न्यूयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

डिसी नेपाल
१ जेठ २०७९ १५:५३
228
Shares

न्युयोर्क । अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ।

प्रहरीले उक्त घटनालाई जातीय रूपमा प्रेरित घृणायुक्त अपराधको रूपमा अनुसन्धान भइरहेको जनाएको छ।

बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ।

प्रहरीले उनको नाम खुलाएको छैन।

ती सन्दिग्ध व्यक्तिले शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए।

प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग गरेका थिए।

सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले उक्त हमलालाई “हिंसक अतिवादी कृत्य” को सङ्ज्ञा दिएको छ।

पत्रकार सम्मेलनमा एफबीआईको बफलो कार्यालयका प्रमुख स्टीभन बेलोङ्गियाले भने, “हामीले यस घटनालाई घृणा फैलाउने अपराध र जातीय रूपले प्रेरित हिंसक अतिवादजस्ता दुवै पक्षबाट अनुसन्धान गरिरहेका छौँ।”

ती सन्दिग्ध कैयौँ घण्टा सवारी चलाएर उक्त सहरस्थित अश्वेत समुदायको बाहुल्य रहेको क्षेत्रमा पुगेका थिए।

कुल १३ जनालाई गोली लागेकोमा अधिकांश व्यक्ति अश्वेत समुदायका भएको बफलोका प्रहरी प्रमुखले बताएका छन्।

घाइते भएका तीन जना पनि सुपरमार्केटका कर्मचारी हुन्।

यद्यपि उनीहरूलाई ज्यान जोखिम पर्ने खालको गम्भीर चोट लागेको छैन।

उक्त सुपरमार्केटमा सुरक्षाकर्मीको रूपमा काम गर्ने एक सेवानिवृत्त प्रहरीले ती सन्दिग्ध आक्रमणकारीलाई गोली हान्ने प्रयास गरेका थिए। तर सन्दिग्ध आक्रमणकारीले हानेको गोली लागेर उनको मृत्यु भयो।

सन्दिग्ध आक्रमणकारीले निकै शक्तिशाली राइफल बोक्नुका साथै शरीरमा गोली छेक्ने कवच र हेल्मेट लगाएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रतिकार गरेपछि उनले आफ्नो हतियार समर्पण गरेका थिए।

उनीविरुद्ध हत्याका अभियोगहरू लगाइएको छ।

उनलाई स्थानीय समयानुसार शनिवार अबेर अदालतमा पेस गर्न लागिएको छ।

उनी‍विरुद्ध थप अभियोगहरू लगाउन सकिने एक सरकारी वकिलले बताएका छन्।

सीबीएससँग कुरा गर्दै एक प्रहरी अधिकारीले आक्रमणका बेला ती सन्दिग्ध व्यक्तिले अपमानजनक टिप्पणी गरेका थिए।

“कुनै समुदायले भोग्नुपर्ने यो सबैभन्दा नराम्रो दुस्वप्न हो। अनि हामीलाई चोट लागेको छ, अहिले हामी निकै आक्रोशित छौँ,” बफलोका नगरप्रमुख बाइरन ब्राउनले संवाददाताहरूसँग भने।

“हामी यो घृणाकारक व्यक्तिलाई हाम्रो समुदाय वा हाम्रो देश विभाजन गर्न दिँदैनौँ।”

घटनाका एक प्रत्यक्षदर्शी ग्र्याडी लूइसले ती सन्दिग्ध आक्रमणकारीले के गरे भनेर वर्णन गरेका छन्। घटना हुँदा उनी बाटोपारि थिए।

“त्यो सैनिकको शैलीमा व्यक्ति भित्र गएको र मानिसहरूलाई गोली चलाउन थालेको मैले देखेँ,” उनले भने।

घटना हुँदा सुपरमार्केटमा काम गरिरहेकी शनेल ह्यारिसका अनुसार उनले ७० पटकभन्दा गोली चलेको सुनेकी थिइन्। उनी ज्यान जोगाउन भागेर पछाडिको ढोकातिर गइन्।

“बजार भरिएको थियो। सप्ताहान्तको दिन थियो,” उनले भनिन्। “मलाई यो सबै एउटा दुःस्वप्नजस्तो लागिरहेको छ।”

एक प्रहरी अधिकारीले घटनापछिको अवस्थालाई “हरर मूभी” को दृश्यसँग तुलना गरेका छन्।

न्यूयोर्कका गभर्नरले सन्दिग्ध आक्रमणकारी “आतङ्कवादी गतिविधिमा संलग्न एक श्वेत सर्वोच्चतावादी” भएको बताएका छन्।

राष्ट्रपति जो बाइडनलाई घटनाबारे जानकारी दिइएको ह्वाइट हाउसले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *