चुनावी गठबन्धन : विपरितहरुको गठजोड

शरद रिजाल
४ वैशाख २०७९ ७:३५

काठमाडौं। स्थानीय तहको निर्वाचनमा सत्तारुढ र प्रतिपक्ष दुवै दलहरुले चुनावी गठबन्धन गरेर निर्वाचनमा होमिन लागेका छन्।

आफ्नै अजेण्डा र कार्यक्रम लिएर जनतामा जाने भन्दा पनि कसरी गठजोड गरि बलियो भएर परिणाम सुनिश्चित गर्ने ध्येयमा दलहरु लागेको देखिन्छ। बिगतको निर्वाचनमा समेत गठबन्धन गरेर गएका दलहरु आशन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरि चुनावी मैदानमा होमिने अन्तिम तयारीमा छन्।

आधारभुत बिषयमासमेत मतभेद भएका दलहरु चुनावमा भने एक भएर जान थालेका छन्। राजनीतिक दलहरुका आफ्ना मुल्य मान्यताहरुलाई लत्याउँदै विशुद्ध चुनावी परिणामलाई हत्याउन मात्रै गठबन्धन गरिएको भन्दै जनस्तरवाट व्यापक आलोचना हुने गरेको छ।

यसपालीको निर्वाचनमा दलहरु किन एजेण्डा र कार्यक्रम लिएर चुनावी प्रतिस्पर्धा गर्नुपर्नेमा किन गठजोड गरेर निर्वाचन लड्ने चेष्टा गरेका होलान्? नेपालका राजनीतिक दलहरु एजेण्डाविहीन भएका हुन् या अस्तित्व रक्षाको लागि गठबन्धन बेगर निर्वाचनमा भाग लिने ल्याकत नै राख्दैनन्। प्रश्न अनुत्तरित छ।

एजेण्डा र जनपक्षीय कार्यक्रमकम सहितको रोडम्याप बिना गठबन्धनबाटै निर्वाचन जित्ने ध्येयका साथ दलहरु निर्वाचन केन्द्रित भएका छन्। उनीहरु पछिल्लो समय निर्वाचनमा परिणाम कसरी आफ्नो पक्षमा पार्ने र बढी भन्दा बढी स्थानीय तह आफ्नो भागमा लिन जोड मात्रै गरेको देखिन्छ।

नेपालको पछिल्लो बिकसित राजनीतिक घटनाक्रम अनुसार अबको चुनावी लडाई गठबन्धन भर्सेस गठबन्धन नै हुने परिदृश्य देखिसकेको छ। केही दलहरुका सीमित नेता बाहेक अन्य सबै गठबन्धनको पक्षमै देखिएका छन्।

सत्तारुढदल होस या प्रतिपक्ष दुबैका गठबन्धनमा कुनै निश्चित सिद्धान्त ,विचार र कार्यक्रमको आधारमा भन्दा पनि निहित स्वार्थमा गठबन्धन बनेको देखिन्छ।विपरित धुव्रमा रहेका दलहरुको चुनावी मोर्चालाई मतदाताहरुले कसरी ग्रहण गर्ने हुन त्यो भने आगामी निर्वाचनको परिणामले दर्शाउने छ।

कम्युनिष्टहरु बिभाजित भएर कमजोर भएको बर्तमान परिस्थितिमा समेत कांग्रेसले एक्लै निर्वाचन लड्ने आँट गर्न सकेन। यस पटकको स्थानीय निर्वाचनमा गठबन्धनप्रति मतदाताहरु इमान्दार देखिए भने पाँच दलीय गठबन्धनले परिणाम आफ्नो पक्षमा पार्ने आँकलन गरिएको छ।

भिन्न राजनीतिक पृष्ठभुमी र कायदिशा भएका दलहरुको गठबन्धनले राजनीतिक वृत्तमा अनेकौँ चर्चा परिचर्चा हुन थालेको छ। उक्त दलभित्रैका कतिपय नेताहरुले गठबन्धनलाई दलीय निरंकुशताको संज्ञा दिएका छन्। सत्तारुढ गठबन्धनमा कांग्रेस, एकीकृत समाजवादीे, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् भने प्रतिपक्षी गठबन्धनमा एमाले, राप्रपा नेपाल, नेपाल परिवार दल लगायत आबद्ध छन्।

पछिल्लो समय माओवादी र एकीकृत समाजवादीलाई गठबन्धनको अपरिहार्य आवश्यकता परेको छ। माओवादीको खस्कदो सांगठनिक अवस्था र एकीकृत समाजवादीको सांगठनिक संरचनाले पूर्णता पाइनसकेका कारण उनीहरुलाई गठबन्धन अपरिहार्य बनेको हो।

माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो साख जोगाउनु छ। उनलाई चितवनमा आफ्नाे  निर्वाचन क्षेत्र सुनिश्चित गर्न र महानगरमा माओवादीकै नेतृत्वलाई निरन्तरता दिने अभिलासा व्याप्त छ। एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको हकमा भने उनले केपी ओलीलाई आगामी निर्वाचनमा बलियो उपस्थिति देखाउनुपर्ने छ।

किनकि उनले एमाले बिभाजन गरेको औचित्य पुष्टी गरि एमाले भन्दा बलियो रहेको देखाउनुपर्ने नैतिक संकटमा छन्। उनीहरु गठबन्धनबेगर निर्वाचनमा उल्लेख्य परिणाम आउँदैन भन्न्नेमा नेताहरु शशंकित रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। सत्ताधारी गठबन्धन र प्रतिपक्षी गठबन्धन दुवैमा भिन्न भिन्न दृष्टिकोण र बिचार अबलम्वन गर्ने दलहरुको गठजोड रहेको देखिन्छ।

प्रजातन्त्रवादी र साम्यवादीहरुको गठबन्धन

नेपाली कांग्रेसका आदर्श पुरुष बीपी कोइराला कम्युनिष्टहरुसँग सहकार्य गर्न नहुनेमा जोड दिन्थे। उनले कम्युनिष्टहरु प्रजातन्त्रवादी नहुने हुँदा उनीहरुसँग सहकार्य नहुने बताउने गर्दथे । तर पछिल्लो समयमा नेपालमा कांग्रेस र कम्युनिष्टहरुको सहकार्य बाह्र बुँदे हुँदै हालसम्म आइपुगेको छ।

यी दुवै पार्टीहरु विपरित धुव्रमा बिभाजित शक्ति हुन्। कांग्रेस उदार पुँजीवादको पक्षपोषण गर्दछ भने शास्त्रीय कम्युनिष्टहरु संसदीय व्यवस्थामा समेत विश्वास गर्दैनन्। उनीहरु समाजवाद र साम्यवादको यात्रा तय गर्ने गरेको बताउँछन् जहाँ सशस्त्र संघर्षद्वारा सत्ताप्राप्ति गर्ने उनीहरुको अभिष्ट रहेको हुन्छ।

तर नेपालको सन्दर्भमा कम्युनिष्टहरु चुनावमा भाग लिएर प्रजातान्त्रिक अभ्यास गर्दै आएका छन्। आधारभुत बिषयमा समेत बृहत मतभेद भएका प्रजातन्त्रवादी र साम्यवादीदलहरु चुनावमा भने सँगै होमिएका छन्।

संघीयता बिरोधी र पक्षधरहरुबीचको गठबन्धन

सत्तारुढ गठबन्धनमा माओवादी केन्द्र जसले संघीयता आफ्नो मुल एजेण्डा भएको बताउँदै आएको छ, उसले संघीयतालाई मजबुद बनाउने आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ। ‘माओवादीको उपहार गाँउ गाँउमा सिहदरवार’ को नारा बिगतको निर्वाचनमा लगाउँदै आएको हो।

यसको विपरित गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चा जसले देशमा संघीयताको बहस हुँदादेखि नै बिरोध गर्दै आइरहेको छ। उसले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षाको लागि संघीयता खारेजी गर्नुपर्ने बताउँदै आएको छ। नेपाल जस्तो बिपन्न राष्ट्रको आर्थिक सा्रेतले संघीयता थेग्न नसक्ने उसको जोड छ। जनमोर्चाले चुनावी घोषणा पत्रमा संघीयताको खारेजीलाई मुल मुद्दा बनाएको छ।

एकातिर माओवादी आन्दोलनको उपजनै देश संघीय स्वरुपमा गएको भन्दै उपलब्धीको रुपमा लिने माओवादी र अर्कोतिर संघीयता देशको लागि अभिशाप बताउँदै आएको जनमोर्चासहितको सत्तारुढ गठबन्धन सँगै स्थानीय तहको निर्वाचनमा होमिने तयारीमा रहेका छन्।

धर्मनिरपेक्ष र हिन्दु राष्ट्र पक्षधरहरुबीचको गठबन्धन

यस्तै प्रतिपक्षी दल एमालेले समेत गठबन्धन गर्ने सहमति गरेको छ। उसले नेपाल परिवार दल र राप्रपा नेपालसँग गठबन्धन गर्ने सहमति गरेको हो। जसअनुसार राप्रपा नेपाल र परिवार दलका उम्मेद्वारहरुले एमालेको सूर्य चिन्ह प्रयोग गर्ने छन्। त्यसको बदलामा उनीहरुले आफ्ना उम्मेद्वार नभएका क्षेत्रहरुमा एमालेका उम्मेद्वारहरुलाई सघाउने छन्।

विपक्षी दलको गठबन्धनमा पनि भिन्न राजनीतिक पुष्ठभूमी र राजनीतिक दर्शन अबलम्वन गर्ने दलहरु छन्। राप्रपा नेपाल केही समय अगाडिसम्म हिन्दु राष्ट्र र राजसंस्थाको माग लिएर राजनीति गर्दै आएको पार्टी हो। उक्त पार्टीका अध्यक्ष कमल थापा महाधिवेशनबाट अध्यक्षमा पराजित भएसँगै राजसंस्थाको मुद्दा छोडेर हाल हिन्दु राष्ट्रको मुद्दा उठाएर नया पार्टी पुर्नगठन गरेका हुन्।

त्यस्तै परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई होलिवाइनका सुत्रधार भनेर समेत आलोचित गरिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कालमा उनकै अगुवाईमा सोल्टी होटलमा होली वाइन पानको कार्यक्रम आयोजना गरिएको भनि व्यापक आलोचना समेत भएको थियो।

सत्तारुढदल होस या प्रतिपक्ष दुबैका गठबन्धनमा कुनै निश्चित सिद्धान्त ,विचार र कार्यक्रमको आधारमा भन्दा पनि निहित स्वार्थमा गठबन्धन बनेको देखिन्छ।
विपरित धुव्रमा रहेका दलहरुको चुनावी मोर्चालाई मतदाताहरुले कसरी ग्रहण गर्ने हुन त्यो भने आगामी निर्वाचनको परिणामले दर्शाउने छ।

एमालेका नेता भीम रावल वर्तमान गठबन्धनलाई सिद्धान्तविहिनहरुको गठजोड भएको बताएका छन्। उनले एमाले र राप्रपा नेपालको गठबन्धनलाई रामालेको संज्ञा दिएका छन्। रावले भिन्न विचार र दृष्टीकोण भएका दलहरु एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा होमिने हो भने पार्टीका विचार र दर्शनलाई पनि हटाएर एउटै बनाउन सुभाव दिन्छन्।

राजनैतिक दलहरु अजेण्डाको आधारमा निर्वाचनमा होमिनुपर्ने र त्यसका आधारमा प्राप्त जनमतको कदर गर्नुपर्नेमा विचार र सिद्धान्त नमिल्ने दलहरु गठबन्धन गरि परिणाम आफ्नो पक्षमा ल्याउनुलाई रावल दलीय व्यबस्था भित्रको निर्दलीयताको संज्ञा दिएका छन्।

‘जसको कुनै विचार र सिद्धान्त मिल्दैन ति दलहरुबीचको गठबन्धन दलीय व्यवस्था भित्र निर्दलीयताको अभ्यास हो।’ उनले डिसी नेपालसंग भने, ‘कम्युनिष्टहरु जो शास्त्रीय रुपमा संसदिय व्यबस्था मान्दैनन् तर नेपालको सन्दर्भमा एमालेले जनताको बहुदलीय जनवादको प्रयोग गर्दै पाचौँ महाधिवेशनमार्फत संसदीय ब्यबस्थालाई स्वीकार गरेको हो। कांग्रेससँग वैचारिक राजनैतिक मतभेदहरु विद्यमान छन्।अब एउटै गठबन्धन बनाएर जानेहो भने राजनैतिक सिद्धान्तहरुलाई देखाउनुको कुनै अर्थ छैन। एउटै पार्टी बनाए हुन्छ।’  सिद्धान्तको जलपमात्रै लगाउनुको कुनै अर्थ नभएको रावलको भनाइ छ।

नेपाली कांग्रेसकै कतिपय नेताहरु समेत गठबन्धनको बिरोध गर्दै आएका छन्। उनीहरुले अहिलेको परिस्थिति कांग्रेसको लागि अनुकुल रहेको भन्दै एक्लै निर्वाचनमा होमिनुपर्ने उनीहरुको तर्क छ। तर उनीहरुको माग पार्टी नेतृत्व तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीरताका साथ लिएका छैनन्। उनी गठबन्धन तोड्ने मनस्थितिमा छैनन्।

नेपाली कांग्रेसकै एक नेताले वर्तमान गठबन्धनले आगामी दिनमा नयाँ कार्यकर्ताले आफ्नै निर्वाचन चिन्ह भुल्ने अबस्था आउने संकेत गरे। उनका अनुसार भिन्न वैचारिक राजनैतिक पृष्ठभुमी र दर्शन अंगालेका दलहरुले एउटै चुनावी मोर्चा बनाएर जादा मतदातामा अन्यौलता हुने स्वीकार्दछन्।

तर वर्तमान गठबन्धन संघीयताको रक्षाको लागि निर्माण भएको भन्दै माओवादी नेता रामनारायण विडारीले यसको आवश्यकता र औचित्य दुबै रहेको भन्दै सत्तारुढ गठबन्धनको बचाउ गरे। उनले एकातिर कमल थापा लगायतको पश्चगामी गठबन्धन भएको र माओवादीसहित कांग्रेसको गठबन्धन अग्रगामी रहेको भन्दै गठबन्धनको आवश्यकता रहेको औंल्याए।

उनले भने, ‘यी दुबै गठबन्धनको चरित्र र प्रकृतिअनुरुप नै सवै प्रष्ट हुन्छ ओलीजीको प्रतिक्रियावादी प्रतिगामी गठबन्धन हो भने कांग्रेस माओवादीको संविधानको रक्षा र गणतन्त्रवादीहरुको प्रगतिशील लोकतान्त्रीक गठबन्धन हो।’

संघीयता पक्षधर र बिरोधीहरु माओवादी कांग्रेस गठबन्धनमा रहेका छन् त? भन्ने प्रश्नमा विडारीले केही बिषयमा मतभेद भएतापनि गणतन्त्र र धर्मनिरपेक्षता जस्ता मुल उपलब्धीमा एक भएकाले गठबन्धनमा समाहित भएको दाबी गरे।

विडारीले भने, ‘हाम्रो गठबन्धनमा आवद्ध दलहरु जस्तो कांग्रेससंगै आधारभूत बिषय नै मिल्दैन उहाहरु पुँजीवाद भन्नुहून्छ हामी समाजवाद साम्यवाद भन्छौं तर बाह्रबुँदे संविधान निर्माण हुँदै केपी ओलीको प्रतिगमनको बिरोधसम्म आउदा हाम्रो सहकार्य भएको हो।’ उनका अनुसार वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाको लागि अपरिहार्य बनेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *