रुसले युक्रेनमा आक्रमण गर्न ‘हतियार’ बनाएको भनिएको ‘फल्स फ्ल्याग अपरेशन’ के हो ?

डिसी नेपाल
८ फागुन २०७८ ११:३२

काठमाडौं। रुस र युक्रेनबीच युद्ध हुन सक्ने आशंका अहिले पूरै विश्वमा छ । अमेरिकाले त रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा कुनै हालतमा आक्रमण गर्ने मनस्थितिमा रहेको दावी गरिसकेको छ । रुसी राष्ट्रपति पुटिनले भने आक्रमण गर्ने दावी अस्वीकार गर्दै आएका छन् । यही बीचमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई वार्ताको लागि बोलाएका छन् ।

विभिन्न दावी र प्रयासहरुका बीच रुसले युक्रेनमाथि आक्रमण गरेमा यसको सुरुवात कसरी हुन्छ भन्ने प्रश्न धेरैको मनमा छ । अमेरिका र अन्य पश्चिमी देशहरुले गरेको दावी अनुसार रुसले यस पटक युक्रेनमाथि आक्रमण गर्नको लागि ‘फल्स फ्ल्याग अपरेशन’ रणनीतिको प्रयोग गर्न सक्छ । पश्चिमी देशहरुको दावीअनुसार यो रुसको लागि यस्तो हतियार बन्न सक्छ जसको आडमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ र अन्य कुनै देशले यो आक्रमणका विषयमा रुसमाथि प्रश्न उठाउन पनि सक्ने छैनन् ।

‘फल्स फ्ल्याग अपरेशन’ के हो ?

फल्स फ्ल्याग रणनीतिको प्रयोग यसअघि पनि कैयौं युद्धमा गरिसकिएको छ । इतिहासमा हेर्ने हो भने कैयौं यस्ता घटना भएका छन् जहाँ फल्स फ्ल्याग रणनीतिको प्रयोग गरेर अर्को देशमाथि आक्रमढा गरिएको छ । फल्स फ्ल्याग एक यस्तो सैन्य कारवाही हो जहाँ एउटा देशले लुकेर, जानीजानी आफ्नै सम्पत्तिमाथि वा केही अवस्थामा मानवीय क्षतिसमेत हुनेगरी आफैंमाथि आक्रमण गर्छ । तर, संसारको अगाडि उसले यसको आरोप अर्को देशमाथि लगाउँछ । आरोप यस्तो देशमाथि लगाउँछ जुन देशमाथि उसले आक्रमण गर्न चाहेको हुन्छ ।

यसैको आडमा त्यो देशले आफूले आक्रमण गर्न चाहेको देशमाथि आक्रमण गर्छ । विश्वको अगाडि भने उसले आफूमाथि पहिले गरिएको आक्रमणको जवाफमा यो आक्रमण गरिएको दावी गर्छ । यो रणनीतिको प्रयोग गरेर युद्ध सुरु गरेको दोष आफ्नो प्रतिद्वन्द्वी देशमाथि थोपरिदिन्छ र जवाफी कारवाहीको नाममा प्रतिद्वन्द्वी देशमाथि आक्रमण सुरु गरिन्छ । अहिलेको हकमा पहिले रुसले जानीजानी आफ्नो सम्पत्तिमाथि आफैं आक्रमण गर्ने, विश्वलाई आक्रमण युक्रेनले गरेको भन्ने र जवाफी कारवाहीको नाममा युक्रेनमाथि आक्रमण गर्ने रणनीति अपनाउन सक्ने आशंका गरिएको छ ।

सन् १९३९ मा जब जर्मनीको पोल्याण्डसँग युद्ध चलिरहेको थियो त्यतिबेला जर्मनीले आफ्नै एक रेडियो टावरमा आक्रमण गरेको थियो । तर, जर्मनीले बाहिरी विश्वलाई भने पोल्याण्डले आफ्नो एउटा रेडियो टावरमा कब्जा गरेको भनेर सूचना प्रवाहित गर्यो । यस्तो भएपछि जर्मनीले पोल्याण्डमाथि जवाफी कारवाहीको रुपमा आक्रमण गर्ने अवसर पायो र युद्ध सुरु भयो ।

२०१४ मा रुसले पनि यही रणनीति प्रयोग गरेर क्रिमिया कब्जा गरेको थियो । त्यतिबेला क्रिमियाको सडकमा रुसी कपडा लगाएर केही व्यक्तिहरुलाई पठाइयो । त्यसपछि यिनीहरु युक्रेनका निवासी भएको तर रुसको समर्थन गर्ने दावी गरेर यही आधारमा रुसले क्रिमिया कब्जाको कारवाही गरेको थियो । रुससँग फल्स फ्ल्यागको अनुभव समेत भएकोले उसले यो रणनीति अपनाउन सक्ने दावी गरिएको हो ।

रुसले फल्स फ्ल्यागको प्रयोग गर्ने र यसको ट्रेलर बिहीबार देखिसकिएको पनि दावी गरिएको छ । बिहीबार पूर्वी युक्रेनमा एउटा गाडिभित्र विष्फोट भयो । यो घटना पूर्वी युक्रेनको डोनेट्स्क सहरमा भएको थियो जहाँ रुस समर्थित पृथकतावादीको कब्जा छ । यो गाडी षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोभको बताइएको छ । यसका अलावा पूर्वी युक्रेनमा ग्यास पाइपलाइनमा पनि विष्फोट भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *