लमजुङका भूमिहीन नागरिकहरूलाई निस्सा वितरण

डिसी नेपाल
२४ असार २०७९ १९:०७

लमजुङ । राष्ट्रिय भूमि आयोग लमजुङले पूर्वी लमजुङ दोर्दी गाउँपालिकाका भूमिहीन नागरिकलाई निस्सा वितरण गरेको छ । उक्त आयोगले दोर्दी गाउँपालिकाअन्तर्गत जग्गा प्राप्तिका लागि निवेदन दिएका निवेदकलाई निस्सा वितरण गरेको हो ।

राष्ट्रिय भूमी आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीको उपस्थितिमा सम्बन्धित परिवारलाई अभिमुखीकरणसहित निस्सा वितरण गरिएको छ । गाउँपालिकाअन्तर्गत तीन सयभन्दा बढी परिवारलाई निस्सा वितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आयोगले यसअघि अव्यवस्थित ढंगले बसोबास गर्ने, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी गरी तीन प्रकृतिको लगत संकलन गरेको थियो । भूमिसम्बन्धी समस्या समाधान आयोगका इकाईमार्फत निवेदन संकलन गरिए पनि लालपुर्जा प्राप्तिका प्रावधानहरूबारे बुझाइ कम भएकोले अभिमुखीकरणसमेत गरिएको अध्यक्ष अधिकारीले बताए ।

सुकुम्वासीहरूको अवस्था अध्ययन गर्दै लालपुर्जा प्रदान गर्नको लागि भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ बमोजिम अघिल्लो सरकारले सुकुम्वासी आयोगको गठन गरेको थियो । तत्कालीन समयमा जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि काम सुरु भएसँगै १२ सय बढी निवेदन परेका थिए ।

सरकार फेरिएसँगै ०७८ साउन १९ गते सो आयोग खारेज भएको थियो । वर्तमान सरकारले सोही समस्या समाधानका निम्ति पुनः राष्ट्रिय भूमि आयोग गठन गरी काम अघि बढाएको हो । आयोगलाई सुकुम्वासी र अव्यवस्थित ढंगले बसोबास गरेकाहरूको तथ्यांक संकलन गर्ने र उनीहरूलाई लालपुर्जा वितरण गर्ने जिम्मेवारी रहेको छ ।

जिल्लामा हालसम्म संकलन भएका निवेदनहरूमा स्थानीय तहको सिफारिसअनुसार आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको आयोगले जनाएको छ ।

भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने कार्यलाई व्यवस्थित गर्ने प्रयोजनको लागि ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित ढंगले बसोबास गर्ने स्थानीय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि, २०७७’ जारी भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *