एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले बोलाए एनसीसीहरुको भेला

डिसी नेपाल
२२ फागुन २०७८ १०:२९

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरुको भेला बोलाएका छन्। गैरआवासीय नेपाली संघमा जारी गम्भिर संकटलाई मध्यनजर गर्दै एनआरएनएले  एनसीसी अध्यक्षहरुको भेला बोलाएका हुन्।

गत २ मार्चमा बोलाइएको अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले संरक्षक परिषद र उच्चस्तरीय समिति विघटन गर्ने तथा ७० प्रतिशत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा र जापानका एनसीसीहरु भंग गरी पुनर्गठन गर्ने भन्ने निर्णय गरे पछि संस्थाका प्रमुख संरक्षक पनि रहेका घले र संरक्षक हिराचनले बैठक बोलाएका हुन्।

बैठक आइतबार ६ मार्च (नेपालको समय अनुसार अपरान्ह ५ बजे) भर्चुएल माध्यमबाट बस्ने बताइएको छ।

पूर्व अध्यक्षहरुको अपिल :

गैरआवासीय नेपाली साथीहरु,
नमस्कार !
तपाईं हाम्रो रगत–पसिना सिञ्चेर बनेको गैरआवासीय नेपाली संघ अहिले आएर गम्भिर संकटको मोडमा उभिएको छ। समाज र मातृभूमीलाई केही योगदान गर्न बनेको यो संस्थामा पछिल्ला वर्षहरुमा देखिएका बिकृति र बिसंगतिप्रति हामी सबै जानकार नै छौं।

गैरआवासीय नेपाली संघको सदस्यता र मतदाता छनौटमा वर्तमान कार्यसमितिले अन्याय गरेको भन्दै संसारभरका ४० बढी देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गरेको निरन्तरको विरोध र गुनासोलाई वर्तमान नेतृत्वले बेवास्ता गरी विधान विपरित छानिएका प्रतिनिधिका भरमा एकपक्षीय चुनाव घोषणा गरिएको छ।

संस्थाको एकता र प्रतिष्ठालाई कायम राख्दै विवाद समाधानका लागि पूर्व अध्यक्षको हैसियतले हामीहरुले निरन्तर कोसिस गर्दै आइरहेका छौं। हाल जारी विवाद समाधान गरी यथासक्य चाँडो दशौं महाधिवेशन हुन सकोस् भन्ने मनसायका साथ संघले हालै गठन गरेको ‘विवाद समाधान उच्चस्तरीय समिति’ मार्फत काम गरी विवाद समाधानका उपायहरु पेश गरेको यहाँहरुलाई जानकारी नै छ।

हामीले विगत ६ महिना यता विभिन्न चरणमा अनेक कोसिस गरी विवाद समाधान गर्न र संस्थाको साख बचाउन प्रयास गर्दै आइरहेका हौं। तर, यो प्रयास निरन्तर खेर गइरहेको छ।

असन्तुष्टिका आवाजलाई सम्बोधन गरी समस्या समाधान गर्न संघको वर्तमान नेतृत्व पुरै उदासिन देखिएको छ । विवाद समाधानका लागि दिएका सुझाव पालना गर्ने, सहमतिका आधारमा दशौं महाधिवेशन गर्ने आम गैरआवासीय नेपालीहरुको अपेक्षा विपरित संघको नेतृत्व संस्था कब्जा गर्ने अभियानमा केन्द्रीत देखिन्छ।

४० भन्दा धेरै देशका राष्ट्रिय समन्वय परिषद र करिव ७० हजार मतदाताले संस्थामा विधिसम्मत कार्य होस् भनी गरेको बारम्बारको अनुरोधप्रति संस्थाको नेतृत्व उदासीनमात्र देखिएको छैन, निरन्तर एकपछि अर्को विधान विपरितका काम भइरहेका छन्। विधि, पद्धति र पारदर्शिताको माग गर्ने एनसीसीहरुमाथि उल्टै अवैधानिक कारवाही थालिएको छ।

तसर्थ, संस्थालाई दुर्घटनाबाट बचाउन तपाईं हामी सबैले एउटा कठोर कदम चाल्नुपर्ने अवस्था आएको छ। के अझै पनि संस्थालाई सुधार गर्न सकिने अवस्था छ त ? यस बिषयमा परामर्श गर्न संस्थाको पूर्व अध्यक्षहरु एवं अभिभावकको हैसियतमा निम्न मितिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुको भेला बोलाइएको जानकारी गराउंदछौं।

मितिः मार्च ६, २०२२
समयः साँझ ५ बजे (नेपाली समय)

शेष घले, पूर्व अध्यक्ष
देवमान हिराचन, पूर्व अध्यक्ष
गैरआवासीय नेपाली संघ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *