उत्कृष्ट १० तस्वीरलाई रु १०\१० हजार नगद प्रदान गरिने

डिसी नेपाल
३० फागुन २०७८ २१:३४

काठमाडौं । साँस्कृतिक संस्थानले देशका मौलिक वेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं साँस्कृतिक महत्वका विभिन्न तस्वीर समेटेर ‘साँस्कृतिक तस्वीर पुस्तक’ प्रकाशन गर्न लागेको छ ।

संस्थान स्थापनाको स्वर्ण महोत्सव (असार ५) का अवसरमा प्रकाशन गरिन लागेको पुस्तक नेपालको ‘विशेष चिनो’ का रूपमा रहने अपेक्षा गरिएको महाप्रबन्धक अशोककुमार राईले बताए।

संस्थानले स्थापनाकालदेखि नै नाटक, गीत, सङ्गीत, बाध्यवादन, नृत्यका साथै समग्र नेपाली लोकसंस्कृतिको संस्थागत विकास, संरक्षण, सम्वद्र्धन एवं दस्तावेजीकरण गर्दै आएको छ । प्रतियोगिताका आधारमा पुस्तकमा समेटिने ३०० तस्वीरमध्ये उत्कृष्ट १० तस्वीर प्रत्येकलाई रु १०\१० हजार नगद प्रदान गरिनेछ ।

संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पुस्तकका लागि तस्वीर उपलब्ध गराउन महाप्रबन्धक राईले व्यावसायिक फोटोग्राफरसहित समाजका सबै तह र तप्कालाई आह्वान गरे ।

संस्थानले पुस्तकका लागि तस्वीर छनोट गर्न नेपाली फोकलोर सोसाइटीका अध्यक्ष एवं प्राध्यापक तुलसी दिवस, राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्ष राजभाई सुवाल र वरिष्ठ फोटो पत्रकार विकास कार्की सम्मिलित निर्णायक मण्डलसमेत गठन गरेको छ । संस्थानले प्रतियोगितामा सहभागी हुन इच्छुकलाई आगामी चैत २५ गतेभित्र तस्वीर पठाउन अनुरोध गरेको छ ।

सम्मेलनमा निर्णायक मण्डलका संयोजक संस्कृतिविद् दिवसले नेपाल विश्वमै लोक संस्कृतिका हिसाबले जीवित सङ्ग्रहालय भएको बताए। उनले भने, “विश्वमान चित्रमा नेपाल भौगोलिकरूपले सानो भए पनि साँस्कृतिक हिसाबले वैभव छ, नेपालको विविधता झल्कने वेषभूषा, रहनसहन, पहिरन, खाना, नृत्यजस्ता प्रदर्शनकारी लोक, संस्कृतिको ठूलो अर्थ र महत्व राख्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *