विज्ञान र प्रविधिको विकासविना समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

डिसी नेपाल
९ असार २०७९ १९:२२

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान र प्रविधिको विकासविना मुलुकको समृद्धि सम्भव नरहेको बताएका छन् । जनकपुरधाममा आजदेखि सुरु भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै विकास र समृद्धिको मूलआधार भएकाले यसको विकासविना मुलुक समृद्ध हुन नसक्ने बताएका हुन् ।

समाजमा व्यापक रहेको गरिबी र बेरोजगारीको अन्त्यका लागि प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिदै उनले विकास र समृद्धिका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकारले आफ्नो क्षमताले भ्याएसम्म कामकाजलाई अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले राज्यको केन्द्रिकृत मानसिकताका कारण विज्ञान र प्रविधिको यथोचित विकास हुन नसकेको आरोप लगाए । विज्ञान प्रविधिको विकासलाई गति दिन प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण गर्न लागेको मुख्यमन्त्री राउतको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । राष्ट्रिय युवा परिषद्ले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यसपटक मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिएको छ ।

नयाँ वैज्ञानिक आविष्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सम्मेलनमा सातवटै प्रदेशका करिब १५० जना सहभागिता रहेकोे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। जनकपुरधामको मुझेलियास्थित होटल राजदरबारमा दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानकर्ताको सहभागिता उपाध्यक्ष बस्नेतले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *