चीनलाई एकैचोटी १० वटा देशले दिए ठूलो झट्का

डिसी नेपाल
१७ जेठ २०७९ १४:३४

काठमाडौं । चीनलाई प्रशान्त महासागर क्षेत्रका दश देशहरूले ठूलो झट्का दिएका छन् । दक्षिण प्रशान्त महासागरका यी टापु देशहरूले चीनसँग क्षेत्रीय सुरक्षा सम्झौता गर्न अस्वीकार गरेका छन्। यसलाई चीनको ठूलो कूटनीतिक पराजयको रुपमा हेरिएको छ ।

फिजीमा चिनियाँ विदेशमन्त्री वाङ यी र यी दश देशका नेताबीच सुरक्षा सम्झौताका लागि वार्ता भएको थियो तर कुनै निष्कर्षमा पुग्न सकेन । चीनले अमेरिका र उसका सहयोगीहरूको प्रभावलाई प्रत्यक्ष चुनौती दिएर दक्षिण प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व बढाउन चाहन्छ।

उक्त सम्झौताअनुसार यस क्षेत्रमा साइबर सुरक्षा बढाउनुपर्ने थियो । राजनीतिक सम्बन्ध विस्तार गर्नदेखि समुद्री नक्साङ्कनसम्म, पानी र जमिनमा प्राकृतिक स्रोतहरूमा थप पहुँचको योजना पनि बनाइएको थियो।

यो सम्झौताको बदलामा चीनले यी देशलाई करोडौं डलरको आर्थिक सहयोगको प्रलोभन दिइरहेको छ । चीनले प्रशान्त महासागरका देशहरूलाई स्वतन्त्र व्यापार सम्झौता र चीनका १.४ अर्ब जनताको बजारमा पहुँचको प्रलोभन पनि दिइरहेको छ। तर, यी देशहरूले यो प्रस्तावप्रति गहिरो आशंका व्यक्त गरेका छन् ।

माइक्रोनेसियाका राष्ट्रपति डेभिड पानुएलोले सबै सहयोगी राष्ट्रका नेताहरूलाई लेखेको पत्रमा यो प्रस्ताव धोका हुनसक्ने चेतावनी दिएका छन्। ‘यसमार्फत चीनले हाम्रो सरकार र हाम्रा प्रमुख उद्योगहरूमा आर्थिक नियन्त्रणलाई प्रभाव पार्ने प्रयास गर्नेछ’ उनले भनेका छन् ।

चीनको यो प्रस्तावमा यी देशका नेताहरूले असहमति जनाएका छन् । क्षेत्रीय सहमति नहुँदा आफू सहभागी हुन नसकेको उनले बताए । बैठकपछि फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाले भने, ‘हामीले सहमतिलाई पहिलो स्थान दिएका छौं।’ पपुवा न्युगिनी, सामोआ र माइक्रोनेसिया पनि यो सम्झौतालाई लिएर चिन्तित थिए।

पपुवा न्यू गिनीका विदेश मन्त्री सोरोई इओले भने, “हामी चीनसँग हाम्रो सुरक्षा मुद्दाहरू समाधान गर्न चाहन्छौं।” चिनियाँ अधिकारीहरूले स्वीकार गरेका छन् कि उनीहरूले सम्झौतामा यी देशहरूसँग समर्थन मागेका थिए तर सायद यसमा केही कमी थियो।

फिजीका लागि चिनियाँ राजदूत छियान बोले सुवामा भने, ‘हामीले १० देशबाट सामान्य समर्थन पाएका छौं, तर केही मुद्दाहरूमा चिन्ता पक्कै छ। यी कागजातहरूमाथि पछि छलफल गर्ने सहमति भएको छ।’

यसैबीच चीनका विदेशमन्त्री वाङ यीले यो सम्झौता नभए पनि चीनको बेल्ट एण्ड रोड परियोजनाका बारेमा यी १० देशबीच सहमति भएको घोषणा गरेका छन् । ‘दुवै पक्षबीच छलफल जारी रहनेछ,’ उनले भने । वाङ यीले चीनको नियतलाई लिएर चिन्तित देशहरूलाई यसबाट विचलित नहुन आग्रह गरे।

यो पूरै प्रस्ताव अहिलेसम्म सार्वजनिक नभएको तर मिडियामा लिक भएको छ । यस क्षेत्रमा चीनको यो कदमप्रति पश्चिमी देशहरूले असन्तुष्टि जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले दक्षिण प्रशान्त क्षेत्रका देशहरूलाई कम पारदर्शिताका साथ अस्पष्ट सम्झौताहरूबाट टाढा रहन आग्रह गरेको छ।

चीनले यस क्षेत्रमा आफ्नो क्षेत्र विस्तार गर्न खोजिरहेको अस्ट्रेलियाले जनाएको छ । अष्ट्रेलियाका नयाँ विदेशमन्त्रीले यस्ता सम्झौताको नतिजाबारे चेतावनी दिएका छन् । तर, अधिकांश देश चीनसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन इच्छुक छन् ।

उनीहरू चीन, अमेरिका, अष्ट्रेलिया र बेलायतसँगको सम्बन्धलाई सन्तुलनमा राख्न चाहन्छन् । यससँगै जलवायु परिवर्तनको खतरा र आर्थिक समस्यामा पनि उनीहरूको ध्यान केन्द्रित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *