युवराज दीपेन्द्रका संगीत गुरु जसले देशका लागि बलिउड छाडेका थिए

कपिल लोहनी
५ असोज २०७९ ७:४२

सम्विधान दिवसको बिहान। मुलुकले ७० वर्षको समयान्तरमा तेस्रो जनआन्दोलन गरेर बनाएको सम्विधानमा समेत जनताको विश्वास हट्दै गएको अवस्था।

वर्षको एक दिन सार्वजनिक बिदा दिएर मनाउने एक साधारण दिवस भएको छ यो। सम्विधानको दायराभित्र बसेर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका वा कुनै पनि निकायले यो देशमा काम गरेको देखिँदैन आजकल। मुलुकलाई चौपट बनाउने मात्र होइन, मुलुक नै नरहने अवस्थाको सिर्जना जोडतोडका साथ हुँदैछ यहाँ। कुनै डर, त्रास या लज्जा नै छैन।

एक्काइसौँ शताब्दीमा पनि यति पुरानो, ठूलो र विशाल जनसंख्या भएको राष्ट्र आन्तरिक खिचातानी, द्वन्द्व, भष्टाचारको पराकाष्ठा र राजनैतिक नेताहरूको नालायकीपनाले गर्दा विश्वको नक्शाबाट नै विलिन हुने अवस्थाको तिव्र विकास हुँदै गएको छ।

जनता निरिह बनेर तमासा हेरिरहेका छन् भने विभिन्न थरीका जादुटुना र क्षणिक चमत्कारमा रमाइरहेका छन्। उता टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री र दुवै सदनका सभामुखहरू सम्विधान दिवसको औपचारिकता निभाउन एकै ठाउँमा भेला भएका भएता पनि कसैको कसैसँग सौहाद्रपूर्ण सम्बन्ध नभए जसरी चुपचाप बसेका र अन्य उच्च पदाधिकारीहरू पनि कार्यक्रमको समाप्तिकै प्रतिक्षामा रहेका जस्ता चाउरिएर बसेका।

मुलुकको प्रधानमन्त्रीको माइकमा बोल्दा समेत मलिन र बुझ्न नसकिने स्वर र प्रधानन्यायधीश आफ्नै सरकारी निवासमा कैद भएको र राजधानी टुकुचाको समाचार अपडेटमा नै रमाइरहेको अवस्था।

तर सेनाले सबै सुरक्षा निकायहरूको समन्वयसहित आफ्नो धर्म निभाएर सदाझैं मुलुकका राष्ट्रिय दिवसहरू भव्यतापूर्वक मनाउन सघाइरहेको। मुलुकको अवस्था जति नै जर्जर भएता पनि नेपाल टेलिभिजनले आफ्नो प्रत्यक्ष प्रशारणमार्फत  टुँडिखेलको कार्यक्रम जनता सामु पुर्‍याइरहेको।

जनताले सेना तथा प्रहरीका व्याण्डहरूले प्रस्तुत गरिरहेका जोशिला संगीत र कवाजको आनन्द लिँदै एकै छिन भएपनि मन भित्र रहेका तितामिठा अनुभूतिहरूलाई बिर्सिरहेको अवस्था। तर आज यो समारोहमा सेनाको व्याण्ड गुल्मको नेतृत्व गर्ने अति प्रतिभाशाली सहायक रथी अमूल कार्की देखिँदैनन्।

कारण, नाताले उनका साख्यै ससुरा, नेपाली सेनाको यो गौरवशाली व्याण्डलाई आजको यो उँचाईमा पु¥याउने धुरन्धर संगीतकार र वाद्यवादक तथा अमूलभन्दा पहिले धेरै धेरै वर्षसम्म सेनाको व्याण्ड प्रमुख भएर छाएका जर्नेल शुभबहादुर सुनामको सोही दिन सैनिक अस्पतालमा अचानक निधन हुन पुग्नु।

नेपालमा मात्र होइन, भारत, पाकिस्तान, दक्षिण एशियाका अन्य मुलुक, चीन, रुस, अमेरिका, बेलायत जहाँ त्यहीँ मुलुकको प्रतिष्ठा, खुशियाली र शोकको क्षण वा कुनै पनि समारोहमा मुटुको धडकन बढाएर रगत उम्लने र मन छुने सैनिक व्याण्ड नबजीकन कुनै राष्ट्रिय कार्यक्रम पनि सफल हुनै सक्दैन। विगत डेढ हप्तादेखि बेलायतमा महारानीको निधनको शोक मनाउन दिनहुँ सैनिक व्याण्डले विभिन्न प्रकारका धुन बजाएर जनतालाई सान्त्वना दिइरहेको छ।

बेलायतकी महारानीको अन्तिम संस्कार हुने दिन र नेपालमा सम्विधान दिवस मनाइने दिन एकै दिन परेको। यी यावत शुभ वा अशुभ कार्यहरूमा सेना र सुरक्षाकर्मी तथा उनका व्याण्ड नबजीकन धरै छैन।

नेपालमा विगत ५० वर्षभन्दा बढी समयसम्म यस्तै व्याण्डमा विभिन्न ओहदामा रहेर तथा विभिन्न देशमा व्याण्ड र संगीतकै लामो प्रशिक्षण लिएर अव्वल दर्जाका व्याण्ड मास्टरमा गनिन सफल भएका तथा नेपाली सेनाको व्याण्डलाई विश्वकै उत्कृष्ठमध्येको बनाउन सफल प्रख्यात संगीतकर्मी शुभबहादुरको अन्तिम संस्कारमा आजकै दिन आर्यघाटमा पनि विशाल रोदनका साथ व्याण्डको सलामी बज्नु र नेपाल आमाका यस्ता हुनाहार छोरालाई बिदा गरिनु कस्तो संयोगपूर्ण, नौलो र पिडादायी क्षण।

 अग्नीमा दहन भइरहेको शुभबहादुरको पार्थिव शरीरको सामु बसेर उनकै कालजयी सिर्जना तथा दिप श्रेष्ठद्वारा गाइएको गीत ‘हुँ यात्री, एउटा, रुमल्ली हिँड्ने, अँधेरी रातमा’को धुन स्याक्सोफोनमा बजाउँदा त्यहाँ उपस्थित मानिसहरू मात्र नभई विश्वभर अनलाइनमार्पmत हेरिरहेका दर्शक तथा अनुयायीहरूसमेत मन्त्रमुग्ध भएका थिए। सुन्नमा आए अनुसार एकजना अनुयायीले त अमूलको त्यो धुन सुनेर ‘शुभबहादुर चितामा निक्कै सन्तोषका साथ सुतिरहेको’ भान भएको प्रतिक्रिया पनि लेखेका थिए अरे।

आजभन्दा ७४ वर्ष अगाडि काठमाडौँमा जन्मेका शुभबहादुर सुनाम सानैदेखि एक अनुशासित व्यक्ति थिए। उनलाई संगीतमा लाग्न उनकै बुवा र बाजेले प्रेरणा दिएका थिए। ११-१२ वर्षको कलिलो उमेरमा नै नेपाली सेनाको व्याण्ड गुल्ममा व्वाईको रूपमा पसेर सेवा शुरु गरेका उनले जीवनभर सोही संस्थाको सेवा गरे।

नेपाली सेनाको व्याण्ड गुल्ममा नै व्याण्डवादनको प्रारम्भिक तालिम पाएर विशिष्टता हासिल गर्दै हुर्केका उनले भारतमा र पछि बेलायतको प्रख्यात ट्रिनिटी कलेज अफ म्युजिक, लण्डनमासमेत संगीतको उच्च शिक्षा हासिल गर्ने मौका पाए।

पूर्वीय र पश्चिमा संगीत दुवैमा माहिरता प्राप्त शुभबहादुरले नेपाली सेनाको व्याण्डको नेतृत्व गर्दा विश्वका प्रख्यात धुनहरूका साथै प्रख्यात नेपाली धुनहरू समेतमा व्याण्ड सदस्यहरूलाई पोख्त बनाए।

उनको यो प्रयासले नेपालमा मात्र होइन, विदेशका सेना र संगीतज्ञहरूले समेत नेपाली संगीतको गहिराई र मिठास कति रहेछ भन्ने कुराको भेउ पाए। उनी एक वाद्यवादक मात्र नभएर संगीतका गहन साधक भएको कुरा उनले सिर्जना गरेका पूर्वीय, पश्चिमा संगीत, समसामयीक, राष्ट्रिय, भक्ति, लोक, तथा फिल्म र नाटक तथा विज्ञापनका संगीतमार्फत प्रमाणित भएको हो।

उनका यस्तै सर्वगुणहरूबाट प्रभावित भएर नेपालका मुर्धन्य संगीतकारहरू अम्बर गुरुङ, गोपाल योञ्जन, नारायण गोपाल, नातीकाजी, शिवशंकर, दिव्य खालिङ आदि लगायत सम्पूर्ण संगीत, गीत, गायन, फिल्म तथा कलाका अन्य विधाका ज्ञाताहरू उनलाई ज्यादै मन पराउँथे। राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजा ज्ञानेन्द्रका समेत प्रियपात्र उनले युवराज दिपेन्द्रलाई पनि केही समय संगीतको प्रशिक्षण दिएका थिए।

ओमविक्रम विष्ट र सुक्मित गुरुङलाई मलेशियामा आयोजना हुने गोल्डेन काइट म्युजिक कम्पिटिशनमा आफ्नो संगीतमा सरिक गराउनेदेखि लिएर विभिन्न मुलुकमा नेपाली सेनाको व्याण्ड प्रदर्शन गर्ने टोलीको नेतृत्व सफलतापूर्वक गर्ने कार्यमा पनि शुभबहादुर कहिल्यै चुकेनन्।

तारादेवीका कैयन् कालजयी गीतहरू जस्तै ‘शुभकामना तिमीलाई’, ‘फुलै फुलको बास्ना तिमीलाई’, ‘निर्दोष तिम्रो पछ्यौरीमा’ आदिमा शुभबहादुरकै संगीत रहेको थियो। त्यस्तै मदनसिंह नेपाली र सुक्मित गुरुङको प्रख्यात गीत ‘रेलिमाई रेलिमाई रेलिमाई, लाहुरे दाईको रेलिमाई रेलिमाई’ र दिप श्रेष्ठको गीत ‘हुँ यात्री’मा पनि उनैले संगीत भरेका थिए। सबै प्रकारको संगीतको ज्यादै राम्रो अध्ययन र अनुभव भएकोले नै उनले यसरी हल्कादेखि अति गम्भीर प्रकृतिका संगीतको सिर्जना गर्न सकेका हुन्।

‘पिरती बस्यो’, ‘जनम जनम’, ‘आमा’, ‘चाहना’, ‘बन्धन’ जस्ता दर्जनौँ नेपाली फिल्महरूमा निक्कै सफलताका साथ उनले संगीत दिएका छन्। कुनेैबेला शम्भुजित बाँस्कोटासँगको सहकार्यमा बनेको फिल्म ‘के घर के डेरा’ को संगीत पश्चात यी दुई हस्तीहरूले ‘शुभशम्भु’को नामले पनि निक्कै समयसम्म संगीत सिर्जना गरे।

बलिवुडमा काम गर्न पनि उनलाई अफर नआएको होइन। तर उनले फौजी जागिर र मातृभूमिलाई छोडेर अन्त जाने कुरा कहिल्यै पनि सोच्न सकेनन्। भारतमा मनोहरि सिंह जस्ता स्याक्सोफोनका कुशल वाद्यवादक पनि नेपालबाट नै गएका थिए र लता मङ्गेस्कर जस्ता सरस्वतीले वास गरेकी गायिकाको प्रिय पात्र हुन पनि सफल भएका थिए। तर शुभबहादुरले आफ्नै मुलुकमा बसेर हाम्रै स्वर किन्नरी तारादेवी र यहाँकै प्रख्यात स्रस्टाहरू र संगीतप्रेमीहरूको नजिक हुन रुचाए।

नेपालमा संगीत र व्याण्ड भन्ने वित्तिकै मदिरापान नगरी नहुने अवस्था रहेकोमा यसलाई चिरेर अनुशासनका पर्याय शुभबहादुरले आफ्नो व्याण्डमा भएका सदस्य र आफ्ना विद्यार्थीहरूलाई मदिरापान निषेध नै गरेका थिए। आजसम्म पनि उनीसँग संगीत सिकेका व्याण्डका सदस्यहरू सांगीतिक प्रस्तुती गर्दा मदिरारहित वातावरणमा नै रमाउने गर्दछन्।

उनीसँग मेरो प्रत्यक्ष र राम्रो परिचय रेडियो नेपालमा वि.सं. २०४० सालताका भएको थियो। त्यतिखेर दिउँसोको कलेजमा सरिक हुनुका साथै म दिनहुँजसो रेडियो नेपालमा गएर विभिन्न खालका संगीतकर्मीहरूसँग भेट गर्ने तथा मौका मिले स्टुडियोमा रेकर्ड हुन लागेका गीतहरूमा गितार तथा अन्य वाद्यवादनका साधन बजाउने काम गर्दथेँ। त्यस्तै बेलामा मैले उनलाई भेट्न शुरु गरेको हुँ।

अलिक पुड्का कदका तर फौजी भएर हो कि किन हो निक्कै छरिता र अनुशासिात अनि राम्रो व्यक्तित्व भएका सरल र हँसिला व्यक्ति थिए उनी। उनमा घमण्ड, लोभ, लालच वा बढी बोल्ने बानी केही थिएन। म आफू पनि त्यस्तै स्वभावको व्यक्ति भएकोले शुभबहादुरलाई पहिलो पटक देख्ने वित्तिकै मेरो मनमा उनी बारेको ज्यादै विशेष छाप परेको थियो।

रेडियो नेपालमा रेकर्डिङमा जाँदा उनी एकदम ठीक समयमा पुग्दथे र आफ्नो काम सकिएपछि सबैसँग भलाकुसारी पश्चात उनी गइ पनि हाल्थे। धेरै मानिसहरूमा शुभबहादुर स्याक्सोफोनका ज्ञाताका रूपमा मात्र परिचित भएको देख्दा मलाई अनौठो लाग्दछ।

वास्तवमा उनी धेरै प्रकारका वाद्यवादनका साधनहरू निक्कै मधुरताका साथ बजाउन सक्दथे। हार्मोनियम, पियानो, भ्वाइलिन, गितार, भाइब्रोफोन आदि पनि उनी निक्कै माहिरताका साथ बजाउँदथे भने संगीतको स्वरलिपि (स्टाफ नोटेशन) त उनी ज्यादै सरल तरिकाले लेख्ने र पढ्ने गर्दथे। शुभबहादुर स्याक्सोफोनमा जस्तै कन्सर्टो फ्लुटमा पनि ज्यादै नै पारङ्गत थिए।

पारिवारिक हिसाबले शुभबहादुरका सासुआमा तथा ससुराबुवासँग हाम्रा आमा-बुवाको निक्कै नजिकको चिनाजानी थियो। काठमाडौँको डिल्लीबजारमा नै बस्ने हाम्रा दुई परिवारको सम्बन्ध ज्यादै मधुर थियो। उनी त्यही घरका ज्वाईँ हुन् भन्ने कुरा पछि थाहा पाए पश्चात उनी माथिको श्रद्धा झनै बढेको थियो ममा। उनकी धर्मपत्नीका भाइ मदनसिंह नेपाली तथा अन्य दाजुभाइहरूसँग पनि मेरो र हाम्रो परिवारको नजिकको चिनाजानी छ।

वि.सं. २०४८ सालतिर मेरो आफ्नो सांगीतिक अल्बम र मेरो संगीतमा रेकर्ड भएका कैयन् गीतहरूमा शुभबहादुरलाई मैले स्याक्सोफोन र कन्सर्टो फ्लुटका धुनहरू भर्न विशेष अनुरोध गरेको थिएँ। त्यतिबेला उनले मेरो संगीत सिर्जनाको प्रशंसा पनि गरेका थिए।

रेकर्डिङका समयमा उनले मलाई धेरै चोटी संगीत सम्बन्धी आफ्ना अनुभवहरू सुनाउनुका साथै कस्ता कस्ता अवस्थामा के कस्ता तवरले संगीतलाई कसरी माझेर प्रस्तुत गर्नु पर्छ भन्ने कुरा पनि सिकाएका थिए।

यस अर्थमा पनि मैले मनै मन उनलाई एक गुरुको रूपमा पुज्ने गरेको थिएँ। करिव एक वर्ष पहिले कोरोनाको कहर रहिरहँदाकै समयमा उनीसँग मेरो भेट राष्ट्रिय सभा गृहमा एक सांगितिक कार्यक्रममा भएको थियो। धेरै समय पश्चात भएको त्यो भेटमा हामी दुवै जना खुबै प्रसन्न भएका थियौँ भने त्यो नै हाम्रो अन्तिम भौतिक भेट हुन पुग्यो।

बलिवुडमा काम गर्न पनि उनलाई अफर नआएको होइन। तर उनले फौजी जागिर र मातृभूमिलाई छोडेर अन्त जाने कुरा कहिल्यै पनि सोच्न सकेनन्। भारतमा मनोहरि सिंह जस्ता स्याक्सोफोनका कुशल वाद्यवादक पनि नेपालबाट नै गएका थिए र लता मङ्गेस्कर जस्ता सरस्वतीले वास गरेकी गायिकाको प्रिय पात्र हुन पनि सफल भएका थिए। तर शुभबहादुरले आफ्नै मुलुकमा बसेर हाम्रै स्वर किन्नरी तारादेवी र यहाँकै प्रख्यात स्रस्टाहरू र संगीतप्रेमीहरूको नजिक हुन रुचाए।

उनले आफ्नो अवकाशप्राप्त जीवन संगीत साधना र नयाँ नयाँ गीत-संगीत र धुन रेकर्डिङमा नै व्यतित गरिरहेका थिए। हालै मात्र उनले स्याक्सोफोन बजाएर रेकर्ड गरेका प्रख्यात आधुनिक गीतका भिडियो उनको युट्युवमा राखेका छन्।

उनी जस्ता प्रख्यात साधकले बजाएका यस्ता धुनहरू सुन्दा जो कोहीको मन पनि मोहित हुन जान्छ र अब यिनै धुनहरू र उनका सिर्जना र कृतिहरू नेपाल र विश्वका संगीतप्रेमीहरूका लागि उनलाई सम्झने आधार भएर बस्ने छन्।

पशुपतिनाथ आर्यघाटमा गीत-संगीतकर्मी, नाट्य तथा फिल्मकर्मीका साथै विशाल जनसमुदायले शुभबहादुरलाई अन्तिम बिदाइ र श्रद्धाञ्जली दिन भेला भएको बेलामा उनकै ज्वाईँ तथा नेपाली सेनाका हालका होनहार व्याण्ड टोली नेता सहायक रथी अमूल कार्कीले अग्नीमा दहन भइरहेको शुभबहादुरको पार्थिव शरीरको सामु बसेर उनकै कालजयी सिर्जना तथा दिप श्रेष्ठद्वारा गाइएको गीत ‘हुँ यात्री, एउटा, रुमल्ली हिँड्ने, अँधेरी रातमा’को धुन स्याक्सोफोनमा बजाउँदा त्यहाँ उपस्थित मानिसहरू मात्र नभई विश्वभर अनलाइनमार्फत हेरिरहेका दर्शक तथा अनुयायीहरूसमेत मन्त्रमुग्ध भएका थिए। सुन्नमा आए अनुसार एकजना अनुयायीले त अमूलको त्यो धुन सुनेर ‘शुभबहादुर चितामा निक्कै सन्तोषका साथ सुतिरहेको’ भान भएको प्रतिक्रिया पनि लेखेका थिए अरे।

आफ्नी प्यारी धर्मपत्नीको निधन भएको ६ महिना पनि नपुग्दै शुभबहादुर यो धर्ती छोडेर अनन्तमा बिलिन हुन पुगे। लामो समयसम्म मधुमेहको उपचार गराइरहेका उनलाई केही समय अघिदेखि मिर्गौला सम्बन्धि जटिलताले पनि सताउन थालेपछि उनी हप्तामा दुई पटक डाइलाइसिस गराउन सैनिक अस्पताल जाने गर्दथे।

यही कारणले गर्दा उनी हालका दिनहरूमा विदेशमा हुने कार्यक्रमहरूमा पनि सरिक हुन सकेका थिएनन्। निधन हुनु भन्दा एक दिन अघि मात्र उनले मोवाइल फोनमार्फत उनका नयाँ कृतिहरूको विमोचन बारे तीनका रचनाकार विश्वम्भर प्याकुर्‍यालसँग सल्लाह गरेको कुरा विश्वम्भर सरले कोरियाबाट फेसबुकमार्लच सन्देश पठाएका थिए।

केही दिन पहिले अमूल कार्कीसँग एउटा कार्यक्रममा भेटेर शुभबहादुरको बारेमा जानकारी पाएपछि उनको घरमा भेट्न जाने विचार गरेको थिएँ। तर उनको निधन यसरी यति चाँडै हुने कुरा सोच्दै नसोचेको मैले उनीसँग टेलिफोनमा कुरा गर्नसम्म मात्र पाएँ।

झण्डै ४० वर्षसम्म भौतिक रूपले भेटघाट भइरहेको तथा उनको संगीत तथा अनुभवबाट निक्कै प्रभावित भएको मलाई आज उनकै निधनमा श्रद्धाञ्जलीका शव्द लेख्न पर्दा ज्यादै दुखको अनुभव भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.