युनाइटेडले लिभरपुललाई हरायो
काठमाडौं। जाडोन सान्चो र मार्कुस रासफोर्डको समान एक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ। सोमबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा इरिक टेन हागको टोलीले लिभरपुलमाथि २-१ को जित निकाल्यो।
पहिलो दुई खेलमा ब्राइटन र ब्रेन्टफोर्डलाई क्रमश २-१ र ४-० को नतिजा सुम्पिएका कारण युनाइटेडमाथि दबाब बढेको थियो। लिभरपुलविरुद्धको खेलमा टेन हागले स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र ह्यारी मग्वायरलाई बेन्चमै राखेका थिए। जुन निर्णय जित सहित तीन अंक जोड्न महत्वपूर्ण साबित बन्यो।
१६ औं मिनेटमा सान्चोले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो। ५३औं मिनेटमा रासफोर्डले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भने भएन।
योर्गान क्लोपको टोली भने जारी सिजन लगातार तीन खेलमा जितविहिन रह्यो । पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीसँगै अंक बाँडेको लिभरपुल दोस्रो खेलमा क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकिएको थियो।
युनाइटेडले चौथो खेलमा शनिबार साउथहमटनको भ्रमण गर्नेछ भने लिभपुलले बर्नामाउथलाई आतिथ्य गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment