महोत्तरीमा बाढीको बितण्डा, सयौँ बिघा धान खेत डुबानमा (तस्वीरसहित)

डिसी नेपाल
२१ भदौ २०७९ १२:३९

महोत्तरी। बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित् छन्। रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ।

अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि सरस्वती चिन्तित् बनेकी हुन्। वाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ। बर्षात्को कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँछिन्।

थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिदै गएको छ। ‘अब खै यसपालि त भोकमारी नै लाग्ला जस्तो छ,’ उनले भनिन्। सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र हैन एकडारा –६ गनरापुरामा कयौँ घरसमेत बाढीको चपेटामा परेका छन्।

गनरापुराका कै रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेका छन्। कुलोसँगै जोडिएको उनको घर डुमानमा परेको छ। पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजरा गरिरहेको दासले बताए।

बाढीले खेत गेग्रानमा परिणत भएका छ। लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन्। बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ। ‘सानो वर्षापछि आएको बाढीले त बितन्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० बर्षिय सुरदेव यादव चिन्ता व्यक्त गर्छन्। अघिल्लो बर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्‍याएको थियो।

हामीलाई यो कुलोले निक्कै समस्या बनाउदै आएको छ। बर्सेनि यही कुलाको कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्छन्। कुलोमा आउने वाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी, थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन्।

यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार जोखिममा छन्। स्थानीय सरकारले आफूहरुको समस्यालाई बेवास्ता गरेको पीडितहरुको गुनासो छ। तर, उनीहरुको समस्याप्रति आफूहरुको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *