व्यंग्य : गफ बिधानको, बिजोग संबिधानको

डिसी नेपाल
१६ माघ २०७८ ७:४५

यसपाली फेरि जनताले भोट हाल्न पाउलान् र उही सबैले चिने जानेका नेताहरु नै जितेर आउलान् भनेजस्तो माहौल बन्दै गएको हुनाले जनताको खुसीको सीमा नभए जस्तो देखिन्छ।

नेताहरुको अह्रन खटनमा उहाँहरुले भनेजस्तो र चाहेजस्तो तरिकाले भोट खसाल्ने अनि उहाँहरुलाई नै लगेर राम्राराम्रा आसनमा बसाल्ने र सिंहदरबार, बालुवाटार, शितलनिवास, बानेश्वरदेखि लिएर अरु मुख्यमुख्य ठेगानाहरुमा आरामसित पसाल्ने ब्यबस्थाको लागि भोट हालिदिनु जनताको परम मध्येको एउटा कर्तब्य नै हो भन्ने कुराको जनतालार्ई राम्रो हेक्का रहेको छ।

आफ्नो कर्तब्य गर्नु तर फलको आशा नगर्नु भनेर भगवान श्रीकृष्णले नै आदेश दिनु भएको र जनताले यसलार्ई भित्रिमनबाटै मान्छन् भन्ने बिचार मनमा लिनु भएको हुनाले जनताले हरेक चुनावमा यसलार्ई मूलमन्त्रको रुपमा लिएर भोट हाल्ने तर जित्नेबाट केही पाइएला भन्ने बिचार मनमा पाल्ने अनि केही पाइएन भनेर पिर गर्न थाल्ने काम गर्दैनन्।

बिगत तिसौं बर्षदेखिको अनुभवले खारिएका र रैतीबाट जनतामा उकालेर फेरि रैतीभन्दापनि तल्लो स्तरमा झारिएका सार्बभौम सत्ता सम्पन्न जनताले भोट दिएर नेताहरुलार्ई सम्पन्न बनाउँदा बनाउँदै दुई तिन पुस्ता मासिने र त्यसपछिको पुस्ता अझ तल भासिने पक्का भएकोले मानसिक रुपमा तयार रहेको जनताको भोट यसपालीपनि सही ब्यक्तिकै नाममा जानेसमेत पक्का छ।

स्थानीय तहदेखि प्रदेश सभा र संघीय संसद समेतको अबधि सकिन लागेको भन्ने सुनेपछि जनता भोट खसाल्न जागेको हुनाले नेताहरुले आफ्नो अनुकूल चुनाव गराउन मागेको कुरा ज्यादै जायज हो। यस्तो जायज प्रजातान्त्रिक माग सुनेर बिभिन्न खाले दाग लगाउन खोजेको जनतालार्ई चित्त बुझ्ने कुरै आउँदैन।

आबधिक निर्बाचनमा भोट खसाल्न र आफ्नो पक्षका उम्मेदवारलार्ई जिताएर चाहेको ठाउँमा पसाल्न जनताको सँधैभरि तिब्र इच्छा भइरहन्छ अनि यसरी नै निर्वाचनको काम आफ्नो गतिमा गइरहन्छ भन्ने सबैलार्ई थाहा भएकै कुरा हो। सांसदहरु पाँच बर्षको लागि चुनिएका र काम गर्ने अति चाहना हुँदाहुँदैपनि काम गर्न नसक्ने अबस्थामा थुनिएका भन्ने राम्ररी बुझेर बालकोटे कामरेडले अर्लि इलेक्सन गराएर भएपनि जनतालार्ई छिटै भोट हाल्ने मौका दिलाउन निकै प्रयास गरे।

उनको आह्वान अनुसार उनले चाहे जसरी नै जनताले भोट खसालिदिन्छन् र दुई तिहाइभन्दा बढीको बहुमतसहित उनैलार्ई सिंहदरबार भित्र पसालिदिन्छन् भन्नेमा ढुक्क भएर घोषणा गरेकोमा जनता अत्यन्त उत्साहित थिए भन्ने उनको बुझाइ रहनु सही हो। जनताको यही चाहनालार्ई राम्ररी बुझेर नै उनले दुईदुई पल्ट संसद बिघटन गरेर चुनावको घोषणा गरी जनभावनाको सारै राम्रो कदर गरेपनि अदालतले बदर गरिदिएको हुनाले जनभावना अनुसार चुनाव हुन नसक्नु अर्कै कुरा हो।

संबिधानको ब्याख्या यिनले आफ्नो तरिकाले गरे अदालतले आफ्नो तरिकाले गर्‍याे। एक्लाएक्लै भाग लिन पर्ला भनेर इलेक्सनबाटै तर्केका अरु नेताहरु अर्लि इलेक्सनबाट थर्केका देखिनुलार्ई नौलो मान्न र सही कदम हो भनेर जान्न सकिन्न। सहयात्री हौँ भनेर सँगसँगै हिँड्ने र मौका पाउनासाथ एकअर्कालार्ई गिँड्ने अनि फाइदा भएन भने सबै सम्झौताहरु बिर्सेर एकअर्का बिरुद्ध आँखा चिम्लेर भिड्ने सारै राम्रो अभ्यास देख्दा जनता दंग परेका छन्।

अर्लि इलेक्सनमार्फत अझ बलियो बहुमत ल्याउने र जनताको लागि सबै शक्ति भ्याउने आफ्ना नेताको अझ कतिका त प्रिय बा को तिब्र चाहनालार्ई पूरा गराउने जनताको प्रबल इच्छा हुँदाहुँदै पनि दुईदुईपल्ट पछाडि फर्कन पर्दा नेताको मुटु कति चर्कन गयो होला भन्ने त सोचिदिन पर्ने हो।

यिनका एकाघरका करिब दुई दर्जनभन्दा बढी नातेदारहरु सरकारको सहसचिब भन्दा माथिल्लो दर्जा सरहमा नियूक्त भएर जनहितका कार्यमा लागिरहेका र अझ ठूलो नियुक्ति पाइएन भनेर जागिरहेका छन्। यिनको ब्यक्तिगत खर्चमात्रै दैनिक लाखौँको छ। नाति नातिना देश बिदेशका उच्च र महँगा बिद्यालयमा पढेर भबिष्यका उम्दा नागरिक बन्ने बाटोमा लागेका छन्।

यती, ओम्नी, बतासलगायत अन्य नाम चलेका ब्यापारिक घरानामार्फत जनताको द्रूत आर्थिक स्तरको बृद्धि, मन्त्री माननीय र अन्य अत्यन्त जिम्मेवार कामरेडमार्फत सरकारी जग्गाहरुको राम्रो भाडा ब्यबस्थापन प्लटिङ दलाली आदिको शानदार कारोबार, ढुंगा गिट्टी बालुवाको कारोबारमा आफ्नै मन्त्री र माननीयहरुको असरदार परिचालन, संबैधानिक र अन्य नियुक्तिहरुमा आफ्नै अत्यन्त योग्य कामरेडहरुलार्ई बिशेष नियुक्ति आदि गरेको, सरकारी टेण्डर प्रकृयामा मन्त्री र उनका एकाघरका सदस्यहरुको राम्रो संलग्नता आदि जस्ता ज्यादै जनमुखी कार्यहरु सम्पन्न गर्दै र यसबाट सबैतिर चर्दै गएको देख्न नसकेर मात्रै हो नत्र यसबेलासम्म अर्लि इलेक्सनबाट जनताले निकै ठूलो फाइदा उठाइसक्ने निश्चित नै थियो।

यति राम्रो कामलार्ई अझ मुर्त रुप दिने पबित्र उद्देश्य हुँदाहुँदैपनि बालकोटे कामरेडका शत्रुहरुले अदालत लगाएर उनलार्ई पत्रु साबित गरिदिएको हुनाले जनताले अर्लि इलेक्सनमा भाग लिन नपाउनु ज्यादै दुखद बिषय हो।

जसरी बालकोटे कामरेडले निस्वार्थ भावले जनहितको लागि मात्रै अर्लि इलेक्सनको कुरा झिकेका र त्यही औकातमा बिकेका थिए अहिले स्वघोषित महान नेता भनेरसमेत चिनिने र ब्यक्तिगत फाइदाको लागि बिदेशीहरुबाट सजिलैसित किनिने खुमलटारे कामरेडलेपनि उही निस्वार्थ पाराले अर्लि इलेक्सनको कुरा अगाडि सारेर अनि उहाँबाट देश र जनताको लागि यति राम्रो प्रस्तावपनि आउन सक्दो रहेछ भन्दै सबैलार्ई अलमल्ल पारेर उस्तै प्रस्ताव मुखबाट झारेर राजनैतिक बृत्तमा निकै हिट खाएका छन् रे भन्ने सुनिन्छ।

यो प्रस्तावमा उनको कुनै स्वार्थ लुकेको नहुनाले उनि कतै चुकेको भन्न मिल्दैन। संबिधान नियम कानुन अनुसार पहिले स्थानीय तहको निर्बाचन सकिएपछि प्रदेश र संघीय संसदको चुनाव गर्न पर्ने भएतापनि यसपालिलार्ई पहिला संघ र प्रदेश अनि आफूलार्ई पायक परेको समयमा स्थानीय तहको निर्बाचन गर्ने भन्ने रहेछ। कुरा ठिकै हो। जुन चुनाव जहिले गरेपनि यिनको दलले नै बहुमत ल्याउने निश्चित भएको र सबैतिरको माहौल त्यही अनुसार गएको हुनाले यिनलार्ई कुनै फरक पर्दैन।

यिनको दलका नेता र कार्यकर्ताहरुलार्ई मतपत्र च्यात्ने चपाउने लुट्ने अनि अरु दलकालार्ई त्यहाँबाट धपाउने एउटा सानो छुट मात्रै दिनपर्ने हो। यिनी जतिको सहयोगी भावना भएका नेतापनि देशमा अर्को छैन होला। सबै तहको चुनावमा अन्य दलहरुसित गठबन्धन र सहकार्य नगरी चुनावमा जान पटक्कै मन नगरेर कटक्कै मन दुखाउने बिरलै नेतामा यिनी नै पर्ने रहेछन्। यसअघिपनि बुढानिलकण्ठे सभापतिसित तालमेलसहितको जालझेल गरेर छोरीलार्ई जनचाहना अनुसार मेयरमा जिताएकै हुन्।

अलि अघि आफैलेपनि सिराहमा मतपेटिका साटेर जितेको अति प्रजातान्त्रिक नजिर छँदैछ। गत निर्बाचनमापनि बालकोटे कामरेडसित साँठगाँठ गरेर सँसदको चुनाव जितेर आएको सबैलार्ई थाहा नभएको होइन। माथिदेखि तलसम्म एक्लै बहुमत ल्याएर देखाउन सक्ने अद्भुत क्षमता भएपनि देश र जनताको साथै गठबन्धनमार्फत आफूसित आश्रित दलको हितलार्ई ध्यानमा राखेर मात्रै यिनले यस्तो बोलेका र जनहितको स्वार्थलेमात्रै सबैको अगाडि यति कुरा खोलेका हुन् भन्ने सबैलार्ई राम्ररी थाहा छ। जनताको चाहना नै उनको चाहना हो भन्ने अहिलेसम्म सबैले बुझिसकेका हुनाले यिनले आफैं भन्नै नपर्ने भइसक्यो।

जनचाहनाकै कारणले यिनका एकाघरका करिब दुई दर्जनभन्दा बढी नातेदारहरु सरकारको सहसचिब भन्दा माथिल्लो दर्जा सरहमा नियूक्त भएर जनहितका कार्यमा लागिरहेका र अझ ठूलो नियुक्ति पाइएन भनेर जागिरहेका छन्। यिनको ब्यक्तिगत खर्चमात्रै दैनिक लाखौँको छ।

नाति नातिना देश बिदेशका उच्च र महँगा बिद्यालयमा पढेर भबिष्यका उम्दा नागरिक बन्ने बाटोमा लागेका छन्। यिनका दलका सामान्य नेता कार्यकर्तासमेत घटीमा करोडदेखि अरबसम्मको हैसियतमा छन्। यिनका एकजना सामान्य कार्यकर्ताले हालसालै आफ्नै खर्चमा बिदेशमा निकै महँगो उपचार पूरा गरेर प्लेन चार्टर गरेर स्वदेश फर्केकोमा जनता औधी खुसी छन्।

यि र यस्तै कार्यहरु गरेपनि यिनलार्ई यहाँसम्म पुर्याउने लडाकु शहिद घाइते अपांग बेपत्ता अयोग्य बिधवा टुहुरा आदिलार्ई बर्षमा एकदुइ पटक सम्झेर यिनले ठूलो सहयोग पुर्याएकोमा उनिहरु दग छन्। यी र यस्ता कारणहरुले गर्दापनि अब आउने निर्बाचनमा कतै अर्कोसित टाँसिने र गठबन्धनमा गाँसिने काम गर्दै नगरेपनि सबैभन्दा ठूलो दल बन्ने यिनको चाहना कतैबाट नासिने सम्भावना छँदैछैन भनेर ठोकुवाको साथ भन्न हिचकिचाइ राख्न पर्दैन।

चुनाव सम्बन्धि यिनको भनाइ बिद्यमान संबिधानभन्दा बाहिर भएजस्तो कसैलार्ईपनि लागेको छैन भन्ने यिनको भनाइ जायज छ। बिधान र संबिधान कहिल्यै नमिच्ने यिनको नानि देखिको बानि भएकोले अरुलेपनि राम्ररी पत्याइ दिएका र सही भनाइ हो भनेर लिएका छन्।

देशैभरि आफ्नो बिचारको लहर आएको ठहर गर्दै आउँदो चुनावबाट ठूलो दल बनेर राजनीतिमा फड्को हान्ने र बालकोटेतिर सल्केका नेताहरुलार्ई आफूतिर तान्ने सोचकासाथ अघि बढेका कोटेश्वरे कामरेडलार्ईपनि चुनावको लागि गठबन्धनको बैशाखीको कुनै आबश्यकता छैन।

यिनलेपनि अहिले सरकारमा गठबन्धन भइरहेको र यसैको आडमा सबैथोक रमाइलोसित गइरहेको हुनाले चुनावको लागि भनेर तोडिहाल्दा अरु दलहरुलार्ई अप्ठ्यारो पर्ला र उनीहरुको स्तर तल झर्ला भनेर मात्रै त्यसो नगरेको भन्ने सबैले बुझेका छन्। नत्र एक्लै खडा भएर सबैलार्ई कडा टक्कर दिँदै भोटको घडा आफूले चाहेको ठाउँमा चाहे अनुसार भर्न सक्ने यिनको क्षमता नभएको होइन।

गठबन्धन तोडौँ सरकार प्रधानको कुर्सीदेखि लिएर स्थानीय तहसम्म फुत्केला भन्ने डर। गठबन्धन मात्रै भनेर बसौँ आफ्नैले बागी हुँदै करौँती उम्मेदवार खडा गरेर धोका दिँदै ठूलो पोका माग गर्लान् भन्ने डर। चुनावमा एक्लै जाने क्षमता हैसियत र आँट नभएपनि सँधैभरि ढाँट कुरा गरेर अरुकै बुइ चढेर चुनाव जित्दै आएका परजिवी कामरेडहरुको टेको र बैशाखीको सहारामा सरकार प्रधान भएपछि चुनावमा उनीहरुका माग नसुने आफैलार्ई नयाँ दाग लगाइदेलान् भन्ने डर।

बिधान नीति नियम नैतिकता अनुशासन आदिमा यिनि जतिको पक्का अरु कोही नभएकोले यिनलार्ई कसैले धक्का दिन सक्दैन। यिनको दल कत्तिको जनहितकारी छ भन्ने कुरा त यिनका मन्त्रीहरुले गरिरहेका कामबाटै सबैतिर प्रष्ट भएकोले कोहिपनि भ्रष्ट छैनन् भन्ने त्यसै थाहा हुन्छ। यिनले भनेजस्तो संघीय, प्रदेश र स्थानीय तहको चुनाव जहिले आबश्यक हुन्छ त्यहि बेलामा गरिदिए के नै फरक पर्छ र?

अहिले भइरहेकाहरुले जे गर्दै आइरहेका छन् र जनताले उहाँहरुबाट जे पाइरहेका छन् चुनाव पछिपनि हुने त त्यही नै हो। आउनेपनि तिनै हुन् र सबै यिनै हुन्। चाहेको बेलामा चुनाव र अन्तिमको चुनावसम्म गठबन्धन गर्ने र यसबाटमात्रै सबैको समस्या टर्ने भनेपछि नचाहिँदो कामको लागि अघि सर्ने काम राम्रो होइन। यिनले जे भनेका छन् ठिक भनेका छन्। गर्न पर्ने नै यही हो।

कतैबाटपनि सरकारमा पुग्ने आशा नभएपनि गठबन्धनको आडमा सरकार प्रधान भएर सत्ताको मजा सुँघिरहेका र बालुवाटारमा बसेर मजाले उँघिरहेका बुढानिलकण्ठे सभापतिलार्ई संघीय संसददेखि स्थानीय चुनावसम्मको कुनै चिन्ता चासो र चटारो नभएपनि आफ्नो हिसाबले मात्रै चल्न खोजे गठबन्धनवाला अरुले असर्मथनको झटारो हान्लान् अनि बालुवाटारबाट बाहिर तान्लान् भन्ने बाहेक अरु कुनै चिन्ता छैन।

गठबन्धन तोडौँ सरकार प्रधानको कुर्सीदेखि लिएर स्थानीय तहसम्म फुत्केला भन्ने डर। गठबन्धन मात्रै भनेर बसौँ आफ्नैले बागी हुँदै करौँती उम्मेदवार खडा गरेर धोका दिँदै ठूलो पोका माग गर्लान् भन्ने डर। चुनावमा एक्लै जाने क्षमता हैसियत र आँट नभएपनि सँधैभरि ढाँट कुरा गरेर अरुकै बुइ चढेर चुनाव जित्दै आएका परजिवी कामरेडहरुको टेको र बैशाखीको सहारामा सरकार प्रधान भएपछि चुनावमा उनीहरुका माग नसुने आफैलार्ई नयाँ दाग लगाइदेलान् भन्ने डर।

पाँचपाँच पटक सरकार प्रधान भइसकेपछि अब लाग्न बाँकि त कुनैपनि दाग छैन भनेपनि हुन्छ। त्यही भएर दिन बिताउने र आफ्नो भलो चिताउने बाहेक अरु कुनै काम नगरी दिन काट्न पाइएको छ। काम गरेपनि दाग लाग्ने काम नगरेपनि दाग लाग्ने भएपछि बालुवाटारको पारिलो घाममा बसेर पार तापेपछि निकै धारिलो तरिकाले काम भइरहेको रहेछ कि क्या हो भन्ने सबैलार्ई लागिहाल्छ।

कहिलेकाहिँ श्रीमती र सालाले आर्थिक उन्नती गरेको खबर सुन्न पाएपछि कति जोडदार तरिकाले काम भइरहेको रहेछ भन्ने सबैले थाहा पाइहाल्छन्। अरुले भन्नै परेन। कुनै ठोस काम गर्नको लागि कुनै जोश र होश केही नभएको कुरा त पाँच पटकसम्म प्रदर्शन भइसकेको र सबैको जानकारीमा गइसकेको छ। आफ्नो दिनचर्या सबैलार्ई पचेको हुनाले सरकार प्रधानको गरिमा चाहिँ बचेको छ। अहिलेलार्ई यहि नै ठूलो कुरा हो।

कुनै जमानामा आफैंले टाउकोको मूल्य तोकेको र त्यसमा सही ठोकेको स्वघोषित महान नेता कामरेडको लहैलहैमा लागेर उनले भने बमोजिमको गठबन्धन भावनामामात्रै चल्ने नगरेमा सरकार प्रधानको कुर्सी ढल्ने हाउगुजी देखाएर सबै चुनावसम्म गठबन्धन कायम नराखी हुँदैन भनेको मान्नै पर्यो। यही सरकार प्रधानको कुर्सीको कारणले सभापति पद जोगियो र धेरै सुख सयल र सुबिधाहरु पनि भोगियो भन्ने धेरै कमलार्ई थाहा होला।

त्यही भएर अर्लि इलेक्सन वा चुनावहरुको मिति हेरफेर गर्ने कुराको आफ्नै दल भित्रै ब्यापक बिरोध भएपनि सबैको अगाडि बोल्न र भित्रि कुरो खोल्न सकिने अबस्था छैन। गठबन्धनवालाहरुले जता डोर्यायो त्यतै लतारिने र खासै मेहनत नगरिकन पदमात्रै खान हतारिने बानिले गर्दा संबिधानले के भन्छ, ऐन कानुनले के भन्छ, बिधि बिधानले के भन्छ त्यस्ता कुरातिर ध्यान दिनुभन्दा जे जसरी हुन्छ खानपिनाट ज्यान बनाउने बाहेक अन्त नहेर्नेहरुको सँगतले अरु त के नै होला र?

सबै तहको चुनाव सम्बन्धि ब्यबस्था संबिधानमा गरिएकै रहेछ। चुनावको नियमाबलि र ऐन पनि बनेकै रहेछ। बिधि बिधानहरुपनि छँदै छन्। संबिधान ऐन नियमहरुलार्ई झेलेर चुनाबमा जानुभन्दा यसलार्ई पेलेर र त्यसको छिद्रहरुमा खेलेर अनि आफ्नो अनुकूल नभएसम्म त्यसलार्ई ठेलेर भएपनि अब देश र जनताको लागि यी सबै ब्यबस्थाहरुलार्ई फेर्ने बाहेक अरु सोच नराख्नु ठिकै हो। आफू, आफ्नो कुर्सी र आफ्नो पद सुरक्षा बाहेक अरु बिषयमा दिमाग लगाउनु नै सुन्दर भबिष्य आफ्नो हातबाट भगाउनु हो भन्ने सबैले सोचेपछि देश र जनताको हित नहुने कुरै छैन।

अहिलेको गठबन्धनवालाहरुले सबै तहको चुनावको लागि संबिधानदेखि लिएर ऐनसमेत संशोधन गरेर भएपनि आफ्नो मतपेटी भरेर मात्रै सन्तोषको स्वास फेर्ने अठोट गर्नु ज्यादै राम्रो बिचार हो। देश जतासुकै जाओस्,जनता जतासुकै जाउन्, संबिधान जतासुकै जाओस्, ऐन कानुन जतासुकै जाओस् र बिधि बिधान जतासुकै जाओस् तर चुनाबबाट प्राप्त हुने सबै सिटजति आफू र आफ्नाले मात्रै खाओस् भन्ने ज्यादै उच्च बिचारले ओतप्रोत भएका शिर्षहरु छउन्जेल सँधै गफ चाहिँ बिधानको भइरहेपनि संबिधानको बिजोग भइरहने निश्चितै छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *