करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रिया सेवा बन्द

डिसी नेपाल
४ साउन २०७९ ११:१९

चरीकोट। दोलखाको पशुपति चौलागाईँ स्मृति प्रदेशिक अस्पतालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ। बागमती प्रदेश सरकार मातहत रहेको प्रदेशस्तरीय सो अस्पतालमा कार्यरत करार कर्मचारीको यो महिनादेखि म्याद थप नहुँदा शल्यक्रियासहित विशेषज्ञ सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्ति न्यौपानेले जानकारी दिए।

यही साउन १ गतेदेखि नै शल्यक्रिया सेवा बन्द भएको हो। पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतलामा ७२ कर्मचारी कार्यरत रहेकामा नौ जना मात्रै स्थायी स्वास्थ्यकर्मी छन्। तीमध्ये दुई जना अध्ययन बिदामा छन्। अस्पतालमा सात कर्मचारी मात्र हाल कार्यरत छन्। कार्यरत ६३ करार कर्मचारीको म्याद नवीकरण नगर्न अस्पताललाई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको छ।

अस्पतालले हालसम्म भीमेश्वर नगरपालिकासँगको समन्वयमा अस्पतालबाट प्रदान गरिने सबै सेवा निःशुल्क प्रदान गर्दै आएको थियो। बिरामी कुरुवालाई समेत खाना अस्पतालले नै निःशुल्क उपलब्ध गराउँदै आएको थियो। एकैपटक ६३ कर्मचारीको म्याद थप नहुँदा अस्पतालबाट प्रदान गरिने सेवा प्रभावित बनेको छ। अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी न्यौपानेले बताए।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत अस्पतालमा कर्मचारीका विषयमा वैकल्पिक व्यवस्था नगरी एकैपटक सबै हटाउन निर्देशन आएपछि व्यवस्थापनमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर केसीले बताए। साउन १ गतेदेखि सबै करारका कर्मचारीले अस्पताल छाडिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *