मालपोत लमजुङले उठायाे एक बर्षमा १० करोड राजस्व

डिसी नेपाल
१७ साउन २०७९ १४:५०

लमजुङ। मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँँ बढी राजस्व संकलन गरेकाे छ।

आर्थिक वर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन गरेकाे मालपोत कार्यालय लमजुङले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा भने १० करोड ३४ लाख १८ हजार ४६ रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो।

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा विभिन्न शीर्षकमा भएको कारोबार तथा सेवा शुल्कमार्फत राजस्व संकलन भएको हो। कार्यालयका अनुसार आर्थिक वर्षमा सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट राजस्व संकलन भएको छ। घरजग्गा लिखत दर्ताबाट मात्र ६ करोड २९ लाख ६५ हजार दुईसय ७९ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।

मालपोत कार्यालय लमजुङमा जम्मा भएको राजस्व रकममध्ये पुँजीगत लाभकर संघीय सरकारमा पठाउने प्रावधान छ । सोबाहेक पुर्जा धितो, रोक्का, सम्शाेधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत शीर्षकको राजश्व रकम प्रदेश सरकारमा पठाउने प्रावधान छ।

यसैगरी रजिष्ट्रेशन शुल्कअन्तर्गतको राजस्व रकममध्ये कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ। सोबाहेक बाँकी ६० प्रतिशत रकम स्थानीय सरकारमा पठाउने प्रावधान बमोजिम सम्बन्धित स्थानीय तहका सेवाग्राहीको आधारमा जिल्लाका आठवटै स्थानीय तहमा पठाएको कार्यालयले जनाएको छ।

एक वर्षको अवधिमा विभिन्न स्थानीय तहबाट आएका घरजग्गासम्बन्धी कारोबारबाट उक्त राजस्व रकम संकलन भएको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए।

गत आर्थिक वर्षमा मात्रै दुई हजार नौ सय १९ वटा दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा पुँजीगत लाभकरतर्फ दुई करोड ६२ लाख ५६ हजार तीन सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी, धितो रजिष्ट्रेसनतर्फ एक करोड ३९ लाख ३० हजार ६ सय २५ रुपैयाँ राजस्व संकलन भएको छ।

सोबाहेक गत आर्थिक वर्षमा नामसारीतर्फ २३ लाख ६ सय २५ रुपैयाँ राजस्व संकलन भएको छ भने पुर्जा बिक्रीबाट ८३ हजार तीन सय २५ रुपैयाँ, विलम्ब शुल्कबाट तीन लाख आठ हजार ६ सय १५ रुपैयाँ, रोक्का प्रतिलिपि दस्तुर बापत तीन लाख सात हजार पाँच सय ३० रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा महिला, दलित र वृद्ध छुटअन्तर्गत ९५ लाख ४६ हजार सात सय ९३ रुपैयाँ राजस्व छुट भएको छ। कार्यालयका अनुसार ९३ लाख २१ हजार दुई सय ३४ रुपैयाँ महिला छुट राजस्व रहेको छ भने एक लाख ४९ हजार २४ रुपैयाँ दलित र ७६ हजार पाँच सय ३५ रुपैयाँ वृद्ध छुट राजस्व रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *