चिन्ह फेर्ने आदेश – Dcnepal

चिन्ह फेर्ने आदेश

देशमा चुनाव आएको छ। मेरो त जीवनमा पाइला पाइलामा चुनाव छ। कुनैबेला कलम ठूलो कि तरबार भन्ने चुनाव थियो। कुनै बेला घरबार कि दरबार भन्ने चुनाव थियो। पूर्व कि पश्चिम भन्ने चुनाव थियो। तर मेरो देशलाई भने हमेशा उत्तर कि दक्षिण भन्ने चुनावले पोलिरहन्छ।

ए! देशलाई त के समस्या हुनु नि? यो भूगोललाई त भूपरिवेष्ठत हुनुको मात्र पिडा छ। यो चुनावको असली पिडा त राजनीतिक दलहरूलाई र राजनीतिक नेताहरूलाई पो त छ। तर सबै भन्दा ठूलो चुनावको पिडा चैं कार्यकर्ताहरूमा हुन्छ। आज राती एस भनेर सुत्यो, बिहान नो भन्नु पर्नेः हिजो आउ भनेर ल्यायो, आज गो भन्नु पर्ने। आज चौतारीमा बसेर शीतल हावा खान्छु भन्यो प्रचण्ड घाम ताप्नु पर्ने। केन्द्रमा कत्ति खेर कस्तो गठबन्धन हुन्छ भेउ पाउन नसक्ने, पाएछ भने पनि केही गर्नै नसक्ने, कठपुतली निरीह जस्तो छ।

कठपुतली मालिकले जसरी चलायो त्यसरी चल्छ। जसरी नचायो त्यसरी नाँच्छ। यसपालि हाँसिया हथौडामा भोट हाल भन्छ, हाल्नै पर्यो, रूखमा हाल, सूर्यमा हाल भन्छ, हलोमा हाल भन्छ हाल्नै पर्यो।

पुतलीजस्तो खुल्ला आकाशमा उन्मुक्त उडान भर्न जन्मिएकाहरू कार्यकर्ताहरू त्यही कठपुतली बन्न विवश छन्। कठपुतलीको आफ्नो ज्यान त हुन्छ तर आफ्नै आत्मा र प्राण हुँदैन। त्यसैले त कठपुतली मालिकले जसरी चलायो त्यसरी चल्छ। जसरी नचायो त्यसरी नाँच्छ। यसपालि हाँसिया हथौडामा भोट हाल भन्छ, हाल्नै पर्यो, रूखमा हाल, सूर्यमा हाल भन्छ, हलोमा हाल भन्छ हाल्नै पर्यो।

यसपालि फेरि मत पत्र नै हरियो हुने भएछ, प्रजातान्त्रिक समाजवाद, वैज्ञानिक समाजवाद अझ भनौं साम्यवाद नै ल्याईदिने रहेछ हाम्रो देश, समाजमा मात्र एउटा हरियो रंगले। हर एक नागरिकलाई हरियो चश्मा पनि लगाईदिनु परेन यसले गर्दा देशको हरियो नोट पनि जोगियो। कुनै बेला हरियो वन, नेपालको धन भनेर भनियो, अहिले त बरू विदेशिएका नेपाली जन, रेमिटेन्स नै नेपालको धन भन्नु पर्ने अवस्था आईसक्यो।

नीति, नियम, स्वार्थ सबै मिलेपछि मतपत्रमा सबै चिन्ह हरियो राख्दा के चैँ बिग्रिन्छ र? जनतालाई २०\२२ वर्ष पहिल्यै गोरू बनाएको हुँदै हो क्यारे! चैतमा देख्नु पर्ने हरियो, बैशाखमा देख्दा के चाहिँ बिग्रिन्छ र? यत्रो समझदारी, यत्रो कार्यगत एकता गरेर लडेको चुनावमा चुनाव चिन्ह र मतपत्र हरियो हुँदा झुकेर जनताको अमूल्य भोट यता हाले पनि उता हाले पनि कम्तीमा खेर नजाने भो!

यसले हरियो रूखमा मलजल भयो भने आपत्ति मान्नु पर्ने कारण नै छैन। विचरा रूखले कत्ति प्रचण्ड घाम सहनु पर्‍यो, कत्ति बदनाम सहनु पर्‍यो यो केवल बुढो रूखलाई थाहा छ। हँसिया हथौडा टुटेको फुटेको के रूखले गर्दा हो र? आफू आफै ठोक्किएको, आफू आफै टुटेको, फुटेको हो।

बसन्तको, बैशाखको यो हरियाली मौसममा यो मतपत्र कै कारण साथी भाइ नटुटुन, दाजुभाइ नछुटुन, जिउँदाको जन्ती र मर्दाको मलामी सबै छरछिमेकी माटोको हाँडी जस्तो छरपष्ट नफुटुन, बाह्र हजार माईल टाढा भए पनि म हेरिरहेको छु देश, पढिरहेको छु देश। मात्र फरक यो छ कि, भिडलाई देख्न भिडबाट अलग वा माथि उठ्नु पर्छ। जय नेपाल, जय नेपाली!

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो