अस्पतालले अमानवीय व्यवहार गरेको भन्दै मनिपालका कर्मचारी आन्दोलित

डिसी नेपाल
२४ जेठ २०७९ ११:३३

पोखरा। पोखराको मनिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन्।

यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मनिपालमा आन्दोलन हुन्छ। सच्चिने सहमति हुन्छ, तर कार्यान्वयन हुँदैन । पछिल्लो पाँच दिनयता यहाँका कर्मचारी सुत्केरी र किरिया बिदा माग्दै धर्नामा छन्। कर्मचारी र चिकित्सकहरूको साझा संगठनहरू सम्झौताअनुसारको सुविधा माग गर्दै आन्दोलन थालेका हुन्।

किरिया र सुत्केरी बिदा दिनुपर्ने, यसअघिको सम्झौता र श्रम ऐनअनुसार उपदान र सुविधा दिनुपर्नेलगायत उनीहरूको माग छ। ‘अस्पतालले सुत्केरी र किरिया बिदासमेत नदिनु भनेको महापाप नै हो। ६-७ वर्षदेखि कर्मचारीलाई करारमा राखेर बिदा घटाउने, तलब स्केल घटाइएको छ। यो सरासर ठगी हो,’ कर्मचारी अमृत पौडेलले भने, ‘एक वर्षअगाडि श्रम कार्यालयको रोहवरमा अस्पताल प्रशासनसँग सम्झौता भएको छ। तर त्यसलाई कार्यान्वयन गरेको छैन। मागहरू सामान्य छ तर मानवअधिकारसँग जोडिएको छ। अति नै गरेको भएर हामी धर्नामा उत्रिनुपरेको हो।’

समस्या समाधान गरिदिन जिल्ला प्रशासन र श्रम कार्यालयसँग पनि कर्मचारीहरूले आग्रह गरेका छन्। श्रम कार्यालय र प्रशासनले दिएको निर्देशनसमेत नमानेको स्वतन्त्र कर्मचारी संघका अध्यक्ष नवराज भण्डारीले बताए। पुराना कर्मचारीलाई पाखा लगाएर नयाँ कर्मचारी करारमा नियुक्त गर्ने परम्परा बढेको उनले बताए। ‘भइरहेका कर्मचारीलाई निरुत्साहित गर्न करारका फ्रेस कर्मचारी राखिएको छ। यसबाटै नियत प्रष्ट हुन्छ नि,’ उनले भने, ‘रस छउन्जेल चुस्ने र पछि फ्याँकिदिने काम भएको छ । यसको अब नियमित प्रतिरोध गर्छौं।’ मनिपालका करिब साढे चार सय कर्मचारी दैनिक धर्नामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *