जातीय विभेद मानवता विरोधी कार्य होः प्रदेश प्रमुख परियार

डिसी नेपाल
४ भदौ २०७९ २१:१७
36
Shares

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद २१औँ शताब्दीको मानवता विरोधी कार्य भएको बताएका छन् । समता फाउण्डेशन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली दलित युवा सम्मेलनको उद्घाटनमा उनले गणतन्त्र स्थापना भएदेखि पनि दलित तथा सिमान्तकृत समुदायमाथि थुप्रै विभेदकारी घटना भएको बताए ।

उनले भने, “कर्णाली प्रदेशमा जात व्यवस्था अन्त्यका लागि युवाको सञ्जाल मजबुत बन्नुपर्छ । न्यायपूर्ण, समतामुखी र समावेशी लोकतान्त्रिक पद्दतितर्फ समाजलाई रुपान्तरण गर्न क्रियाशिल हुनुपर्छ ।” जात व्यवस्था अन्त्यको लागि नेपालको संविधानको धारा २४ र ४० मा व्यवस्था भए बमोजिम व्यवहारमा लागू गराउन दलित तथा गैरदलित युवाले निरन्तर अभियान चलाउन जरुरी रहेको उनले बताए । विभेद अन्त्यका निम्ति राज्यले अभिभावकत्वको भूमिका र अन्य सङ्घ÷संस्थासहित नागरिक समाज तथा दलित युवाले रुपान्तरणको अभियानमा सहयोग पु¥याउनुपर्नेमा उनको जोड थियो ।

सम्मेलनमा उनले कर्णाली प्रदेशका २३ प्रतिशत दलित समुदायको अधिकारको सुनिश्चितता गर्न प्रदेश प्रमुखको हैसियतले प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता गरे । आयोजक समता फाउण्डेशनका कर्णाली प्रदेश अधिकृत एवं अधिवक्ता मंगलसेन सार्कीले जात व्यवस्था र यसबाट सृजित समस्याविरुद्ध दलित युवालाई वकालतीका लागि सक्षम बनाउन, राज्य व्यवस्थासँग कसरी जवाफदेही हुने भन्ने कुरामा सशक्तीकरण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताए ।

अधिकृत सार्कीका अनुसार दलित युवाको सञ्जाल निर्माण गर्नुका साथै भोलि भदौ ५ गते दलित अधिकारका सवाल समाहित घोषणा पत्र जारी गरिनेछ । सम्मेलनमा कर्णालीका १० जिल्लाका एक सय ५० दलित युवाको सहभागिता रहेको छ । उहाँका अनुसार सम्मेलन आइतबार सम्पन्न हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *