दशौं महाधिवेशन र नेपाली कम्युनिष्ट आन्दोलन – Dcnepal

दशौं महाधिवेशन र नेपाली कम्युनिष्ट आन्दोलन

नेकपा(एमाले)को एतिहासिक दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। दशौं महाधिवेशनले केही तत्कालीन ठूला चुनौतीलाई परास्त गर्दै आगामी नेपाली कम्युनिष्ट आन्दोलनको मुलप्रवाहको दिशा ग्रहण गरेको छ।

यद्यपी विपक्षी कम्युनिष्ट वा गैरकम्युनिष्ट शक्तिहरुले एमाले पार्टी, नेतृत्व र कार्यक्रमको विषयमा आम जनतामा भ्रम छर्ने प्रयत्न भने गरिरहेका छन्। त्यसैले, दशौं महाधिवेशनमा उभिएको एमालेले भ्रम र प्रचारात्मक होइन्, सही विचारको आधारमा नतिजामुखी व्यवहारहरुमार्फत जवाफ दिनुपर्नेछ।

महाधिवेशन र भ्रम तथा घेराबन्दीको पराजय

राष्ट्रियताको कोणबाट अघोषित ध्रुविकरण विकास हुने क्रममा एमाले विरुद्ध सम्पूर्ण इतरका शक्तिहरु एक भएर घेराबन्दीको प्रयास गरिरहँदाको बीचमा यो १० औं महाधिवेशन सम्पन्न भएको छ। यो महाधिवेशनले नेपाली राजनीतिक सतहमा पैदा भएका केही महत्वपूर्ण, आशंकापूर्ण र भ्रामक प्रश्नहरुको जवाफ दिएको छ।

पहिलो, पार्टीबाट एउटा समूह बाहिरिएको र थप केही समूहहरु भित्रिएको अवस्थामा एमाले पार्टी थप गुटहरु र समानान्तर नेतृत्वको समस्यामा फस्छ भन्ने भ्रम छर्ने काम भएको थियो। सो विषयमा महाधिवेशनले व्यवहारिक रुपमा नै अत्यन्तै सानदार जवाफ दिएको छ। झण्डै ९० प्रतिशत भन्दा धेरै प्रतिनिधिहरु मिलेर नेतृत्व निर्वाचित गरेका छन्। जसमा एकता प्रकृयामा रहेका सबै धारको उचित सम्बोधन समेत गरिएको छ।

साथै महाधिवेशनले औपचारिक एवं अनौपचारिक रुपमा पूर्व माओवादी र एमालेभित्रको १० बुँदे समुहको अन्त्य गरेर एकढिक्का संगठनात्मक नेतृत्वको निर्माण गरेको छ। १० औं महाधिवेशनले देखाएको यो अभुतपुर्व एकता नेपाली राजनीतिमा नै एउटा नमुना अभ्यास हो।

दोस्रो, पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको संघीय तथा सबै प्रदेश स्तरका सरकारहरुबाट एमाले बाहिरिने अवस्था भएपछि र माधव नेपालको नेतृत्वमा केही व्याक्तिहरु पार्टीबाट बाहिरिएपछि दलगत र आमजनताकोबीचमा एमाले कमजोर शक्तिमा रुपान्तरण भएको भ्रम छरिएको थियो।

राजनीतिमा संघर्ष निरपेक्ष विषय हो, तर संघर्षले निर्माणको चरणलाई गुजार्न सकेन वा चाहेन भने संघर्षको उपलब्धि नै उपयोगिताविहिन अवस्थामा पुग्दछ। जुन कुरा तत्कालीन अवस्थामा विपीको नेतृत्वमा भएको आन्दोलन र प्रचण्डको नेतृत्वमा भएको आन्दोलनले देखाइसकेको छ। त्यसैले आवश्यकतामा संघर्ष र निर्माणको विषयलाई आत्मसात गर्ने कम्युनिष्ट तथा बाम राजनीतिको मुलप्रवाह एमाले नै बन्ने कुरा निश्चित छ।

यस्तो प्रकारको भ्रमलाई महाधिवेशनको उद्घाटन सत्रले ठाडै जवाफ दिएर भ्रम प्रचारकहरुको मुखमा बुझो लाइदिएको छ। जसको प्रमाणको रुपमा चितवन महाधिवेशनमा इतिहासमा नै पहिलोपल्ट लाखौंलाख मानिसहरुको सहभागिता हो।

तेस्रो, विचार राजनीतिको सवालमा राष्ट्रियताको विषयलाई अध्यक्ष केपी शर्मा ओलीले सत्ताको प्रश्न मात्रै बनाएको भ्रम छर्ने प्रयत्न गरिएको थियो। महाधिवेशनमार्फत सिंगो एमाले पार्टी राष्ट्रिताको विषयमा एकढिक्का भएर अध्यक्षको नेतृत्वमा उभिएको छ।

देशको नयाँ नक्सा प्रकाशनको नेतृत्व गर्नुभएका अध्यक्षले महाधिवेशनमा नक्साको कार्यान्वयनको पाटोलाई दह्रोसँग राख्नुभएको छ। १० औं महाधिवेशनले एमालेलाई राष्ट्रियताको सही पहरेदार शक्तिको रुपमा पुनः दह्रोसँग स्थापित गरेको छ।

मुलप्रवाह निर्माणको प्रश्न

वडा अधिवेशन, पालिका अधिवेशन र महाधिवेशन प्रतिनिधि छनौटको प्रकृयाबाट नै कम्युनिष्ट पार्टीको निर्विकल्प मुलधार र देशको बलियो पार्टीको रुपमा एमालेलाई बनाउने संकल्पका साथ सम्पूर्ण सदस्यहरुले एकता र ध्रुविकरणको विषयलाई आत्मसात गरेका थिए।

जसको आधार भनेको नेतृत्वले अगाडि सारेको विचार नै थियो। नेपालको राजनीतिक इतिहासले एउटा व्यवहारिक जवाफ आँफै दिँदै आएको छ कि, कुनै पनि फुटपरस्त गुटहरुले समान राजनीतिक कार्यक्रममा प्रतिस्प्रर्धाका आधारमा अगाडि बढ्न सक्दैनन्। फुटको बिन्दुबाट बरु फुटपरस्तहरुको अन्त्यको सुरुवात हुन्छ।

पार्टी वा नेतृत्व निर्माण गर्ने विषय सामान्य कुरा होइन। त्यो एउटा एतिहासिक आवश्यकता, प्रकृया, विचार, कार्यक्रम, आन्दोलन, रुपान्तरण, आदि चरणहरु पार गर्दै निर्माण भएको हुन्छ। त्यति मात्रै होइन्, मुलधार राजनीति वा आन्दोलन वा सत्ताको वैधानिकताको प्रश्न भनेको जनअनुमोदन र शक्तिसन्तुलनसँग पनि उत्तिकै जोडिएको हुन्छ।

तर यहाँनेर एउटा सत्य पनि सँगै हुन्छ की, मुलधार, आन्दोलन वा सत्ताको अस्तित्व निश्चित विचार वा शक्तिको नेतृत्वमा निरपेक्ष रुपमा रहन पनि सक्दैन। त्यो हरेक समय संघर्ष र संकटकोबीचबाट गुज्रिरहेको हुन्छ।

नेपाली कम्युनिष्ट आन्दोलन वा नेपाली राजनीतिक आन्दोलनले ७ दशक भन्दा धेरै समय व्यवस्था स्थापनाको निमिक्त संघर्ष गरिसकेका छन्। कमजोर सम्झौता वा अपरिपक्कताको कारण संघर्षद्वारा प्राप्त उपलब्धिको दिगो व्यवस्थापनमा समस्या देखिने गरेको छ। तर पछिल्लो आन्दोलन र संविधानले समाजवादी राजनैतिक विचारधारा वा व्यवस्थालाई सम्बोधन गरिसकेको छ।

अब त्यसलाई कार्यान्वयन गर्ने वा संघर्षबाट निर्माणको चरणमा नेपाली राजनीतिक आन्दोलन प्रवेश गरेको छ। अस्तित्वमा रहेका माओवादी वा अन्य राजनैतिक धाराहरुले क्षणिक लाभ प्राप्तिको मार्गलाई समात्न खोजेको र निश्चित व्याक्तिको राजनैतिक सक्ता नेतृत्व मोहका कारण निरन्तर फुटको मार्गमा अगाडि बढिरहेको नतिजाले देखाएको छ।

जसकारण झण्डै ३ दशक भन्दा लामो समयदेखिको एतिहासिक घट्नाक्रमलाई हेर्दा एमालेले मात्रै परिस्थिति अनुकुलन आफूलाई मुलधारको रुपमा स्थापित गर्न खोजेको र तुलनात्मक रुपमा सफल भएको सजिलै अनुभूती गर्न सकिन्छ।

एमालेको दशौं महाधिवेशनले संघिय लोकतान्त्रिक गणतन्त्रलाई सँस्थागत गर्दै अगाडि बढ्ने व्यवहारिक संकल्प गरेको छ। साथै पार्टी भित्र अनावश्यक प्रतिस्पर्धा नभएर सहमतीको मार्गलाई जोड दिएको छ।

राजनीतिमा संघर्ष निरपेक्ष विषय हो, तर संघर्षले निर्माणको चरणलाई गुजार्न सकेन वा चाहेन भने संघर्षको उपलब्धि नै उपयोगिताविहिन अवस्थामा पुग्दछ। जुन कुरा तत्कालीन अवस्थामा विपीको नेतृत्वमा भएको आन्दोलन र प्रचण्डको नेतृत्वमा भएको आन्दोलनले देखाइसकेको छ। त्यसैले आवश्यकतामा संघर्ष र निर्माणको विषयलाई आत्मसात गर्ने कम्युनिष्ट तथा बाम राजनीतिको मुलप्रवाह एमाले नै बन्ने कुरा निश्चित छ।

महाधिवेशनमा नेतृत्व देवत्वकरण वा केन्दिृकरणको प्रश्न

एमालेको दशौं महाधिवेशनमा अध्यक्ष ओलीलाई देवत्वकरण गरीएको प्रश्न उठाइएको पाइन्छ। साथै एमालेमा लोकतन्त्र वा जनवाद कमजोर भएको र सम्पूर्ण शक्ति नेतृत्वमा केन्द्रिकरण गरिएको पनि सवाल उठाउने गरिएको छ। यि दुबै सन्दर्भहरु एमाले राजनीति नबुझेका वा निराधार आरोप लगाएर आम जनतामा भ्रम छर्न चाहनेहरुले गरेको दुषित प्रयास मात्रै हो । किनकी यी आरोपहरुमा तथ्यगत र राजनैतिक सिद्धान्तनिष्ठ आधारहरु रहेका छैनन्।

पहिलो, एमाले पुर्ण रुपमा लोकतन्त्रका विधि र प्राणालीलाई आत्मसात गर्ने पार्टी हो। यसले लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक अभ्यास गर्ने भन्ने कुरा हुन नै सक्दैन्। किनकी माक्र्सवाद र जबज आँफैमा पुर्ण लोकतन्त्र लक्षित राजनैतिक सिद्धान्त हुन्। जसलाई एमालेले आफ्नो मार्गनिर्देशक सिद्धान्तको रुपमा स्विकार गर्दै आएको छ।

दोस्रो, नेतृत्व केन्द्रिकरण वा जनवादको माध्यमबाट नेतृत्व निर्माणको विषय भनेको निरपेक्ष रुपमा आन्दोलनमा कार्यान्वयन हुने विषय होइनन्। विचार तथा कार्यक्रम निर्माणको सन्दर्भमा जहिलेपनि जनवादको प्रश्न नै मुख्य हो। पार्टी निर्माणको सवालमा वा संकटको समयमा वा लक्ष्य प्राप्तिको समयमा विचार वा कार्यक्रमको विषयमा जनवाद वा लोकतन्त्रको प्रयोग भइसकेपछि सहमतिको माध्यमबाट नेतृत्वको निर्माण गर्ने गरिन्छ। यो विश्व राजनीतिमा नै भएको व्यवहारिक प्रयोग हो।

एमाले पार्टीको महाधिवेशन यहिँनेर उभिएको परिस्थितिका बीचमा सम्पन्न भएको हो। त्यसैले राष्ट्रियता र पार्टीको बिरुद्धमा आएका घेराबन्दीलाई तोड्नको निमिक्त सुदृढ एकता र क्षमतावान नेतृत्वको विकास गर्नुपर्ने आवश्यकता एमालेका लागि अनिवार्य बनेको थियो।

अध्यक्ष ओलीले अगाडि सार्नुभएको विचार राजनीति, दृढता र क्षमताको विकल्पमा थप उत्तम विषयलाई अर्को नेतृत्वको तर्फबाट अगाडि ल्याउने काम भएको थिएन। त्यसैले अध्यक्ष ओलीलाई महाधिवेशनले देवत्वकरण वा उहाँमा शक्तिको केन्द्रिकरण गरेको नभई आवश्यकता वा निर्विकल्प नेतृत्वको रुपमा अगाडि सारेको हो।

महाधिवेशन र आगामी एमाले

एउटा संकट र भिषण अन्र्तसंघर्षको बीचबाट १० औं महाधिवेशनले नयाँ र एकिकृत एमालेको निर्माण गरेको छ। तर आगामी दिनमा थप विजयका लागि भने धेरै चुनौतीहरु हाम्रासामु उभिएका छन्। महाधिवेशनले निर्माण गरेको बलियो र दृढ एकताभाव बोकेको पार्टीलाई नतिजामुखी अभियानमा प्रवेश गराउने जिम्मेवारी नवनिर्वाचित नेतृत्वको हो।

एउटा महत्वपूर्ण विषय भनेको संविधानबमोजिम तय गरिएको समाजबादउन्मुख तत्कालीन कार्यनीति तय गर्नु हो। जुन व्यवस्था, पार्टीको मार्गनिर्देशन सिद्धान्त र तत्कालीन अवस्थाले मागले गरेको छ। नेपालको अस्थिर राजनीति र कमजोर राष्ट्रियतालाई सुदृढ बनाउन पनि समाजवादउन्मुख अर्थराजनीतिक कार्यक्रम वास्तवमा नै अब अगाडि बढाउनुपर्ने देखिएको छ। जसले मात्रै आम जनताको आधारभुत अधिकारको ग्यारेन्टी गर्दै समृद्ध राष्ट्र निर्माण गर्न सक्छ।

अध्यक्ष ओलीले अगाडि सार्नुभएको नेपाली मौलिकतासहितको समृद्ध राष्ट्र निर्माणको प्रश्न नै वास्तवमा समाजवाद प्राप्तिको लागि सहि आधार बन्न सक्छ। साथै नेपाली मौलिकतामा विकास हुने समृद्धिले समस्याहरुको दिगो व्यवस्थापन पनि गर्न सक्छ। मुल विषय अध्यक्ष ओलीले सम्प्रेषण गरिसकेको सन्दर्भमा अब त्यसलाई २१ औं सताब्दीको मुर्त अर्थराजनीतिक मार्गको स्वरुप दिने कुरामा सम्पुर्ण निर्वाचित नेतृत्वहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्दछ।

दोस्रो महत्वपुर्ण विषय भनेको तय गरिएको कार्यदिशा वा कार्यनीतिलाई प्राप्ति गर्नको लागि विशाल संगठन निर्माण गर्नु नै हो। एमाले आँफैमा विधिमा स्थापित विशाल संगठन हो। तर यसलाई नयाँ सन्दर्भमा थप विस्तार र व्यवस्थित गर्नुपर्ने हुन्छ।

मौलिकताको संरक्षण, राष्ट्रिय पुँजीको विकास, जनताका आधारभुत अधिकार (शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, आदि) को ग्यारेन्टी, आदि र वर्तमान व्यवस्थाको थप प्रगतिशिल रुपान्तरण, आदि कार्यक्रममा अट्न सक्ने सम्पूर्ण पक्षलाई विशाल एमाले निर्माणको अभियानस्वरुप एकतावद्ध गर्ने संगठनात्मक र कार्यक्रमिक स्वरुपलाई अगाडि बढाउनु पर्दछ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो