खोटाङमा कोरोना संक्रमण दर निरन्तर ओरालिँदै

डिसी नेपाल
५ फागुन २०७८ १९:०७

खोटाङ । खोटाङमा कोभिड–१९ बाट संक्रमितको संख्या दिनानुदिन ओरालो लागिरहेको छ । बिहीबार ६ जनाले संक्रमण जित्दा जिल्लामा कूल सक्रिय संक्रमितको संख्या ४९ मा झरेको छ ।

अघिल्लो दिन सक्रिय संक्रमितको संख्या ५३ थियो । बिहीबार १० जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनालाई मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी हालसम्म ३ हजार ४७० जनालाई संक्रमण पुष्टि भएकामा निको हुनेको कुल संख्या ३ हजार ३७३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका १ लाख १६ हजार ६८९ जनाले पहिलो मात्राको र ६७ हजार २९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *