रिभोल्युसनरी गार्ड्सका कर्णेलको हत्यापछि इरानले भन्यो- ‘पक्कै बदला लिनेछौं’, इजरायलले के भन्यो ?
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीले राजधानी तेहरानमा रिभोलुसनरी गार्डका कर्नेलको हत्यालाई आतंकवादी हमला भन्दै इरानले बदला लिने बताएका छन् । इरानी सेनाको शक्तिशाली गुट इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका सदस्य कर्नेल हसन सैयद खोदाईलाई आइतबार तेहरानमा गोली हानी मारिएको थियो।
तेहरानमा यस प्रकारको आक्रमणलाई अभूतपूर्व घटना भनिएको छ। यस घटनामा मोटरसाइकलमा सवार दुई बन्दुकधारीले कर्नेल सैयद खोदईलाई आक्रमण गरेका थिए । उनी कारमा बसिरहेका बेला उनको घरबाहिर आक्रमणकारीले पाँचवटा गोली प्रहार गरेको बताइएको छ ।
अहिलेसम्म कुनै पनि व्यक्ति वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। बीबीसी मध्यपूर्व मामिला सम्पादक सेबास्टियन अशरका अनुसार इरानमा सन् २०२० यताको यो सबैभन्दा ठूलो सुरक्षा उल्लंघन हो। त्यो वर्ष एक प्रख्यात इरानी आणविक वैज्ञानिकको हत्या भएको थियो।
कर्नल सैयद खोदई इरानी कुड्स फोर्सका वरिष्ठ सदस्य थिए। यो इरानी सेनाको शक्तिशाली गुट रिभोलुसनरी गार्ड्सको शाखा हो, जसले विदेशमा इरानी सेनाको कार्य सञ्चालन गर्दछ। अमेरिकाले कुड्स फोर्सले चरमपन्थी संगठनहरूलाई समर्थन गरेको र मध्यपूर्वमा धेरै आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ।
हालैका वर्षहरूमा मारिने कुड्स फोर्सका दोस्रो शीर्ष अधिकारी कर्नल खोदाई हुन्। २०२० मा, इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डर जनरल कासिम सुलेमानी इराकमा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए।
जनरल सुलेमानी त्यतिबेला कुड्स फोर्सका प्रमुख थिए र मध्यपूर्वमा इरानी सैन्य कारबाही गरिरहेका थिए। उनको मृत्युपछि अमेरिका र इरानबीच तनाव उत्कर्षमा पुगेको थियो ।
सोही वर्ष इरानी आणविक वैज्ञानिक मोहसिन फखरजादालाई तेहरानमा गोली हानी हत्या गरिएको थियो । इरानको आणविक कार्यक्रममा मोहसिन फखरजादाको महत्वपूर्ण भूमिका थियो । उनको वरिपरि कडा सुरक्षा थियो र उनलाई सशस्त्र गार्डहरूले घेरेका थिए।
त्यसपछि इरानले रिमोटबाट चल्ने हतियार प्रयोग गरेर इजरायलले उनको हत्या गरेको आरोप लगाएको थियो । इरानले यसअघि इजरायलले आफ्ना वरिष्ठ अधिकारीको हत्या गरेको आरोप लगाएको थियो। तर यसपटक उनले कुनै देशको नाम भने भनेका छैनन् ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खातिबजादेहले आइतवार भने कि कर्नेललाई इरानका “निर्धारित शत्रुहरू” द्वारा मारिएको थियो जो “अन्तर्राष्ट्रिय अहंकारसँग जोडिएका आतंकवादी एजेन्टहरू” हुन्। इरानले अमेरिका र उसका सहयोगीहरूलाई औँल्याएको मानिन्छ ।
प्रवक्ताले यो पनि भने कि “आतंकवादसँग लड्ने दाबी गर्नेहरू मौन छन् र यसलाई समर्थन गरिरहेका छन्।”
तर, कर्णेल खोदाईको हत्याको खबर आएपछि इरानको सरकारी टेलिभिजन च्यानलमा रिभोलुसनरी गार्ड्सले इजरायली जासुसको सञ्जाल फेला पारेको र यससँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरेको खबर आएको थियो । यद्यपी इजरायलले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
सोमबार इरानी राष्ट्रपति इब्राहिम रइसीले ओमान जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै भने कि आक्रमणको अनुसन्धानले “यस आपराधिक कार्यको पछाडि अन्तर्राष्ट्रिय अहंकार निस्सन्देह” रहेको स्पष्ट पार्नेछ।
रईसीले सिरियामा शिया मुस्लिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रक्षा गर्ने फौजबाट परास्त भएकाहरुले यस्ता हत्यारा हमला गरेर आफ्नो निराशा प्रकट गरेको बताए ।
रईसीले भने, ‘हाम्रा महान सहिदको रगतको बदला अवश्य लिइनेछ ।’ इजरायली सञ्चारमाध्यमका अनुसार इजरायली सरकारले इरानी कर्णेलको हत्याबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
इजरायली अखबार टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार , इजरायली रक्षामन्त्री बेनी गान्ट्जलाई इजरायली टिभी च्यानल च्यानल १२ का पत्रकारले सोध्दा उनले केही भन्न अस्वीकार गरे।
इजरायल परेडमा सहभागी हुन न्युयोर्क पुगेका बेन्नी गान्ट्जले भने, “इजरायल निकै शक्तिशाली देश हो। जताततै भइरहेका रिपोर्टहरूबारे म केही भन्न चाहन्न।”
यद्यपि इरानको सरकारी टिभी च्यानल प्रेस टिभीले इजरायली टिभी च्यानल च्यानल १ लाई उद्धृत गर्दै इजरायलले आफ्ना सबै कूटनीतिक नियोगहरूलाई सतर्क रहन चेतावनी दिएको बताएको छ।







डिसी नेपाल







Facebook Comment