बूढीगण्डकीका विषयमा कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु

डिसी नेपाल
२५ चैत २०७८ ११:२८
312
Shares

काठमाडौं। मन्त्रीपरिषद्ले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त्यसको स्वागत गरेका छन्।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिने निर्णय फिर्ता लिएको थियो। मन्त्रीपरिषद्ले उक्त आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय समेत गरेको छ।

‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बूढीगण्डकीका लागि अर्बौं रकम जनताबाट उठिसकेको छ। मुआब्जा टुंग्याएर, सरकार र निजिक्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न,’ महामन्त्री शर्माले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छन्।

बूढीगण्डकी आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो। कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा. बाबुराम भट्टराईलाई पनि बूढीगण्डकी आयोजनासँग जोडेर सुझाव दिएका छन्।

‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य। श्रद्देय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा। ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन श्रद्देय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔं! अब बूढिगण्डकी बनाउन जुटौं!,’ महामन्त्री शर्माले भनेका छन्।

०७४ मा कांग्रेस नेतृत्वको सरकारले डा स्वर्णिम वाग्ले नेतृत्वको कार्यदल बनाई गरेको अध्ययन र प्रस्ताव अनुरुप बूढीगण्डकी ‘स्वदेशी लगानीमा निर्माण गर्ने’ निर्णय गरेको उनले स्मरण गरेका छन्।

‘ओलि सरकारले विवादास्पद कम्पनी गेजुवालाई बिना प्रतिस्पर्धा सुम्पिने निर्णय गरेर भएको भविष्य अन्यौल अब रहनुहुन्न,’ उनले लेखेका छन्।

१२ सय मेगावाटको बिद्युत उत्पादन मात्रै होइन, फेवाताल भन्दा दशौंगुणा ठूलो जलाशय, वृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डार समेत हुने यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी रहेको उनले जनाएका छन्।

‘अब कुनै बिघ्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी छ,’ उनले भनेका छन् । समृद्धिको साझा दायित्व, आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्ने उनले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *