स्थानीय निर्वाचनः महोत्तरीमा गठबन्धनमा दलहरूबीच मतभेद

डिसी नेपाल
१८ चैत २०७८ १७:२३

महोत्तरी । आसन्न स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा महोत्तरीका दलहरू चुनावी गठबन्धनको विषयमा छलफलमा जुटेका छन् । एमालेलाई पराजित गर्नेगरी गठबन्धन गर्नुपर्ने पक्षमा माओवादी केन्द्र देखिएको छ भने कांग्रेस भने आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेको छ ।

कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवका अनुसार जिल्लाका १५ पालिकामध्ये कमजोर पालिकाहरूमा गठबन्धन गर्ने र संगठनिक संरचना बलियो भएका पालिकाहरूमा एक्लाएक्लै लड्ने कांग्रेसको योजना छ । उनले भने, ‘आवश्यकताअनुसार तालमेल गर्नेछौँ ।’

तर केन्द्रको जस्तै जिल्लामा पनि गठबन्धन गर्ने सम्बन्धमा मतविभाजन भएको छ । कांग्रेस महोत्तरीमा कुनै पनि हालतमा चुनावी गठबन्धन नगर्ने पक्षमा छन् । जिल्ला नेता शम्भु पाठकले महोत्तरीको पालिकाहरूको गठबन्धन गर्दै नगर्ने बताउँछन् ।

माओवादी केन्द्र पनि गठबन्धनको लागि संघन बहसमा जुटेको छ । अघिल्लो निर्वाचनमा तीनवटा मात्र पालिका जितेको माओवादी केन्द्र जसरी पनि ५ देखि ६ वटा पालिका जित्ने योजनामा देखिएको छ । अघिल्लो निर्वाचनमा बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिका माओवादी केन्द्रले जितेको थियो ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाका अनुसार तीन पालिका जित्ने निश्चित भए पनि यसपालि यो संख्या बढाएर ६ पुर्‍याउने माओवादी केन्द्रको लक्ष्य छ । उनले भने, ‘माओवादी केन्द्र गठबन्धनकै पक्षमा हो, हामी संगठनिक संरचनाअनुसार लचिलो बन्नेछौँ ।’

यता लोसपा, जसपा पनि गठबन्धन कै पक्षमा छन् । जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी पालिका जितेको तत्कालीन राजपा अहिले राजपा रहेन । जसपा समेत फुटेर लोसपा बनेको अवस्थामा जिल्लाका नेता कार्यकर्ताहरू पनि गठबन्धनको पक्षमा छन् ।

‘२० चैतपछि बस्ने बैठकले टिकट र गठबन्धनको विषयमा टुङ्ग्याउनेछ,’ लोसपा महोत्तरीका अध्यक्ष रामाबाबु यादवले भने । सत्ताघटक जसपा भने गठबन्धनको पक्षमा देखिए पनि कोसँग गठबन्धन गर्ने भन्ने विषयमा अझै अन्योल छ । जसपा महोत्तरीका अध्यक्ष महेश यादवले के गर्ने भन्ने विषयमा निर्णयमा पुग्न नसकिएको बताए ।

कांग्रेसमा पालिकाहरूमा एक्लै लड्ने वा गठबन्धन गर्ने भन्ने विषयमा मतविभाजन भएको देखिएको छ । बलियो संगठनिक संरचना रहेकै ठाउँमा पनि कतिपय नेताहरूले गठवन्धनको जरुरी भएको बताउँदै आएका छन् ।

जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका संगठनिक संरचनाका हिसावले बलियो नै मानिन्छ । अघिल्लो निर्वाचनमा पनि झिनो मतले मात्र माओवादीसँग पराजय बेहोरेको थियो । अघिल्लो निर्वाचनको तुलनामा का‌ंग्रेसप्रतिको आकर्षण बढ्दो भएको हुनाले बर्दिबास नगरपालिकामा कांग्रेसको जित निश्चित भएको नेताहरूले दाबी गरे पनि गठबन्धनको पक्ष र विपक्षले नगरपालिकामा मतभेद देखिएको छ ।

स्थानीय नेता चिरन्जीवी हमाल गठबन्धनको पक्षमा छन् भने अर्का नेता प्रल्हाद क्षेत्री गठबन्धनको विपक्षमा छन् ।

यता एमाले पनि गठबन्धनको विषयमा छलफलमा जुटेको छ । केन्द्रबाट गठबन्धनको विषयमा कुनै मापदण्ड नबनेकाले पनि का‌ंग्रेसबाहेक अन्य दलहरूले जिल्लामा निर्णय लिन नसकेको हुन् ।

नेकपा एकीकृत समाजवादी भने संगठनिक संरचनाका हिसावले पालिकाहरूमा लचिलो बनेर अगाडि बढ्ने देखिन्छ ।‘अब पालिकाहरूमा कस्तो मापदण्ड बनाएर अगाडि बढ्ने भन्ने समबन्धमा छलफल हुँदै छ’,नेकपा एस आर्थिक विभागका केन्द्रीय सदस्य तथा महोत्तरीका नेता सुरेश राउतले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *