युक्रेनले ४३ सय रुसी सैनिक मारिदियो, २७ विमान र २६ हेलिकप्टर खसालिदियो
काठमाडौं। युक्रेनकी उप रक्षामन्त्रीले अहिलेसम्म युद्धमा मारिएका मानिसहरु र क्षतिको अनुमानित आंकडा जारी गरेकी छिन् । उनले देशको सेनाले अहिलेसम्म रुसलाई कडा टक्कर दिएको बताइन् । किभकी हन्ना मल्यारले फेसबुकमा बताएअनुसार यो आंकडा संघर्ष सुरु भएको सुरुवाती तीन दिनको हो र यो बदलिन सक्छ ।
युक्रेनले जुन अनुमानित आंकडा जारी गरेको छ त्यसअनुसार यो समयमा रुसका ४३ सय सैनिक मारिएका छन् । यसबाहेक युक्रेनले रुसका २७ लडाकू विमान र २६ हेलिकप्टर खसालिदिएको छ । साथमा १४६ वटा ट्यांक, ७०७ वटा हतियारबन्द लडाकु वाहन, ४९ वटा तोप, एउटा एयर डिफेन्स सिस्टम, ४ वटा ग्रेड मल्टिपल लञ्च सिस्टम, ३० वाहन, ६० ट्यांकर, २ ड्रोन र २ डुंगा नष्ट गरिदिएको छ ।
युक्रेन सरकारकी लोकपाल ल्युडमिला डेनिसोभाका अनुसार रुससँगको संघर्षमा अहिलेसम्म २१० भन्दा धेरै युक्रेनी नागरिक मारिएका छन् भने ११ सयभन्दा धेरै घाइते भएका छन् । उनले सामाजिक संजाल पोस्टमा भनेकी छिन् ‘यो क्रुरतामा दुश्मनले आवासीय भवनहरु, अस्पतालहरु, साना बालबालिकाहरु र ठूला बालबालिकाका स्कुललाई निशाना बनाइरहेको छ र युक्रेनका छोराछोरीहरुसँग उनीहरुको अधिकार खोसिरहेको छ ।’
डेनिसोभाले केही नागरिकको मृत्युको उदाहरण दिँदै किभमा एक बच्चाको मृत्यु अस्पतालमा भएको बमबारीमा र खारकिभमा एक महिलाको मृत्यु आवासीय भवनमा मिसाइल हमला हुँदा भएको बताइन् । उनले भनिन् ‘रुसले यी अपराधको गम्भीर सजाय पाउनुपर्छ । युक्रेनले यी सबै तथ्य नोट गरिरहेको छ र हेगमा मिलिट्री ट्राइब्युनलमा यसलाई पेश गर्नेछ ।’







डिसी नेपाल







Facebook Comment