रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

डिसी नेपाल
२३ फागुन २०७८ ११:३९

रसुवा। सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ। शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो।

वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले जानकारी दिए।

‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भने, ‘सुकेको खरघाँसमा आगलागी भएको सुरु भएको थियो, दाहालफेदी सामुदायिक वन र नागथलीको लेकको जंगलमा आगलागी भएको छ, हावा चलेकाले नियन्त्रणमा ल्याउन समस्या भएको थियो, लेकमा हिउँ पनि नपग्लिसकेको र ओसिलो भएकाले आगो कम हुँदै गएको छ।’

लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-२ को खैदीस्थित जंगलमा पनि आइतबार रातिदेखि डढेलो लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।

वन र निकुञ्ज क्षेत्रको भिरपाखामा लागेको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन। डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ खटिएको सेना, निकुञ्जका कर्मचारी र वन क्षेत्रका कर्मचारी खटिएका छन्। भिरपाखामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको बताइएको छ। डढेलो नियन्त्रणका लागि स्रोत साधन नहुँदा समस्या रहेको बताइएको छ।

यो वर्षको सुख्खायाम सुरु भएसँगै शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले बताए । करिब १० हेक्टर निकुञ्ज क्षेत्रको जंगलमा आगलागी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

वनजंगलमा लागेको आगो मावन बस्तीभन्दा टाढा छ । वनजंगलमा डढेलो किन र कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।सुख्खा मौसम सुरु भएसँगै रसुवाको वनजंगलमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ । हरेक वर्ष फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *