दुई वर्षपछि स्वदेश फर्किएका पूर्वराजा कार्लोसको विरोधमा उत्रिए स्पेनवासी
म्याड्रिड। संयुक्त अरब इमिरेट्समा करिब दुई वर्षको स्वनिर्वासनपछि स्वदेश फर्किएका पूर्वराजा जुआन कार्लोस प्रथमविरुद्ध आइतबार म्याड्रिडमा सयौं प्रदर्शनकारीहरूले प्रदर्शन गरे। ‘न्याय’ र ‘जेलमा बोर्बोन’ लेखिएको प्लेकार्ड समातेर प्रदर्शनकारीहरू स्पेनको राजधानी म्याड्रिडस्थित शाही दरबारनजिक भेला भएका थिए । एक सरकारी प्रवक्ताले प्रदर्शनकारीको संख्या तीन सय रहेको बताए।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा मार्चमा अनुसन्धान रोकिएपछि सन् २०२० को अगस्टपछि पहिलो पटक पूर्वराजा कार्लोस स्वदेश फर्किएका हुन्।
सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको लोकतन्त्रमा उनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो। तर उनको अपारदर्शीताले ८४ वर्षीय पूर्वराजाको प्रतिष्ठालाई कलंकित बनाएको धेरै स्पेनीहरुको भनाई छ।
पूर्वराजा अबु धाबी फर्कनुअघि सोमबार राजधानी म्याड्रिडमा आफ्ना छोरा राजा फेलिप छैठौंलाई भेट्नेछन्। भ्रमणका क्रममा हालका राजा फिलिपको आधिकारिक निवास जार्जुएला प्यालेसमा बस्ने पूर्वराजा कार्लोसको निर्णयलाई सरकारले विरोध गरेको छ।
समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले अझै पनि सन् २०१४ मा राजगद्दी त्यागेका पूर्वराजा कार्सोसबाट ‘स्पस्टीकरण’ को अपेक्षा गरेको छ।







डिसी नेपाल







Facebook Comment