अमेरिकाले सहयोगको प्रस्ताव गरेपछि उत्तर कोरियाले के भन्यो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिकाले उत्तर कोरियालाई खोप प्रस्ताव गरेको तर उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन् । पहिलो पटक उत्तर कोरियाले आधिकारिक रुपमा कोरोना संक्रमणको घटना भएको पुष्टि गरेको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशका करिब २५ लाख मानिस ‘ज्वरो’को चपेटामा छन् र उत्तर कोरियामा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ। उत्तर कोरियामा कम मात्रामा परीक्षण भइरहेको र भ्याक्सिनको आपूर्ति पनि निकै सीमित भएकाले उत्तर कोरियाको अवस्था निकै गम्भीर रहेको विश्वास गरिन्छ ।
जो बाइडेनले आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलसँग विज्ञप्ति जारी गर्दै बाइडेनले भने ‘हामीले खोप उत्तर कोरियालाई मात्र नभई चीनलाई पनि प्रस्ताव गरेका थियौं। तर, हामीले अहिलेसम्म कुनै प्रतिक्रिया पाएका छैनौँ ।’
दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि अहिलेसम्मकै ठूलो राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । सैन्य, आर्थिक र मानवीय सहयोगसहितको यो प्याकेज करिब ४० अर्ब डलरको छ ।
यसैबीच दक्षिण कोरिया भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले उत्तर कोरियाली शासक किम जोङ उनसँग प्रत्यक्ष वार्ताका लागि गम्भीरता देखाएको खण्डमा भेट्न तयार रहेको बताएका छन् ।
बाइडेनले उत्तर कोरिया विरुद्ध दक्षिण कोरियाको सुरक्षा बलियो बनाउन आफू तयार रहेको पनि बताएका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले पनि राष्ट्रपति बाइडेनसँग दक्षिण कोरियामा थप अमेरिकी लडाकु विमान, क्षेप्यास्त्र र सेना तैनाथ गर्ने सम्भावनाबारे छलफल गरे।
राष्ट्रपति बाइडेन अघि अमेरिकी राष्ट्रपति रहेका डोनाल्ड ट्रम्प उत्तर कोरियाली शासकलाई भेट्ने पहिलो अमेरिकी राष्ट्रपति थिए।







डिसी नेपाल







Facebook Comment