व्यवसायी साहले चार लाख खर्चेर हेलिकोप्टर चार्टर्ड गरी सम्पन्न गरे छोराको विवाह

डिसी नेपाल
१७ मंसिर २०७८ १२:०६

बारा । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । उनले करिब चार लाख रुपैयाँ खर्च गरी हेलिकोप्टर चार्टर्ड गरेका हुन् ।

जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न(गोला) व्यापारी हुन् । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका हुन् ।

बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो । हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार रुपैयाँ तिरेर चार्टर्ड गरेका थिए । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए ।

उनले भने, ‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो,’ बेहुलाका बुवा जोगीले भने, ‘बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्यो ।’ उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने बताए । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए । ‘हेलिकोप्टर चढ्ने इच्छा थियो, बिर्जुले भने, ‘बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो ।’ रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *