मुख्यमन्त्री शाहीद्धारा ज्येष्ठ नागरिक र आश्रित बालबालिकालाई खाद्यान्न वितरण

डिसी नेपाल
७ फागुन २०७८ १९:१६
8
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँ ज्येष्ठ नागरिक, सहयोगापेक्षी र असहाय बालबालिकालाई खाद्यान्न वितरण गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा मुख्यमन्त्री शाहीले आज मानव सेवा आश्रमका सहयोयापेक्षी, प्रशान्ति वृद्धाश्रम ज्येष्ठ नागरिक र बादी सरोकार मञ्चमा आश्रित बालबािलकालाई खाद्यान्न वितरण गरेका हुन्। बादी सरोकार मञ्चको आश्रयमा रहेका ८० बालबालिकालाई उहाँले आफ्नो व्यक्तिगत खर्चमा पोशाक उपलब्ध गराउने घोषणा गरे ।

“शिक्षा जीवन हो र हरेक नागरिकलाई यो प्राप्त हुनुपर्दछ”, मुख्यमन्त्री शाहीले भने, “यहाँ आश्रय लिएर विभिन्न निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्कुल पोशाक उपलब्ध गर्छु ।” उहाँले प्रशान्ति वृद्धाश्रममा चालु आर्थिक वर्षभित्रै रु ४० लाखको लागतमा वृद्धवृद्धालाई खाना खानका लागि भवन निर्माण गर्ने घोषणा पनि गरे ।

वृद्धाश्रमको माथिल्लो तलामा रहेको भान्छाघरमा गएर खाना, खाजा खान ज्येष्ठ नागरिकलाई समस्या भएको बताउँदै मुख्यमन्त्री शाहीले आश्रमको खाली ठाउँमा भान्छाघर बनाउन प्रदेश सरकारले रु ४० लाख उपलब्ध गराउने विश्वास दिलाए । उनका अनुसार सहिद पार्कमा निर्माण भइरहेको शिव मन्दिर निर्माणमा लाग्ने आवश्यक खर्च पार्कका अध्यक्ष अमर कार्कीलाई हस्तान्तरण गरिएको छ ।

खाद्य सामग्री वितरणका साथै मुख्यमन्त्री शाहीले सहिद स्तम्भमा सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै माल्यार्पण गरे । प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ, सचिव आनन्द सारु, भरतकुमार शर्मा, शङ्कर केसी र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा आज सहिद पार्कमा सरसफाइ कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *