महारानी एलिजावेथ द्वितियामा श्रद्धासुमन

कपिल लोहनी
२९ भदौ २०७९ ७:१२

यो हप्ता विश्वकै सबैभन्दा बढी उमेरकी राष्ट्राध्यक्ष तथा बेलायतमा सबैभन्दा बढी समयसम्म राज्य गर्ने महारानी एलिजोवेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भयो। ७० वर्षसम्म बेलायतकी महारानीको रूपमा रहेकी एलिजावेथ द्वितिया विश्वमा नै फ्रान्सका राजा लुइस सोह्रौँ पछि आजसम्म सबैभन्दा बढी शाषन गर्ने महारानी हुन्।

उनले गद्दी आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा विश्वभर २ लाख भन्दा बढी कार्यक्रमहरूका साथ गत जुन महिनामा प्लेटिनम जुब्ली मनाइएको थियो। नेपालमा पनि नेपाल ब्रिटेन सोसाइटीले केही हप्ता अघि एक भव्य कार्यक्रमको आयोजना गरेको थियो।

नेपालको यो संस्थाकी अध्यक्ष श्रीमती प्रतिमा राणा पाँडे एमबिई हुन् भने लेखक यसको महासचिव र भाइ सञ्जिवकुमार पाण्डे सचिव छौँ। २५ वर्षको उमेरमा रानी हुँदा उनले राष्ट्रको नाममा दिएको आफ्नो प्रथम सन्देशमा आफू लामो वा छोटो जति समयसम्म बाँचे पनि बाँकी जीवन राष्ट्र र जनताको सेवामा व्यतित गर्ने प्रण गरेकी थिइन्।

आखिर उनले झण्डै एक शताब्दी बाँचेर आफ्नो त्यतिबेलाको प्रणलाई पूरा पनि गरिन्। निक्कै शिष्ट, विनोदी, सरल र सोझी महारानी उनले वास्तवमा नै आफ्नो लामो जीवनभर कहिल्यै पनि विवादास्पद कार्य गरिनन् र सधैँ नै आफ्ना जनता तथा पुरै विश्वमा एक अति नै लोकप्रिय अभिभावकको रूपमा रहन सफल भइन्।

२१ अप्रिल १९२६ मा बेलायतको राजधानी लण्डनमा जन्मेकी एलिजावेथ अलेक्जेन्ड्रा म्यारी राजा जर्ज छौठौँकी सबैभन्दा जेठी छोरी थिइन्। उनी सन् १९३६ मा १० वर्षको उमेरमा राजगद्दीकी उत्तराधिकारी घोषित भइकी थिइन्। उनको विवाह ग्रीस र डेनमार्कका राजकुमार फिलिप माउण्टवेटनसँग सन् १९४७ मा भएपश्चात यो जोडीले विश्वकै आदर्श जोडीको रूपमा ७३ वर्षसम्म सँगै जीवन बिताएको थियो।

तर एक वर्ष अघि यानी अप्रिल २०२१ मा ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएपछि भने महारानी एलिजावेथले आफूलाई निक्कै एक्लो महसुस गर्न थालेकी थिइन्। उनी सितिमिती विचलित हुने खालकी महिला भने पक्कै थिइनन्। किनकी उनले आफ्नो जीवनकालमा परिवारभित्र मात्र पनि कैयन् उथलपुथल देखिन् तर प्रत्येक घटनालाई उनले ज्यादै सहज ढङ्गले सामना गरेकी थिइन्।

२ वर्ष अघि कोभिडको कारण थलिएको विश्व र खासगरी बेलायतका जनताहरूलाई सन्देश दिँदै महारानी एलिजावेथले स्थिति सधैँ उस्तै नरहने र मावनजातिले केही समय पश्चात फेरि पनि आफन्तहरूको साथमा खुला आकाशमा घुम्न पाउने भएकोले हौसला राख्न आग्रह गरेकी थिइन्। तर जन्मेपछि मर्नै पर्ने प्राकृतिक नियमको कारण आफ्ना पतिको निधन भएको डेढ वर्ष नपुग्दै उनले पनि ९६ वर्षको पाको उमेरमा यो संसारबाट बिदा लिइन्।

बेलायतकी महारानीको लोकप्रियता आफ्नो देशमा मात्र नभइ विश्वभर नै रहेको छ। खासगरी ७० वर्षको उनको शासनकालमा उनले ११७ वटा मुलुकको भ्रमण गरेकी थिइन्। यस्ता भ्रमण गर्दा उनले करिव १६ लाख किलोमिटरको यात्रा तय गरेकी रहिछन्। भन्नु नै पर्दा गएको एक शताब्दिमा विश्वमा ठूलो नाम छोडेर जाने लेनिन, चर्चिल, गान्धी, केनेडी, माओ, माण्डेला आदि जस्तै महारानी एलिजावेथ पनि अग्र पंक्तिमा पर्ने राजनेत्री थिइन्।

 

सन् १९५२ मा रानी घोषित हुँदा महारानी एलिजावेथ आफ्ना पति ड्युक अफ एडिन्बरा राजकुमार फिलिपसँग केन्याको हनिमून भ्रमणमा थिइन्। त्यहाँको जङ्गल सफारीमा गएकी उनी रुखमा रहेको मचानमा रात बिताउन जाँदा राजकुमारी थिइन् भने भोलिपल्ट बिहान मचानबाट तल ओर्लिँदा महारानी भइसकेकी थिइन्।

उनको राज्यारोहण ताका उनी विश्वभरका ३ दर्जन भन्दा बढी कमनवेल्थ राष्ट्रकी महारानी थिइन्। तर उनको निधनको समयसम्म आइपुग्दा यो संख्या घटेर १४ मुलुककी रानी र ५६ मुलुककी राष्ट्रध्यक्षमा सीमित हुन पुग्यो। यसो हुनुमा उनको लोकप्रियता घटेको नभई ती पूर्व बेलायती साम्राज्य भित्रका राष्ट्रहरूले बेलायतसँगको सल्लाहमा नै गणतन्त्रको घोषणा गरेकाले हो।

अब यो विरासदलाई जोगाएर राख्ने जिम्मेवारी नयाँ राजा चाल्र्स तृतीयको काँधमा पर्न गएको छ। तर समयक्रममा यो संख्या घट्दै पनि जान सक्छ। महारानी एलिजावेथ द्वितियाको लोकप्रियता र गतिशीलताले गर्दा टिकेर रहेको विश्वका विभिन्न राष्ट्रको बेलायती राजतन्त्रात्मक प्रणालीलाई जोगाएर राख्न राजा चाल्र्सले निक्कै गहन भूमिका निभाउनु पर्ने अवस्था छ आजको नयाँ युगमा।

बेलायतमा नै पनि पुराना पिँढीका जनतामा जति राजतन्त्र प्रतिको आस्था र ममता छ, त्यो आजका नयाँ पिँढीमा त्यति देखिएको छैन। त्यसैले पनि राजसंस्था र बेलायती सरकार दुवैले आफ्नो यो पुरानो शासन प्रणाली र संस्कारलाई जोगाउन विशेष प्रयत्न गर्नु जरुरी छ।

महारानी एलिजावेथ द्वितियाले आफ्नो शासनकालको दौरान २१,००० भन्दा बढी विभिन्न समारोहमा भाग लिएकी थिइन्। यसलाई वर्ष वर्षमा भाग लगाउने हो भने उनले हरेक वर्ष सालाखाला ३०० कार्यक्रमहरूमा भाग लिएकी रहिछन्।

आफ्नो उमेर र स्वास्थ्यले भ्याएसम्म उनी कमनवेल्थ राष्ट्रहरू र बेलायतका मित्र राष्ट्रहरूको भ्रमण आफ्ना अति मिलनसार पति राजकुमार फिलिपको साथमा गरिरहन्थिन्। पछि उनको व्यस्तता बढेसँगै राजकुमार फिलिप र राजकुमार चाल्र्सले यस्ता भ्रमणहरू गरेर उनको प्रतिनिधित्व गर्ने गरेका थिए।

युवावस्थादेखि नै उनले ज्यादै मन पराएको स्कटल्याण्डको बाल्लाटामा अवस्थित बालमोरल किल्ला भित्रको राजप्रासादमा नै उनले अन्तिम श्वास फेरिन्। उनको शवलाई अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ पुगेका स्थानीय व्यक्तिहरू मध्येका धेरै वृद्धवृद्धाहरू उनी त्यहाँ जाँदा हुने गरेका भेटहरूको सम्झना गर्दै विलाप गरेका दृश्यहरू टेलिभिजनमा देखिन्थे।

उनको निधनको तेस्रो दिन उनको पार्थिव शरीर ६ घण्टाको मोटर बाटोबाट एडिन्वरा पुर्‍याइँदा बाटोमा पर्ने शहर र वस्तीहरूमा निक्कै ठूलो भिडले उनी माथि अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको थियो। त्यसको भोलिपल्ट एडिन्बराका जनतालाई श्रद्धाञ्जली अर्पण गर्न दिने कार्यक्रम अनुसार उनको पार्थिव शरीरसहितको शवयात्रा र नगर परिक्रमामा राजा चाल्र्स पनि पैदल यात्रामा निस्केका थिए।

अब उनको शवलाई हवाइमार्गबाट लण्डन पुर्‍याएर त्यहाँ केही दिनको विश्राम र भव्य श्रद्धाञ्जलीको कार्यक्रम पश्चात बेलायती राजपरिवारको निम्ति छुट्टाइएको शाही चिहानस्थलमा समाधिस्त गरिने छ।

उनकी जिजुहजुरआमा महारानी भिक्टोरियाको ८१ वर्षको उमेरमा ६३ वर्षको शासन अवधि पश्चात सन् १९०१ मा लण्डनको दक्षिणमा अवस्थित टापु आयल अफ विटमा देहान्त हुँदा केही दिनको जहाज र रेलको यात्रा पश्चात उनको पार्थिव शरीर लण्डन पुर्‍याइएको थियो।

सञ्चारको राम्रो विकास नभएको त्यो बेलामा उनको निधनको खवर विश्वमा मात्र होइन पुरै बेलायतमा पनि ढिलो पुगेको थियो। तर आज विश्वमा विज्ञान तथा प्रविधिले धेरै विकास गरिसकेकोले रानी एलिजावेथ द्वितियाको निधनको खवर तुरन्तै विश्वभर पुग्यो भने उनको शवयात्रामा समेत विश्वभरका मानिसले डिजिटल प्रविधिमार्फत भाग लिन सके।

बेलायतकी महारानीको लोकप्रियता आफ्नो देशमा मात्र नभइ विश्वभर नै रहेको छ। खासगरी ७० वर्षको उनको शासनकालमा उनले ११७ वटा मुलुकको भ्रमण गरेकी थिइन्। यस्ता भ्रमण गर्दा उनले करिव १६ लाख किलोमिटरको यात्रा तय गरेकी रहिछन्।

भन्नु नै पर्दा गएको एक शताब्दिमा विश्वमा ठूलो नाम छोडेर जाने लेनिन, चर्चिल, गान्धी, केनेडी, माओ, माण्डेला आदि जस्तै महारानी एलिजावेथ पनि अग्र पंक्तिमा पर्ने राजनेत्री थिइन्।

उनमा भएको एक प्रकारको शालिनता, धैर्य धारण गर्ने शक्ति, मनमोहक मुस्कान, ठट्टा गर्ने आकर्षक तवर तथा उनको खुलापनले गर्दा मुलुकभित्रका गणतन्त्र विरोधी वा बेलायतबाट अलग हुन खोज्ने राज्यका नेता हुन् अथवा बेलायतको साम्राज्यवाद र पुँजीवादको विरोध गर्ने राष्ट्र प्रमुख नै किन नहुन् सबै उनको सामु खुला दिलले झुक्ने गर्दथे। यति मात्र होइन, उनको यस्तै आकर्षणले गर्दा नै आज विश्वभरका मानिसहरू उनको निधनमा दुखित भएका छन्।

२५ वर्षकी राजकुमारी एलिजावेथको सन् १९५२ मा राज्यारोहण हुँदा प्रधानमन्त्री विन्स्टन चर्चिल ७८ वर्षको वृद्ध अवस्थामा पुगिसकेका थिए भने आज सबैभन्दा बढी उमेरमा राजा भएका ७३ वर्षका राजा चाल्र्स तृतीयको राज्यारोहणमा केही दिन अघिमात्र प्रधानमन्त्रि बनेकी ४७ वर्षिया लिज ट्रस सरकार प्रमुख छिन्।

महारानी एलिजावेथले आफ्नो शासनकालमा १४ अमेरिकी राष्ट्रपति र १४ बेलायती प्रधानमन्त्रीसँग सहकार्य गरिन् भने उनको शासनकालकी १५औँ बेलायती प्रधानमन्त्री लिज ट्रसलाई दर्शनभेट दिएर वधाई दिएको २ दिन पछि नै महारानीको दुखद निधन भयो।

नेपाली जनता र गोर्खाली फौजलाई निक्कै माया गर्ने महारानी एलिजावेथकै सुझावमा बेलायती सरकारले महारानी र उनका दरवारहरूको सुरक्षाका निम्ति व्रिटिश गोर्खा फौजलाई पनि राख्ने बन्दोवस्ती मिलाएको थियो भने महारानीले नेपालको दुई चोटी राजकीय भ्रमण पनि गरेकी थिइन्।

पहिलो भ्रमण सन् १९६१ मा राजा महेन्द्रको निमन्त्रणामा र दोस्रो भ्रमण सन् १९८६ मा राजा वीरेन्द्रको निमन्त्रणामा। त्यस्तै राजकुमार फिलिप र चाल्र्सले पनि पटक पटक नेपालको भ्रमण गरेका थिए। राजकुमार चाल्र्सको नेपाल भ्रमणको क्रममा एकचोटी धनकुटा जाने क्रममा उनले भेडेटारबाट धरान, धनकुटा र सेरोफेरोको दृश्यावलोकन गरेको डाँडोको नाम नै चाल्र्स प्वाइन्ट रहन गएको छ तथा त्यहाँ एक टावरको पनि निर्माण गरिएको छ।

राजकुमारी एन र तत्कालीन राजकुमार ह्यारीले पनि केही वर्ष पहिले नेपालको भ्रमण गरेका थिए। यसरी दक्षिण एशियामा नै सबैभन्दा पुरानो २०६ वर्षको कुटनीतिक सम्बन्ध कायम भएका नेपाल र बेलायतका राष्ट्राध्यक्ष, राष्ट्र प्रमुख र उच्च पदस्थ पदाधिकारीहरूले एक अर्काको देशमा गर्ने गरेको सद्भावना भ्रमणको इतिहास पनि ज्यादै लामो छ भने बेलायतको सुरक्षाको निम्ति गोर्खाली सेनाले गरेको योगदान पनि अति नै विशाल र दुरगामी महत्व राख्ने खालको र अविश्मणीय छ।

बेलायतको लागि नेपाल सायद युरोप पछिको सबैभन्दा पुरानो मित्रराष्ट्र होला। त्यसैले पनि गणतन्त्र आइसकेको नेपालका जनतालाई आज महारानी एलिजावेथको निधन हुँदा समेत आफ्नै मुलुककी राजमुकुट पहिरिने रानीको निधन भएको महसुस भएको छ। विभिन्न सामाजिक सञ्जाल र समाचारहरूबाट पनि यो कुराको पुष्टि भएको छ।

२०६ वर्ष अघि बेलायतसँग युद्ध नै भएर हामीले आफ्नो ठूलो भूभाग गुमाउनु परेको भएता पनि त्यसपछि बनेको बेलायत र नेपालको विशाल मित्रतालाई कायम राख्न बेलायतको राजपरिवार र खासगरी महारानी एलिजावेथको पनि ठूलो योगदान रहेको छ। उहाँको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँकै पदचापमा हिँडिरहेका र नेपाललाई अति माया गर्ने नयाँ राजा चाल्र्स तृतियलाई वधाई छ।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *