भिजिट भिसामा खाडी मुलुक गई काम गर्ने र अलपत्र परेका समस्या समाधान गर्न छानबिन समिति गठन

डिसी नेपाल
११ माघ २०७८ १८:५९

काठमाडौं । नेपाली युवाहरु भिजिट भिसामा खाडी मुलुक गई काम गर्ने र त्यहाँ समस्या परेपछि दूतावास गुहार्ने समस्या देखिएपछि गृहमन्त्रालयले त्यसविषयमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरेको छ ।

नेपाली युवाहरु अलपत्र परी विभिन्न समस्यामा परेको गुनासोलाई सम्बोधन गर्न र समस्या समाधान गर्नका लागि गृहमन्त्रालयले सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

सो समितिका सदस्यहरूमा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन् ।

समितिको सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन् । गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा बसेको बैठकले सो समिति गठन गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच छलफलपछि सो समिति गठन भएको थियो ।

बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहितको बैठकले नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाई र त्यसबारे देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्न निर्दैशन दिएको हो ।

बैठकमा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टा«न्जिट प्यासेन्जर्सको सहज अवस्था सिर्जना गर्न उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न सस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय निर्णय गरेको छ । त्यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकमा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *