जय नेपालमुनि टुकुचा

डिसी नेपाल
३१ भदौ २०७९ ६:५३
540
Shares

काठमाडौं। राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ। बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल हल प्रांगणमा उत्खनन् क्रममा टुकुचा फेला पारेको हो।

महानगरले गत १२ साउनमा ३५ दिने सूचना जारी गरेर ‘टुकुचा अतिक्रमण हटाउन’ निर्देशन दिएको थियो। सूचनाअनुसार ‘कसैले पनि संरचना नहटाएपछि महानगर आफैं टुकुचा खोजीका लागि डोजर’सहित फिल्डमा उत्रेको हो।

एक महिनायता महानगरले ‘अनधिकृत संरचना’ हटाउने अभियान जारी राखेको छ। खोला अतिक्रमणमुक्त बनाउने र दायाँबायाँ सडक कोरिडोर बनाउनेगरी बिहीबारदेखि अभियान चुस्त बनाइएको छ।

टुकुचा खोला पुरेर त्यसमाथि वर्षौंदेखि भवनलगायत संरचना बनाइएका छन्। महानगर टोली टुकुचा खोज्ने क्रममा डोजरसहित जय नेपाल हल प्रांगण पुगेको हो। टोलीले नक्साअनुसार गरेको ‘मार्किङ’ आधार बनाएर डोजर चलाउँदा हल परिसरमा १५ फिट खनेपछि टुकुचा खोला फेला परेको छ। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा सो क्षेत्रमा पुग्दा ‘गायब’ बनाइएको छ।

स्थानीय तथा सम्पदा संरक्षक क्षेत्रका अभियन्ताले ‘टुकुचा खोला पुरेर घर भवन बनाएको’ भन्दै टुकुचा संरक्षण गर्नुपर्ने माग उठाउँदै आएका छन्। महानगर प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले ‘टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ कोरिडोर बनाउने’ योजना रहेको बताए। उनका अनुसार टुकुचामा पानी बग्न चार मिटर छाडिने र बाँकी दायाँबायाँ चार/चार मिटरको करिडोर बनाइनेछ।

स्वकीय सचिव शाह ‘पाँच वर्षभित्र यो काम पूरा गरिने’ दाबी गर्छन्। यसका लागि ६ अर्ब बजेट रहेकोसमेत उनले जानकारी दिए। ‘अनधिकृत संरचना हटाउने अभियान’ जारी राखेको काठमाडौं महानगरले बुधबार मात्र १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको थियो।

नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको महानगरले जनाएको छ।

यसैगरी, २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना, ओभरल्यापिङ र सेडब्याक हटाएको पनि महानगरले जनाएको छ। बेसमेन्ट तथा जमिन तला पार्किङ रूपमा खाली गराइएकामा नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तलासमेत छन्। राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *