जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको होः मुख्यमन्त्री पाण्डे

डिसी नेपाल
२९ असार २०७९ २१:४१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनावादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकलसाँझ’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले कम्युनिष्टले जनता जगाउने क्रममा जनवादी गीतको प्रयोग गरिएको र यही गीतले जनता जाग्दै व्यवस्था परिवर्तनसम्मको अवस्था सिर्जना हुँदा सोही क्रममा आफू मुख्यमन्त्री भएको जनाए ।

जनताको वास्तविकता बोक्ने गरेको जनवादी गीतहरुले सामाजिक र सांस्कृतिक क्रान्ति भएको उनको भनाइ छ । सोही प्रेरणाका आधारमा कम्युनिष्ट नेता ठाँउमा पुग्दा गर्ने रहेछन् भन्ने विश्वास जनतालाई दिलाउनका लागि समाजवादी वडा कार्यक्रमको थालनी गर्न लागेकोसमेत उनले बताए ।

प्रदेश सरकारले समाजमा पिछडिएकाका लागि छानाको व्यवस्था गरिदिने बताउँदै उहाँले साउनदेखि नै वनकरियाको घर बनाउन सुरु गरिने जानकारी दिए।

आजको एकलसाँझ चार दशकभन्दा लामो समयदेखि अनवरतरूपमा जनताका पक्षमा गीत गाउँदै आएका जीवन शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति भएको हो । शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ गीत गाउँदै मुख्यमन्त्री पाण्डेसहित सहभागी प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि र साहित्यकारलाई आफूसँगै नचाएका थिए । दर्जनौँ गीत प्रस्तुत गर्दै गायक शर्माले ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई सिसाको महल’लगायतका गीत प्रस्तुत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *