पूर्वमन्त्री पोखरेल भन्छन्- साहुकारले पीडितका परिवारबाट नाजायज फाइदासमेत उठाइरहेका छन्

डिसी नेपाल
२६ भदौ २०७९ ९:४९

महोत्तरी। पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरब्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताएका छन्। शनिबार भंगाहा नगरपालिकामा मिटरव्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनल यस्तो बताएका हुन्।

उनले साहुकारहरुले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरुको विषयमा आवाज उठाएको बताए। ‘हामीले आवाज उठाएपछि सरकारले मिटरव्याजीलाई अपराधीको सूचीमा राखेको छ,’ उनले भने, ‘मिटरब्याजीहरूको अत्याचारको विषयमा डटेर लागिपरेका छौं।’

नेता पोखरेलले अदालतको फैसलाप्रति पनि प्रश्न उठाए। अदालतबाट फैसला गर्दा पीडित झन् पीडित भएको भन्दै उनले ध्यानाकर्षण गराए। उनले अदालतको फैसलाका कारणले पीडितहरू साहुकारबाट भाग्नुपर्ने अवस्था आएको भन्दै अदालतलाई निष्पक्ष फैसलाको लागि आग्रह गरे।

मिटरव्याजीहरूको विषयमा सदन र मिडियाबाट निक्कै आवाज उठेपछि सरकारले अहिले देशैभरिका पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ। मिटरव्याजी पीडित संघर्ष समितिका अनुसार देशभर १०औं हजार पीडित भए पनि अहिलेसम्म २३ सयले मात्र आवेदन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *