जनकपुरधाम उपमहानगरका १५ जनाको उम्मेदवारी फिर्ता

डिसी नेपाल
१६ वैशाख २०७९ २२:५८

जनकपुरधाम । जनकपुरधाम उपमहनगरपालिकामा २ स्वतन्त्र मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरि, उपमेयरमा विश्वनाथ साह सुडिले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

मेयरका दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपनि प्रमुख दलहरुको चुनावी समीकरणमा कुनै प्रभाव नपर्ने जानकारहरुको भनाइ छ । उम्मेदवारी फिर्ता लिएका दुवै जनाको कुनै खास पार्टीसँग लगाव नभएकोले पनि त्यसको प्रत्यक्ष प्रभाव कुनै दलका उम्मेदवारलाई नपर्ने देखिन्छ ।

जनकपुरधाममा सत्तारुढ गठबन्धनले जसपाका लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएका छन् । सत्तारुढ गठबन्धन दलका काँग्रेसबाट जनकपुर नगरसभापति मनोज साहले बागि भई उम्मेदवारी दिएका छन् । मनोज साह काँग्रेस पार्टी परित्याग गरि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित जसपालाई जनकपुरको नेतृत्व गर्न दिएको भन्दै उनी काँग्रेस परित्याग गरेका थिए ।

कांग्रेसले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै आम कांग्रेसी समर्थन आफूलाई रहेको मनोज साहले दाबी गर्दै आएको छ । यस्तोमा मनोज साहले उम्मेदवारी फिर्ता नलिएपछि त्यसको प्रभाव सत्तारुढ गठबन्धनमा पर्ने निश्चत छ ।

त्यसैगरि, सत्तारुढ गठबन्धन दलले भागबन्डामा जनकपुरधामको उपमेयरमा कांग्रेसका किशोरी साहलाई उम्मेदवार बनाएको छ । त्यस कांग्रेसबाट निर्मल चौधरीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

चौधरीलाई उम्मेदवारी फिर्ता गराउन प्रयास गरेपनि उनी उम्मेदवारी फिर्ता गरेका छैनन् । चौधरी बिहीबार साँझ कांग्रेस परित्यागको घोषणा गरेका थिए ।

मारवाडी समाजका चौधरी लामो समयदेखि कांग्रेसका सक्रिय रहेका थिए । यस्तोमा उनी बागी भएपछि सत्तारुढ गठबन्धन चुनावी अभियानमा प्रभाव पर्ने निश्चत देखिन्छ ।

नेकपा एमालेबाट पनि मेयर र उपमेयरमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैन । एमालेले मेयरमा शिवशंकर साह हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएका छन् ।

लामो समयदेखि कम्युनिष्ट पार्टीमा सक्रिय रहेका रामकेवल साहले मेयर र उमेश चौधरी उपमेयरमा बागि उम्मेदवारी दिएका छन् ।

पार्टीक शीर्ष नेताहरुले यी दुवैलाई उम्मेदवारी फिर्ता गराउन खासै पहल गर्न सकेनन् । एमालेका मेयरका उम्मेदवार हिराले एमालेको दुवै जना बागी लामो समयदेखि पार्टीमा निष्क्रिय रहेकाले उनीहरुको उम्मेदवारीले आफूहरुलाई खासै प्रभाव नपर्ने दाबी गरेका छन् । त्यसैगरि, लोसपा परित्याग गरि केहि दिन अघि मेयरको टिकट पाउन आशमा एमालेमा प्रवेश गरेका जनकपुर ७ का निर्वतमान वडाध्यक्ष जानकी राम साह टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । तर टिकटकै लागि आएका साहले टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि नेकपा एमालेको चुनावी अभियानमा कुनै फरक नपार्ने हिराको दाबी छ । तर जानकी राम साहले भने आफुलाई एमालेको साथै लोकतान्त्रिक समाजवादी पार्टीका अधिकांश कार्यकर्ताहरुको सर्मथन रहेको दाबी गरेका छन् ।

त्यस्तोमा जानकी राम साह एमाले र लोसपा दुवै पार्टीका उम्मेदवारलाई प्रभाव पार्न सक्ने सम्भावना रहने स्थानीय नेताहरु बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *