ओमिक्रोन निको भइसकेपछि यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल

डिसी नेपाल
७ माघ २०७८ १४:००

काठमाडौं । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । हालै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्दो क्रममा रहेको छ । यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ। ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ।

ओमिक्रोनले स्वास्थ्यमा समस्या भएका व्यक्तिहरुमा अलिकबढी आक्रमण गर्ने गर्दछ । जस्तै , लगातार लामो समयदेखि मेडिकेसन लिइरहेका व्यक्ति, क्यान्सर, सिओपिडी, क्रोनिक किड्नीसम्बन्धी रोग, डायबिटिज, मोटोपनाको समस्या भएका बिरामीको स्वास्थ्यमा भाइरसले बढी असर गर्छ ।

ओमिक्रोनको संक्रमणबाट बच्न मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने गर्नु पर्दछ । साथै कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्छ। खोप लगाइसकेका व्यक्तिलाई कोरोना संक्रमण भए पनि धेरै असर नगर्ने चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुमा पूर्ण रुपले कोरोना हटिनसक्ने हुनाले स्वास्थ्यको विशेष ख्याल गर्न आग्रह गरेको छ । कोरोनाबाट निको भएका व्यक्तिहरुले आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने त ? निको भएका संक्रमितमा दीर्घकालीन असर देखिने विभिन्न तथ्यांकले बताएका छन् । तर, संक्रमण भएका सबै व्यक्तिमा भने दीर्घकालीन असर देखिँदैन । सामान्यतः तीन हप्ताभित्र संक्रमण निको हुन्छ । जटिल लक्षण देखिएका बिरामीमा भने निको हुने समय लम्बिन सक्छ ।

यस्तै, पहिलेदेखि अन्य स्वास्थ्य समस्या भएका र सिभियर संक्रमण भएका व्यक्तिको स्वास्थ्यमा दीर्घकालीन असर देखिन सक्छ । अध्ययनअनुसार केही व्यक्तिमा संक्रमण निको भइसकेपछि न्युरोलोजिकल र मानसिक समस्या देखिन सक्छन् । यसका लागि संक्रमण निको भइसकेका व्यक्तिले समेत स्वास्थ्यको विशेष ख्याल राख्न आवश्यक छ ।

सामान्य रूपमा लिने-लक्षण देखिएका बिरामीमा औषधिको प्रयोगबिना ७२ घन्टासम्म ज्वरो नआउनु, रुघाखोकी वा श्वासप्रश्वासको समस्या नदेखिनु संक्रमण निको हुने लक्षण हुन् । संक्रमित व्यक्तिमा भाइरसले पार्ने असरभन्दा यसले निम्त्याएको डरका कारण बढी समस्या भइरहेको पाइन्छ । तसर्थ, संक्रमण निको भइसकेपछि केही समय आराम गर्न आवश्यक हुन्छ।

नियमित व्यायाम गर्ने- जीवनशैली सन्तुलित नहुँदा आइसोलेसन बसाइपछि स्वास्थ्यमा अन्य प्रतिकूल समस्या पनि देखिन सक्छन्, यसका लागि नियमित शारीरिक व्यायाम गर्नुपर्छ । सुरुवातमा हलुका व्यायाम जस्तै, घरमै हिँडडुल गर्ने वा अन्य सामान्य व्यायाम गर्न सकिन्छ ।

लक्षणहरूमा ध्यान दिने-संक्रमण निको भइसकेपछि पनि भाइरसका लक्षणहरू देखिन सक्छन् । जस्तै, ज्वरो आउने, खोकी वा श्वासप्रश्वासमा देखिनेजस्ता सामान्य लक्षणहरू देखिन सक्छन् । टाउको दुख्ने वा श्वासप्रश्वासमा जटिल समस्या भएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

संक्रमणलाई बेवास्ता नगर्ने-सामान्यतः एकचोटि संक्रमण निको भइसकेपछि दोस्रोपटक पनि संक्रमण देखिने सम्भावना रहन्छ । कतिपयले संक्रमण निको भइसकेपछि केही हँुदैन भनेर बेवास्तासमेत गरिरहेको देखिन्छ, शरीरमा भाइरसविरुद्धको इम्युन नबनिसकेकाले ख्याल राख्नुपर्छ ।

साथै बेसार, मरिच, खोर्सानी, जिरा, धनियाँ, मेथी, टुसा उमारेका खानेकुरा, मह, कागती, अमला, अम्बा, फलफूल, दही, मोही, चिज, माछा मासु र अण्डा राम्रोसँग पकाएर खाने गर्नु पर्दछ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *