श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए

डिसी नेपाल
२६ वैशाख २०७९ १६:४४
88
Shares

काठमाडौं । श्रीलंका इतिहासकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा संकटकाल लागु भएको छ । श्रीलंकामा संकटकालको बीचमा अहिले राजनीतिक संकट उत्पन्न भएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई महिन्दा राजापाक्षेले राजीनामा बुझाएका छन् ।

महिन्दा राजापाक्षेपछि उनको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका प्राध्यापक चन्ना जयसुमनाले पनि राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन् । यो टापु देशमा आर्थिक संकटलाई लिएर विरोध प्रदर्शनका क्रममा हिंसात्मक झडप भएपछि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । राजधानी कोलम्बोमा सोमबार आर्थिक संकटको विरोधमा भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि महिन्दा राजापाक्षेले सर्वसाधारणलाई संयमता अपनाउन अपिल गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘जब भावनाहरू उच्च हुन्छन्, हामीले याद गर्नुपर्छ कि हिंसाले हिंसा मात्र निम्त्याउँछ।’ महिन्दा राजापाक्षले भनेका छन्, ‘हामी जुन आर्थिक संकटमा छौँ त्यसमा आर्थिक समाधान आवश्यक छ ।’

महिन्दा राजापाक्षेले यो प्रशासन आर्थिक संकट समाधान गर्न प्रतिबद्ध रहेको बताए । उल्लेखनीय छ, आर्थिक संकटलाई लिएर विरोध गरिरहेका विरोधी र महिन्दा राजापाक्षेका समर्थकबीच सोमबार हिंसात्मक झडप भएको थियो । महिन्दा राजापाक्षेका समर्थकको आक्रमणमा १६ जना घाइते भएका छन् ।

राजधानी कोलम्बोमा हिंसा भड्किएपछि सहरमा कर्फ्यू लगाइएको छ । अर्कोतर्फ विपक्षी दलहरुले पनि प्रधानमन्त्रीको राजीनामा र संयुक्त सरकार गठनको माग गर्दै लगातार विरोध प्रदर्शन गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *