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ ।

सङ्घमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिए। जापानको निप्पोन फाउण्डेसनको सहयोगमा उनीहरुलाई राहत दिन लागिएको हो ।

संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा आज काठमाडौँमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको छ । अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए ।

पर्यटन मजदूरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने जनाइएको छ । निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर (झण्डै रु दुई करोड ५० लाख) दिने सहमति भएको सो क्रममा जानकारी दिइएको थियो । सङ्घमा आवद्ध ११ हजार मजदूरमध्ये छनोट गरी राहत दिइने छ । मजदूरलाई चामल, दाल, नून, तेल, चिनी उपलब्ध गराइने सो क्रममा जानकारी दिइएको थियो ।

यस्तै सङ्घले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमासमेत स्वास्थ्य सामग्री वितरण गरिने छ । त्यस्तै ५०० पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डरसमेत दिइने जनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *