दरबन्दीअनुसार कर्मचारी नहुँदा खाेटाङ प्रशासनको सेवा प्रवाहमा समस्या

डिसी नेपाल
१३ फागुन २०७८ १७:४८

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्था नहुँदा सेवा प्रवाहमा असहज भइरहेको छ । कार्यालय सहयोगीदेखि सहसचिवसम्म गरी २३ जनाको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा दरबन्दीअनुसार कर्मचारीको पदपुर्ती नहुँदा सेवा प्रवाह कठिन भएको हो । नागरिकता, राहदानी लगायतको सेवाका लागि बाक्लो चाप हुने जिल्ला प्रशासन कार्यालयको दैनिक कामकाज हाल करारका नाै जना गरी १९ कर्मचारीले धानिरहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा सह–सचिव (रा.प. प्रथम श्रेणीको) प्रमुख जिल्ला अधिकारी रहनेगरी दरबन्दी कायम गरिएको थियो । त्यसयता प्रशासनमा शालिग्राम शर्मा पौडेलबाहेक अन्य सहसचिव तहका कार्यालय प्रमुख पठाइएका छैनन् । सहसचिवको पद रिक्त हुँदा उपसचिव (रा.प. द्धितिय) तहको सहायक प्रमुख जिल्ला अधिकारीले नै प्रमुख जिल्ला अधिकारीको भूमीका निर्वाह गर्दै आएका छन् । यस्तै, प्रशासकीय अधिकृत (रा.प. तृतीय)को दुईवटा दरबन्दीमध्ये एउटा दरबन्दी रिक्त छ । प्रशासकीय अधिकृतले नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, पाँच जना नासुको दरबन्दी रहेको प्रशासनमा एक जना नासुलाई काजमा ल्याएर पदपुर्ती गरिएको छ । प्रशासनमा एउटा लेखापालको दरबन्दी मात्र पुर्ती छ । दुई जना कम्प्युटर अपरेटरको रिक्त दरबन्दीमा करारमा कर्मचारी नियुक्ति गरेर पदपुर्ती गरिएको छ । तीन जना खरिदारको दरबन्दी रहेकोमा एक जनाको सरुवा भइसकेको र रमाना लिन मात्र बाँकी छ । हलुका सवारी चालकको एउटा दरबन्दीमा करारमा कर्मचारी राखिएको छ । यस्तै, कार्यालय सहयोगीको सात जनाको दरबन्दी रहेको कार्यालयमा एक जना स्थायी र अन्य करारका कर्मचारी कार्यरत छन् ।

जिल्ला प्रशासन कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कामको भार परिरहेको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । ‘दरबन्दीअनुसार कर्मचारी कम छन् । भएका पनि सरुवा लिएर जान खोजिरहेका छन्, सेवा प्रवाह असहज छ,’ सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘कामको चाप अधिक छ । कामको लोडका कारण अरु कर्मचारी आउन मान्दैनन् । लोकसेवामा आवश्यक कर्मचारी माग गरेका छौँ ।’

प्रशासनबाट सरुवा भएर जाने कर्मचारीले रमना पाउने अवस्था छैन । अन्य मन्त्रालय अन्तरगतको कार्यालयमा सरुवा जान चाहने कर्मचारीलाई गृहमन्त्रालयले सरुवा नदिएको कर्मचारी बताउँछन् । जसले कर्मचारीको मनोबलमा समेत ठेस पुर्‍याइरहेको छ । कतिपय कर्मचारी हत्तपत्त पहाडी क्षेत्रका कार्यालयमा जान मान्दैनन् । गए पनि बढुवा हुने नम्बरका लागि जान्छन् । कामको अधिक चाप हुने प्रशासन कमैको रोजाईमा पर्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *