उड्न लागेको विमानमा यात्रुहरूलाई विमान दुर्घटनाका भयानक तस्वीरहरू पठाइएपछि…

डिसी नेपाल
२८ वैशाख २०७९ १२:३७

काठमाडौं । इजरायलको तेल अभिभ सहरमा एउटा अनौठो घटना घटेको छ । तेल अभिभको एउटा विमान उड्ने क्रममा अचानक आफ्नो टर्मिनलमा फर्किनुपरेको छ । वास्तवमा विमान दुर्घटनाको डरलाग्दो तस्बिर यात्रुलाई पठाइएपछि रनवेमै उडान रोक्नुपरेको थियो ।

अज्ञात स्रोतले पठाएको तस्विरका कारण डर फैलिएपछि विमान टर्मिनलमा फर्किनुपरेको थियो र त्यसपछि उडानमा रहेका यात्रुका सामानको पनि जाँच गरिएको थियो । विमानमा रहेका यात्रुहरूले ‘आईफोन एयरड्रप’ मार्फत विमान दुर्घटनाको तस्बिरहरू प्राप्त गरेपछि सुरक्षा अलार्म बजाएका थिए। यो विमान तेल अभिभबाट इस्तानबुल जाँदै थियो।

उडानमा १६० यात्रुहरूको लागि बेन गुरियन एयरपोर्टमा अतिरिक्त सुरक्षा जाँचहरू गरियो, तर अधिकारीहरूले कति जनालाई विचलित पार्ने तस्विरहरू पठाइयो भन्ने खुलासा गरेनन्।

विमानमा बसेका केही यात्रुलाई सन् २००९ मा एम्स्टर्डममा भएको टर्किस एयरलाइन्सको विमान दुर्घटनाको तस्बिर पठाएको थियो, एम्स्टर्डममा भएको उक्त विमान दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

यसैबीच, अन्य केही यात्रुहरूलाई सन् २०१३ मा सान फ्रान्सिस्कोमा भएको एसियाना एयरलाइन्सको दुर्घटनाको तस्विर पठाइएको थियो। विमानमा सवार एक यात्रु डायनाले सञ्चारमाध्यमसँगको कुराकानीमा भनिन्, ‘यो घटनापछि एक महिला बेहोस भएकी छिन् र एकजनालाई प्यानिक अट्याक भएको छ ।’

यो घटनापछि इजरायली प्रहरीले ९ इजरायली नागरिकलाई पक्राउ गरेको छ । यी सबै घटनामा दोषी पाइएमा कानुनबमोजिम सबैलाई गलत सूचना दिएकोमा ३ वर्षसम्म कैद हुनसक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *