देउवा र राजनीतिक कुसंस्कृति

डिसी नेपाल
१९ वैशाख २०७९ ६:५८

निर्वाचनमा गठबन्धन जनमतलाई दिग्भ्रमित पार्ने षड्यन्त्र हो। जनमत आफ्नो पक्षमा नआउला की भनेर कुलो भत्काएर कुलोको पानी आफ्नो मात्र खेतमा हाले जस्तो जनमतलाई अर्कोतिर पार्ने फोहोरी खेल हो।

अर्को शब्दमा भन्ने हो भने गठबन्धन विवाहमा कन्यादान दिने बेलामा वास्तविक बेहुलाको हातको सट्टा अर्कै व्यक्तिको हात राखिए जस्तै एकातिर जान खोजेको जनमतलाई अर्कातिर फर्काई जनमत खण्डित गर्ने राजनीतिक बेइमानी हो।

कुनै आग्रह नराखी भन्ने हो भने प्रधानमन्त्री देउवा पहिले राजनीतिमा पजेरो काण्ड भित्र्याएर बदनाम भए भने यसपटक गठबन्धनको संस्कृति भित्र्याएर फेरि बदनाम भए। त्यसो त देउवाको राजनीतिक जीवनमा सकारात्मकभन्दा बढी नकारात्मक चरित्र नै देखा पर्दछन्।

स्वार्थ नमिल्दा देउवाकै जोडबलमा अघिल्लोपटक प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो भने हाल प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरामाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने कार्यमा पनि देउवाकै देन रहेको छ ।

प्रचण्ड जस्ता अराजक र स्वार्थी व्यक्तिको प्रभावमा परेपछि गठबन्धनको यस्तो कुसंस्कृतिले आफ्नो राजनीतिक आस्थाभन्दा विपरीत भोट हाल्नुपर्ने अवस्थामा स्वयम् नेपाली काङ्ग्रेस पुगेको छ । लोकतन्त्रमा व्यक्तिले स्वतन्त्र मत हाल्ने र आफ्नो उम्मेदवार चुन्न पाउने व्यक्तिगत स्वतन्त्रतामाथिको गम्भीर हनन हो।

देउवा तिनै राजनीतिज्ञ हुन् जसले प्रजातन्त्र दरबारमा बुझाएर प्रतिगमन निम्त्याएका थिए भने यही प्रतिगमनका आधारमा नेपाली काँग्रेस पार्टी फोर्ने एक नायक पनि देउवा नै थिए; भलै पछि तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको एकताको सुझबुझको कारण पार्टी एकीकरणका नाममा उनको प्रजातान्त्रिक काँग्रेस नै नेपाली काँग्रेसमा विलय भएको थियो। प्रतिगमनका नायक यी देउवा तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा अक्षम प्रधानमन्त्री भनी बर्खास्त भएका राजनीतिक कर्मी पनि हुन् ।

भर्खरैको घटना सम्झना गर्ने हो भने पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदमा पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा संसदमा खुलेर विरोध गर्ने सभापति देउवाले अहिले आफू प्रधानमन्त्री हुँदा ओलीले ल्याएको त्यहीँ दल विभाजनसम्बन्धी ओलीको अध्यादेशलाई अझ विकृत पारी ल्याएको अध्यादेशले राजनीतिमा उनी कुसंस्कारका नयाँ नयाँ श्रृङ्खला स्थापित गर्न उद्दत छन् भन्ने देख्न सकिन्छ ।

यी त भए इतिहासका कुरा ।

प्रधानमन्त्री देउवाका पालामा यस्ता कुनै न कुनै खाले कुसंस्कारको सुरुआत हुन्छ हुन्छ नै। त्यसमाथि प्रचण्ड जस्ता अराजक र स्वार्थी व्यक्तिको प्रभावमा परेपछि गठबन्धनको यस्तो कुसंस्कृतिले आफ्नो राजनीतिक आस्थाभन्दा विपरीत भोट हाल्नुपर्ने अवस्थामा स्वयम् नेपाली काङ्ग्रेस पुगेको छ । लोकतन्त्रमा व्यक्तिले स्वतन्त्र मत हाल्ने र आफ्नो उम्मेदवार चुन्न पाउने व्यक्तिगत स्वतन्त्रतामाथिको गम्भीर हनन् हो।

यसको परिणाम नै हो अहिलेको स्थानीय निकाय निर्वाचनमा चुनाव स्वस्थ नभएर यति धेरै बागी, विद्रोही, छलकपट र षडयन्त्रपूर्वक हुन थालेको । यो निर्वाचनमा बागी उम्मेदवारहरूको सबैभन्दा ठूलो ताँती पनि नेपाली काँग्रेसभित्र नै देखिँदैछ। चुनावमा आफ्नै पार्टीका यति धेरै बागी उम्मेदवार हुनु भनेको सभापतिको हैसियले सरासर देउवाकै राजनीतिक कमजोरी हो।

माटो एउटै, बारी एउटै र एउटै ड्याङका मुला भएर होला, काँग्रेसको यही गठबन्धनको कुरूप संस्कृतिलाई पछ्याउँदै विपक्षीहरूले पनि गठबन्धनको त्यही अस्वस्थ बाटोलाई नै पछ्याएका छन्। प्रधानमन्त्री देउवाकै कारण देशमा यी र यस्तै गलत राजनीतिक नजिरहरू स्थापित हुँदैछन् जो वर्तमान र भविष्यमा लोकतन्त्रका लागि शुभलक्षण होइनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *