व्यंग्य : भन्न गाह्रो बेथा साह्रो

डिसी नेपाल
१ फागुन २०७८ ८:१०

एउटा बिदेशी परियोजनालाई पत्र लेखेको जस्तो जाबो सानो बिषयलाई लिएर र त्यसलाई अनावस्यक महत्व दिएर नचाहिँदो किसिमले स्वघोषित महान नेता जस्ता अत्यन्त देशभक्त,राष्ट्रवादी, स्पष्टवक्ता, सुशासनका हिमायती मान्छेलाई अनेक किसिमबाट शंका उपशंका गर्नै नहुने कुरामा हेक्का राखेपछि सबैथोकको ठेक्का उहाँले मात्रै लिनु भएको छैन भन्ने राम्ररी बुझिन्छ।

बस्न पाएँ भनेर जहाँपनि थ्याच्च नबस्नु र बोल्न पाएँ भन्दैमा जुनसुकै बिषय र सन्दर्भमा पनि प्याच्च नबोल्नु अनि सही धस्काउन पाएँ भनेर जस्तासुकै पत्रमापनि ल्याच्च ल्याप्चे नठोक्नु भनेर उहिलेका बुढापाकाले भनेका डेट एक्स्पायर्ड भनाइलाई नयाँ नेपाल वाला कामरेडहरुले लागू गर्ने कुरै आएन।

हामीलाई अलिकति समय बकस भएमा ख्वामितको इच्छा, आदेश, निर्देशन, हुकुम र मर्जि अनुसार एमसीसी पास गराउने छौँ भन्ने अर्जि सहित उता पत्र पठाएको र यता कुनै हालतमा यसलाई पास गर्न हुँदैन भन्ने फर्जि कुरा गरेको भनेर त कुरै नबुझ्ने अबुझहरुले भनेका हुन्।

यसबाट कामरेडहरुले केही डराउन नपर्ने र यसैको आधारमा चुनावमा हराउने सम्भावना हुँदै नभएकोले कुनै सुर्ता लिन पर्दैन । आफैंमा लागु गर्न नपर्ने पत्र लेखेर अहिलेसम्म कोहि अलपत्र नपरेको र यस्ता काम कुराले कसैलाई असर नगरेको हुनाले केहि फरक पर्दैन भन्ने उहाँलाई राम्रोसित थाहा छ।

यो सिद्धान्त उहाँमा मात्रै होइन उहाँको तहका सबै नेताहरुमा बराबर रुपमा लागू हुन्छ। सबैले लेखेको बोलेको र जनताको अगाडि खोलेको कुनैपनि कुरा एकअर्कासित मेल नखाएको देखेर उहाँहरुले झेल गरेको हुनाले अब उहाँहरु राजनीतिमा फेल हुने पो हो कि भनेर सोच्ने मुर्खहरुको तेल निकाल्न उहाँहरुले राम्ररी जान्नु भएको छ ।

यो बिषयलाई बुझ्नको लागि धेरै टाढा गइराख्न र ठूलो दिमागवाला भइराख्न पर्दैन। उहाँहरुले सँचालन गरेको धनयूद्धभन्दा अगाडि तत्कालिन सरकार प्रधान रहेका अहिलेकै सरकार प्रधानलाई बुझाएको ज्ञापन पत्रको बेहोरा र पटक पटक सरकारमा गएपछि उहाँहरुले देखाएको बानि बेहोरा हेरे पुग्छ।

जनताकै मुक्ति र भलाईको लागि जंगलमा बसेर र आइ परेको जस्तोसुकै कठिनाइको सामना गर्न कम्मर कसेर अनि लक्ष्य प्राप्तिमा घुँडा धसेर जँगलमा बसेको हल्ला फिँजाएर दिल्लीको अति घना कँक्रिट जँगलमा पाँचतारे सुबिधासहित सपरिवार बसेर यता जनता मारेको र पाएसम्म सबैतिरबाट नगद झारेको थाहा पाएपछि जनता खुसी भए।

यसो कहिले काहिँ नोयडा चण्डिगढ र सिलिगुडीका कंक्रिट जंगलमा अत्यन्त कष्टकासाथ पाँचतारे सुबिधामै बस्ने गरेकोपनि जनताकै लागि हो भन्ने सबैलाई थाहा छ । धनयूद्धकै अबधिमा बोलेका,लेखेका,भनेका,बाचा गरेका सबैकुरा चुट्किको भरमा पूरा गरेकापनि सबैलाई थाहा छ । त्यसपछि सरकारमा हुँदा नहुँदा वा जुनसुकै अबस्थामापनि आफूले आँटेको ताकेको सबैथोक अक्षरस पुरा गरेको हुनाले उहाँले कहिले कतै ढाँटेको कसैलाई थाहा छैन ।

अहिले जसले जे भनेपनि र जनताले आफूलाई जुन स्तरमा गनेपनि स्वार्थ पूर्ति हुनासाथ एमसीसी त के अरु जे पनि पास नहुने कुरै छैन। अहिले त अमेरिकन रिसाउला र प्रत्यक्ष अप्रत्यक्ष आफूले पाइरहेको जायज वा नाजायज सहयोगहरु बिसाउला भन्ने डर मात्रै हो। यही कारणले गठबन्धन टुट्ला र सरकार फुट्ला अनि यसको फाइदा बालकोटे कामरेडले लुट्ला भन्ने अर्को डर भइहाल्यो।

अहिले एमसीसी नामको घाँडो संसदबाट चाँडो पारित गराउँछौँ भन्दै लेखेको पत्रमा सबैले अर्घेलो देखेको मात्रै हो। पत्र पठाएको पाँच छ महिनासम्म पत्र पठाएको छैन भन्दै ताली ठटाएको कारणले अहिले सबैलाई अचम्म लागेको होला।

देश, जनता, लोकतन्त्र सुशासन आदिको लागि चौबिसै घण्टा अति ब्यस्त रहिरहने ब्यक्तिले केमा दस्तखत गरियो, कति ठाउँमा पुगेर के के बोलियो र कस्ता सारगर्भित बिचारहरु खोलियो भनेर सम्झिरहने कुरापनि आएन।

कुन उद्देश्य, आशय, कारण वा कसलाई असर पार्ने र कता कताबाट के के झार्ने बिचारले बोलिन्छ भनेर सामान्य मान्छेले बुझ्न सक्ने कुरैपनि आएन। त्यसमाथि देशी बिदेशी प्रतिक्रियावादी शक्तिहरुले उहाँ जस्तो स्वघोषित महान ब्यक्तित्वलाई अप्ठ्यारो पार्ने मौका पर्खेर चौका हान्न र यही मेसोमा खुट्टा तान्न खोजिरहेका हुन्छन् भनेर जान्न धेरै दिमाग खेलाई राख्नै पर्दैन। त्यही भएर उहाँका भजन मण्डलीले उहाँको बचाउमा दिएको र दिने गरेको सफाइलाई सबैले सकारात्मक रुपमा लिएको देखिन्छ। अहिलेसम्म हुँदै आएको र सबैले थाहा पाएको यही हो।

भूमिगतबाट बालुवाटारमा खुला भएको, पहिलो संबिधान सभा चुनावबाट सबैभन्दा ठूलो दल भएको, गणतन्त्रको पहिलो जन निर्वाचित सरकारप्रधान भएको, एउटा सरकारी कर्मचारी सेना प्रमुखसित काम न काजसित निहुँ खोज्दा कुर्सी छोडेर नागरिक सर्बोच्चता भन्दै सडक छाप कार्य गरेको, म्याद थप्दासमेत पहिलो संविधानसभाले संविधान बनाउन नसकेर अर्को त्यही चुनाव गर्दा त्यसमा शर्मनाक हार हुने निश्चित भएपछि धाँधली भयो भनेर बीचैमा निर्वाचन प्रकृया छोडेर ज्यादै लोकतान्त्रिक ब्यबहार देखाएको ,स्थानीय र संसदीय निर्वाचनमा कहिले कोसित कहिले कोसित गाँसिएर आफू र छोरीले बल्लतल्ल जितेको, सरकारप्रधानसहितको ठूलो भाग खान बालकोटे कामरेडसित एकता गरेकोमा बालकोटेको किड्नीले धोका दिएको हुनाले अनेक नौटँकी गर्दै गठबन्धनसम्म पुगेर सरकारको हालिमुहालीमा पुगेको, अबको निर्वाचनसम्म गठबन्धन कायम राखेर पुरानै फर्मुला अनुसार निर्वाचनमा इज्जत जोगाउने असल मनसुबा राख्दै एमसीसीको बारेमा गर्ने एउटा भन्ने अर्को गरेर अहिलेसम्म टिकेको, जे गरेर भएपनि शक्तिमा पुग्न नयाँ नयाँ तरिका झिकेको र अनेक तरिकाले सधैंजसो सरकारमा बिकेको हुनाले नै उहाँलाई स्वघोषित नै भएपनि सबैले महान नेता मानिदिएकै छन्।

एमसीसीलाई पठाएको पत्रमा जसजसले दस्तखत गरेको भएपनि दस्तखत गर्नेको खासै गल्ती देखिँदैन। उताको मन्त्रीको मातहतमा रहेको एउटा परियोजनालाई यताका सरकार प्रधानले दस्तखत गरेर पत्र पठाउन पर्ने भनेर बिचार गर्ने ब्यक्तिको यसमा सोह्रैआना गल्ती देखिन्छ। त्यसमाथि स्वघोषित महान नेताले अपजस मात्रै खान किन त्यसमा सही धस्काएका होलान् भनेर कसैले बुझेका छैनन्।

न उनी सरकार प्रधान, न कुनै जिम्मेवार मन्त्री, न कुनै सही गर्ने तहको कर्मचारी, न कुनै सरकारी ओहोदा भिरेका र कुनै बैधानिक तरिकाले त्यो तहमा छिरेका व्यक्ति भएको हुनाले उनको दस्तखत गर्ने कुनै अधिकार नै छैन। बिदेशी राष्ट्रमा पठाउने पत्रमा दस्तखत गर्ने कुनै कानुनी हैसियत र औकात नै नभएका ब्यक्तिको सही गराउने कर्मचारीकै बढी गल्ती देखिन्छ। उनीसँगै एउटै पानामा देशको सरकार प्रधानकोपनि सही परेको हुनाले सरकार प्रधानको हैसियतमा यिनलाई राखेको हो कि वा सरकार प्रधानलाई यिनको तहमा राखिएको हो कसैले बुझ्न सकेको छैन। यसो हेर्दा साक्षी किनारामात्रै हुन् कि जस्तोपनि देखिन्छ।

एउटा बिदेशी परियोजनाको कार्यालयमा लेखिने पत्रमा सरकार प्रधानले नै दस्तखत गरेर पठाउन पर्ने भएपछि सरकार सञ्चालनको लागि मन्त्री सचिव वा अन्य कर्मचारीहरुको आवश्यकता पर्ने रहेनछ भन्ने नै बुझिन्छ। अहिलेसम्म पाँच पटक सरकारप्रधान भएपनि देश र जनताको लागि माखो नमारी र सिन्को नझारी दिन बिताएकोले असक्षमको पगरी भिरेका अनि अरु सक्षम भनिएकाहरुलाई उछिनेर धेरै पटक बालुवाटार छिरेका भनेर नाम कमाएका र ज्योतिषीको जोखनाबाट रमाएका सरकार प्रधानले बिदेशी रिझाउन मन्त्री कर्मचारीहरुलाई उछिनेर यसमा चाहिँ मजाले दस्तखत ठोकेछन्।

आफू र स्वघोषित महान नेताले दस्तखत गरेर पत्र पठाएको पत्रकारहरुलाई बताएर र यसबाटै सबैलाई तताएर हिँडेपनि स्वघोषित महान नेताले त्यस्तो पत्र नपठाएको भन्दै सबैलाई सताएर हैरान पारिरहेको बेलामा पत्र सार्वजनिक भएकोले नाँगिदा नाँगिदा अब नाँगिने ठाउँ लगभग बाँकि नै नभएको अबस्थामा यो पत्रले पूरै नँग्याइ दिएपनि शिवरात्रीका नागा बाबा जस्तै भएर हिँडेका हुनाले अरु देख्नेसुन्नेलाई चाहिँ लाज लागे जस्तो पो छ।

सरकार प्रधानले बरु गठबन्धन टुटेपनि टुटोस्, यो असंवैधानिक गठबन्धनको सरकार फुटेपनि फुटोस् र यसमा रहेका अरुको साथ छुटेपनि छुटोस् एमसीसी बिधेयक संसदमा टेबल नगरी हुँदैन भनेर गठबन्धनवालाहरुलाई अप्ठ्यारोमा पारिदिए।

गठबन्धनपनि नतोड्ने, सरकारपनि नछोड्ने, चुनावसम्म गठबन्धन बाहेक अरुतिर दिमागपनि नमोड्ने र गठबन्धनको कृपाबाट सोचे जसरी चुनाव जितेपछि पास गर्न थप समय माग्न हातपनि नजोड्ने गरी एमसीसीपनि पास गर्ने उपाय खोजेर घुर्की देखाउँदा देखाउँदै कोटेश्वरे कामरेडको दल एमसीसी बिरुद्ध सडकमा गइसकेछ र सरकारदेखि सडकसम्म चालु भइसकेछ। उनको दलको त सांसदहरुको पद संसद र अदालत दुबैबाट कुनैपनि बेला गएर फेला पर्न सक्ने हुनाले सांसद र सरकारमा भएको सिट जोगाउनको लागि ठूलै बार्गेनिङ गर्ने एउटा दरिलो उपाय हो कि जस्तोपनि देखिन्छ।

सरकारमा मन्त्री भएर कोही नगएकोले आफ्नोे हिस्सा नभएपनि जनमोर्चा भन्ने दलले सरकार छोडेको र सरकारसँग नाता तोडेको घोषणा गरिसक्यो। मान अपमानको अति ख्याल राख्ने कोटेश्वरे कामरेडलाई एमसीसी सम्बन्धि बालुवाटारे बैठकमा नबोलाएर सरकार प्रधानले उनको औकात देखाइ दिएको हुनाले सडकमा गएर बदला लिएको हो कि भन्नेहरुलाई राम्रै मसला मिलेको हुनपर्छ। सबैतिर खुट्टा अड्काउने र राम्रै माल पड्काउने बानी परेका कामरेडहरुलाई जे जसो गर्दापनि फाइदामै रहेको देखिन्छ।

एकैचोटी यतापनि झुक्याउने र उतापनि झुक्याउने गरेर आफ्नोे स्वार्थको कनिका बुक्याउने बानी परेका शिर्ष नेतृत्ववालाहरुलाई अरु कुराको खासै चिन्ता गर्न पर्ने अबस्थापनि छैन। जनतालाई त सधैं झुक्याएका हुनाले उनीहरुलाई केही मतलब छैन तर धेरै बाठो हुन खोज्दा संसारकै टाठो शक्तिले कताबाट घुमाएर लाठो कस्ने हो भन्ने डरले गाह्रोे परेको हो कि जस्तो छ।

सरकारपनि कुनै हालतमा छोड्न भएको छैन, गठबन्धनको बैशाखी खुस्कियो भने चुनावमापनि पत्तासाफ होला भन्ने डर, एमसीसीमा जबरजस्ती गर्दा भविष्य अन्धकार हुने र समयमा बुद्धि पुर्याउन नसकेकोमा कुना पसेर रुने दिनपनि आउन सक्ने हुनाले बाहिर ठूलो भएजस्तो गरेर विदेशीको जेपनि छुने अवस्था बारे जनताले निकै कुरा बुझिसकेका हुनाले जसले जति धाक लगाएपनि उनिहरुलाई खुसी बनाएर नाक जोगाउने प्रयासलाई नराम्रो मान्न सकिन्न। भन्न गाह्रोे बेथा साह्रोे भनेको यही हो कि जस्तो छ।

आफ्नै अहंकार, घमण्ड, लोभ, सर्वसत्तावादी सोच, स्वार्थ, हेपाहा प्रवृत्ति आदि र खुट्टा तान्ने अनि सहयोग गरे जसरी घुच्चुकमा हान्ने मित्रहरुका कारणले बालुवाटार छाड्न बाध्य हुन परेपनि र बिरोधीहरुले डुबाउने प्रयास गरेपनि अहिले सबैतिरबाट उनकै खोजी भएकोले एमसीसीको कारणले यिनको राजनैतिक गोजी भरिने हो कि जस्तोपनि कताकता देखिन्छ।

गठबन्धनवालाहरु साँच्चिकै भड्किए भने सरकार प्रधानले यिनकै सहयोग नलिइ नहुने हुनाले यिनले मागेको चिज नदिइ अरु उपाय लाग्दैन। गठबन्धनमै रहेका कामरेडहरुलेपनि आपत बिपद परेर डुब्ने नै स्थिति आयो भने रिस राग लाज घिन शरम डाहा इष्र्या आदि सबै बिर्सेर यिनको चरणमा गएर शरण परेजस्तो गर्दै समस्या टार्ने र समस्या समाधान पछि मौका पाउनासाथ यिनलाई पुरानै औकातमा झार्ने खेलमा लागिहाल्ने योजनालाई नकार्न पर्दैन। गठबन्धनवालाहरुले पटक पटक बार्ता छलफल भेटघाट सम्बाद गरेको नाममा समस्या समाधान गर्ने भन्दापनि दुनो सोझ्याउने, अर्कोको दोष मात्रै देखाएर होच्याउने र खाने पाउने मौका जति सबै आफ्नोलाई कोच्याउने प्रयासमात्रै भइरहेको देखिन्छ।

एमसीसीलाई पठाएको पत्रमा जसजसले दस्तखत गरेको भएपनि दस्तखत गर्नेको खासै गल्ती देखिँदैन। उताको मन्त्रीको मातहतमा रहेको एउटा परियोजनालाई यताका सरकार प्रधानले दस्तखत गरेर पत्र पठाउन पर्ने भनेर बिचार गर्ने ब्यक्तिको यसमा सोह्रैआना गल्ती देखिन्छ। त्यसमाथि स्वघोषित महान नेताले अपजस मात्रै खान किन त्यसमा सही धस्काएका होलान् भनेर कसैले बुझेका छैनन्।

एमसीसीमा अब कुनै संशोधन नहुने, त्यो सहयोग लिने वा नलिने प्रष्ट भन्न पर्ने, समयपनि थप हुन नसक्ने, यो खारेज भएमा उत्तरी छिमेकीको दवाबमा भएको ठानिने र अन्य अमेरिकी सहयोगहरुपनि कटौती हुनसक्ने भनेर जानिने जस्ता जानकारी उताबाट सबै शिर्षहरुलाई आएको भन्ने हल्लापनि सुनिन्छ। देश र जनताको पक्षमा चोखो मनले सोचेर काम गर्नु भन्दापनि बिदेशी प्रभुको दानापानीमा चर्नु गर्दै आएकाहरुलाई चिन्ता हुने कुरै आएन।

अहिले चाहिँ पहिले भन्दा स्थिति अलि फरक भएजस्तो छ। पत्र लेखेर लेखेको छैन भन्नु र जनतालाई सधैंजस्तो उल्लुको स्तरमा गन्नु अनि सधैंझैं व्यक्तिगत स्वार्थलाई नै केन्द्रमा राखेर फाइदा उठाउन झुट बोल्दै बल गरेर कन्नुलाई राजनीति गरेको भन्नु कतिसम्म सुहाउने कुरा हो जनताले बुझेका छैनन्।

अहिले जसले जे भनेपनि र जनताले आफूलाई जुन स्तरमा गनेपनि स्वार्थ पूर्ति हुनासाथ एमसीसी त के अरु जे पनि पास नहुने कुरै छैन। अहिले त अमेरिकन रिसाउला र प्रत्यक्ष अप्रत्यक्ष आफूले पाइरहेको जायज वा नाजायज सहयोगहरु बिसाउला भन्ने डर मात्रै हो। यही कारणले गठबन्धन टुट्ला र सरकार फुट्ला अनि यसको फाइदा बालकोटे कामरेडले लुट्ला भन्ने अर्को डर भइहाल्यो।

यसैको फेरो समातेर चुनावसम्म तेरोमेरो गर्दै गठबन्धनलाई लतार्न पाए चुनावमा लज्जास्पद हार भएर राजनीति नै समाप्त हुनसक्नेसम्मका अबस्थाबाट कमसेकम यसपालीलाई पार पाइएला र अलि बर्षसम्म यसैगरी जनतालाई झुक्याएर खाइएला भन्ने सोचलाई कसको सरापले गर्दा यो धरापले भन्न गाह्रो बेथा साह्रो भनेजस्तो पारिदियो र सबैलाई नसोचेको अप्ठ्यारोमा झारिदियो भन्ने जनताले राम्ररी बुझेका छन्। धेरै नौटँकी गरिराख्न र आफ्नोे कर्तुतमा दंग परिराख्न पर्दैन होला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *