हुम्लामा पुनः हिमपात : किसान खुशी

डिसी नेपाल
१२ पुष २०७८ ९:३७

हुम्ला। हुम्लामा पुनः हिमपात सुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसममा फेरबदल आएसँगै हिमपात सुरु भएको हो ।

हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।

ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिए । “हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ ।” उनले भने, “हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन ।”

हिमपातले दक्षिण क्षेत्रका किसान खुसी

लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी छन् । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुुशी भएका अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए । हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *