सर्लाहीको जानकीनगर साझेदारी वनमा व्यापक काठ तस्करी, सम्बन्धीत निकाय मौन

डिसी नेपाल
१९ चैत २०७८ १८:०७

सर्लाही । जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–६, र हरिपुर नगरपालिका–१, मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो । केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता व्यापक तस्करी भएको स्थानीयको आरोप छ ।

तस्करले दिउँसै जंगलको चारै कुनामा सुराकी राखेर सालका छानीछानी रुख कटान गरिरहेका नाम नबताउने सर्तमा एक स्थानीयले जानकारी दिए ।

वनको बीच भागमा काटिएका तथा तस्करी भएका सालका रुखका ठुटामात्र भेटिने गरेको छ । यसरी सालका रुख सर्पट कटान भइरहँदा समेत वन कार्यालय र साझेदारीका पदाधिकारी मौन बस्नुलाई उनीहरूको समेत मिलेमतोको आशंका जन्माएको उनीहरूको भनाई छ ।

पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा तस्करले दिनमा रुख काट्ने र समसाँझैमा लैजाने गरेको वन नजिकै घर भएका स्थानीयको भनाई थियो । पछिल्लो केही समय यता तस्करले लैजाँदै गर्दा वा लैजान लागेको अवस्थामा समेत काठ बरामद हुने क्रमसमेत बढेको एक सुरक्षा अधिकारीले बताए ।

वन तस्करी बढ्दै जाँदा वन समूह तथा वन कार्यालयले समेत यसतर्फ कुनै चासो नदिएको जानकीनगर निवासी कपिल देव साहको भनाई छ । उक्त साझेदारी वनमा हेरालुको रूपमा गत वर्षसम्म नौ जना रहेका थिए । त्यसको समेत तलब मन्त्रालयबाट नपाएपछि समूहले हेरालु घटाएर ३ जनामा झारेको छ ।

त्यस मध्ये पनि एक जना खाना पकाउने काममा रहेको समूहका अध्यक्ष रामविश्वास रायले जानकारी दिए । ‘यति ठूलो वन छ । हेरालु छैनन् । पहिला ९ जना रहेकोमा पैसा नआएपछि घटाएर आन्तरिक श्रोतबाट तीन जना राखिएको छ । थोरै मानिसले कसरी काम गर्नु,ु उनले भने ।

झण्डै १ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको यस जंगलमा तस्करले जथाभाबी काँचो सालका रुख कटान गरिरहेका छन् । तस्करले सालका रुख काटेर टुना बनाउने र साइकल, ट्याक्टरमालगायतका साधनमा राखेर चोरी तस्करी गरिरहेका हुन् ।

वन क्षेत्रमा गस्ती नभएकै कारण चोरी तस्करी बढेको हरिपुर नगरपालिका–१, जानकीनगरका स्थानीय वीरेन्द्र मण्डलले बताए । ुवन कर्मचारी र साझेदारीका पदाधिकारीको मिलेमतो नभई काठ कसरी तस्करी हुन्छ रु,’ उनले प्रतिप्रश्न गरे, ‘तस्करसँगको सेटिङकै कारण वनका कर्मचारी कार्यालयबाट वनतर्फ फर्केरसमेत हेर्दैनन् ।’

हेरालु नभएका कारण तस्करी बढ्योः अध्यक्ष राय

वन हेरालु कम भएका कारण वन तस्करी वृद्धि भएको जानकी नगर साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष रामविश्वार रायको भनाई छ ।

उनले आफूले वन जोगाउन सक्दो प्रयास जारी राखेको दाबी गरेका छन् । वनमा केही रुख कटान भएको र आफूहरू त्यसको नियन्त्रणमा दिन रात लागिरहेको उनले बताए ।

‘वनको क्षेत्रफल ठूलो छ । सबै तिरबाट गाउँले घेरेको छ । त्यसैले पनि वन संरक्षणमा चुनौती भएको हो,’ उनले भने, ‘सरकारले हेरालुको तलब दिएको छैन । पटक(पटक धेरैठाउँमा धाइयो भएन । त्यसैले हेरालु घटाउनु पर्‍यो यसको फाइदासमेत तस्करले उठाइरहेका छन् ।’

वन संरक्षणमा दिनरात लागि परेका छौंः डिएफओ झा

तस्करी बढेसँगै वन संरक्षण आफू दिनरात लागि परेको डिभिजन वन कार्यालय सर्लाहीका सन्तोष कुमार झाले बताए ।

जानकीनगर वन क्षेत्रमा पछिल्लो केही समय यता लगातार सालका रुख कटान भएको विषयमा आफू लागि परेको उनको भनाई छ । ‘यो कुरा थाहा भए पछि म आफै वन रक्षकको टोली लिएर रात दिन नभनी पुगेको छु,’ उनले भने, ‘वन खुला चिज भएकोले यसको संरक्षणमा चुनौती छ । यसको संरक्षणमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

अहिले भइरहेको तस्करी तस्कर समूहको मात्र योजनामा सम्भव नहुने उनले स्वीकार गरे । यसमा वनका स्वयं कर्मचारी तथा सुरक्षा निकायको समेत मिलेमतो रहेको विषयमा समेत आफूहरूले अनुसन्धान गरिरहेको उनी बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *