समीक्षा

गीता खत्रीको ‘उडेको आकाश : डुलेको धर्ती’ नियात्रासङ्ग्रहभित्र यायावरीय दृष्टि

खेमराज पोखरेल
८ असोज २०७९ ६:४५

म लेखनमा सिकारु हुँ। द्रष्टादृष्टि त आकाशका तारो हो। म यायावर स्वभाव पाल्छु। मान्छेका जीवनमा झैँ मेरा जीवनमा पनि आकस्मिकता आयो एक दिन। त्यो कुनै एउटा दिन काठमाडौँको मोलुङ फाउन्डेनले जुममार्फत् सञ्चालन गरेको न्युयोर्क निवासी लक्ष्मी श्रेष्ठको ‘न्युयोर्क कोरोना डायरी’ कृतिको परिचर्चा कार्यक्रममा म उभिएको थिएँ।

पुस्तकभित्र भूमिकाकारको रूपमा नियात्राकार गीता खत्रीको सुन्दर र सहज उपस्थिति थियो। यसै कार्यक्रमले नियात्राकार गीता खत्रीसँग सञ्जालीय परिचय गराइदियो। नत्र त मैले नियात्राकार गीता खत्रीलाई चिनेको थिएन। देखेको भेटेको वा गफिएको थिइनँ। आज पर्यन्त पनि छैन।

नियात्राकार गीता खत्रीसँग सञ्जालयीय चिनाजानीको केही दिनमै उनको भर्खर प्रकाशित भएको नियात्राकृति ‘उडेको आकाश, गुडेको धर्ती’ को पीडीएफ भर्सन मसमक्ष आइपुग्यो। यो एउटा सुन्दर आकस्मिकता थियो मेरा लागि।

प्रकाशक रत्न पुस्तक भण्डार काठमाडौँ रहेको यो कृतिको प्रकाशन २०७८ साल असोजमा भएको छ। आवरण चित्र सिर्जन महर्जन तथा वसन्तराज अज्ञातको लेआउट शिल्पमा पुस्तक तयार भएको छ। मूल्य रु ५०० तथा अमेरिकी डलर १० रहेको छ।

‘सचेत लेखनी’ शीर्षकमा प्रसिद्ध नियात्राकार युवराज नयाँघरेले ‘यी सबै यात्रामा प्रकृति, कला, संस्कृति र मानवजीवनले उपलब्धि हासिल गरेका गहकिला पक्षसँग सहयात्रा गर्दै लेखकीय सचेतता र आत्मीयता प्रकट भएको छ’ भन्ने भनाइ अभिव्यक्त गरेका छन्।

त्यसै गरी ‘इतिहास बनाउने क्रममा रहेका गीता र गीताहरूका नाममा’ शीर्षकमा नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले नेपाली नियात्रा लेखनमा महिलाहरूको इतिहास केलाउँदै ‘लेखनीगत इमानदारी तथा दम्भरहित स्रस्टा’ भनेका छन्।

‘मेरो भनाइ’ शीर्षकमा नियात्राकार गीता खत्रीको आफ्नो भनाइ रहेको छ। २७९ पृष्ठमा छ पुस्तक। त्यसपछि ५० थान नियात्राक्रम रहेको छ । जापानका १४, अमेरिकाका १३, मेक्सिकोका ७ र केन्याका १६ नियात्रा छन्।

यद्यपि नियात्रा जगत्का दुई हस्तीले कृतिको जरो, हाँगा, पात तथा रेसासमेत केलाइसकेको हुनाले यो मेरो आलेखीय प्रयास बालुवामा पानी मात्र हो। केवल एउटा पाठकलाई लागेको सनक नजरिया मात्र हो। आत्मतुष्टि मात्र हो।

२०२० सालमा कलङ्कीमा जन्मिएकी नियात्राकार गीता खत्रीमा यसै पनि बहुमुखी प्रतिभा भएको कुराबाट नेपाली साहित्य जगत् अनभिज्ञ छैन। गीतकार, गजलकार, कवि, नियात्राकार जस्ता बहुमुखी प्रतिभाले सुसज्जित नियात्राकार खत्री अनेसासको बोर्ड अफ ट्रष्टी पनि हुन्।

नियात्रा निबन्धका लागि यात्रा बाध्यकारी छ। यात्रा तथा यात्रास्थलको विशिष्टताबाट अनुभूत भएका आरोहअबरोह, सुखदुःख, हाँसोरोदन, सब्ल्याँटाबिब्ल्याँटा आदिको यथार्थ तर अनुभूतीय प्रकटीकरण भएको गद्यशब्दसञ्जाल नियात्रा हो।

त्यसैले लेखनीको विषयवस्तु सिर्जना गर्न नियात्रामा सजिलो छ। तर नियात्रामा साहित्यका सबै विधाका स्वरूप अटाउने भएकाले तिनको सिर्जना र प्रस्तुतीकरण अप्ठ्यारो पनि छ। भारीभडकम सूचना तथा निजी गन्थनले नियात्रालाई बोझिलो बनाउँछ भने नभइ पनि नहुने कुरा हो।

र, यो कृति त्यसै पनि ५० वटा निबन्ध लिएर उभिएको छ । कृतिभित्र जापान छ। जापान भन्नेबित्तिकै जापान घुम्ने तयारी छ। नयाँ टोकियो र पुरानो टोकियो घुम्दाको अनुभूति छ। नागासाकीको बम ब्लास्टिङको असरको आँखो देखा हाल छ।

सन् १९४५ अगस्ट ९ तारिखका दिन फ्याटम्यान नाम गरेको न्युक्लियर बम नागासाकी नगरमाथि प्रहार भएको मार्मिक अनुभूति दृश्य सजीव भएर आएको छ। नागासाकी म्युजियम, नागासाकी पुग्न चढ्नु पर्ने रेल तथा त्यहाँ देखिने सौन्दर्यको वर्णन छ। नियात्रामा नागासाकी मात्र छैन अगस्ट ६, १९४५ का दिन हिरोसिमामाथि लिटिल ब्वाइ नामको न्युक्लियर बम प्रहार गरिएको क्षति आँखैले देखेर लेखिएका छन्।

हिरोसिमाको पिस मेमोरियल पार्क घुमेको बयान छ। शरीरबाट मासु जलेर झर्दै गरेको मार्मिक दृश्यको चित्रले हृदय विह्वल बनाएको छ। केन्जो टाँगेले बनाएको नक्सामा आधारित म्युजियम घुम्दा आँशु आएको मार्मिक दृश्य यथार्थ छ।

हिरोसिमा मेमोरियल पार्कमा कागजका सारसको मूर्ति छन् र तिनको आशय संसारमा अब युद्ध नहोस्, शान्ति होस भन्ने रहेको कुरा अभिव्यक्त भएको छ। हिरोसिमा क्यासल घुमेको तथा सन् १७०७ मा ज्वालामुखीबाट बनेको ३७७६ मिटरको फुजी पर्बतको यात्रा बडो रोमाञ्चक भावमा अभिव्यक्त भएको छ।

नियात्राकारलाई कामाकुराको अमिदा बुद्धको मूर्ति हेर्दा जति आनन्द लागेको छ, त्यति नै बुद्ध भारतमा जन्मेको भन्ने कुरा लेखिएको देखेर मन विह्वल पनि भएको छ। हाकोनेको तातो पानीमा उसिनिएका काला अण्डा तथा त्यहाँ भएका तातो पानीका मुहानको वर्णनले नियात्रा कौतूहलमय भएको छ।

फ्रान्समा रहेको विश्वप्रशिद्ध इफेल टावरभन्दा १३ मिटर अग्लो र ३००० टन हलुका सुन्तला र सेतो रङले पोतिएको इफेल टावर जापानमा बनाइएको देखेर नियात्राकारलाई अचम्म लागेको छ। जापानको गिन्जा बजारको गन्जागोल तथा बेली डान्समा झुमेको टोकियो देखेर र नेपाली रेस्टुरेन्ट देखेर नियात्राकारलाई रमाइलो लागेको छ।

त्यसमाथि के चहियो र साहित्यकारलाई? अनेसासको आयोजनामा नेपाली झण्डा राखेर प्रकाश माइला तथा अन्य साहित्यकारसँग साहित्यिक कार्यक्रममा भाग लिन पाउँदा नियात्राकारको मन गदगद भएको छ।

जापानको पुरानो राजधानी क्योटोको घुमघाम र त्यहाँको पुरानो दरवार र सुन्दर सफा क्योटो देखेर नेपाल सम्झिएको क्षण छ। यसरी नियात्राकारको जापान भ्रमण एउटा छुट्टै प्रकारको अनुभूति लिएर सकिएको छ। नियात्रामा खर्लप्प जापान आएको छ।

जापान भ्रमणपछि अमेरिकाको भ्रमण सुरु भएको छ। अमेरिकाको भ्रमणका क्रममा हवाइजहाजबाट क्यालिफोर्निया जाँदा सिकागोको ट्रान्जिटको समयमा सिकागो बीन घुम्दाको कथा र रमणीय दृश्यबाट शुरु भएको छ। अमेरिकाको पूर्वी तटमा हुने अत्यधिक जाडोबाट यात्रा शुरु भएकाले क्यालिफोर्निया जस्तो सदाबहार एकै खाले न्यानो यात्रा गर्न पाउँदा नियात्राकारको हृदय खुसी भएको छ।

अमेरिकाको नेवादा राज्यमा पर्ने विश्वप्रशिद्ध हुभर ड्यामको मजाले वर्णन गरिएको छ। संसारभरिकै सिभिल तथा आर्किटेक्ट इन्जिनियरका लागि तकनिकी बुझ्न पुग्नै पर्ने गन्तव्य हो हुभर ड्याम। नियात्राकारले हुभर ड्यामको निकै धेरै सम्झना गरेको देखिन्छ। हुभर ड्याम नजिकै रहेको विश्व प्रशिद्ध जुवाघर, एडल्ट एक्टिभिटी तथा कृत्रिम प्रकाशपुञ्जले नियात्राकारको लसभेगस बसाइलाई निकै सम्झना योग्य बनाएको छ।

अमेरिकाको विकास तथा त्यहाँको जनजीवनका बारेमा नियात्राकारले निकै रमाइलो गरेको प्रतीत हुन्छ । लम्बार्ड स्टिटको ओराली, पिउनै नसकिने वाइन, पियर-३९, गोल्डेन गेट ब्रिजको आलोक, अल्काट्राजमा अत्यास, फ्रेमन्ट स्ट्रिटको छोटो डुलाइ, भित्ताको हलिउड, हलिवुड बुलभार्डको रमझम, युनिभर्सल स्टुडियो भित्रको सन्त्रास यही क्रमका नियात्रा हुन्।

खास गरेर अमेरिकी सिनेमाको केन्द्र हलिवुडमा पुग्दा त्यहाँका सिनेकर्मी, कलाकार तथा निर्माता निर्देशकले भरिभराउ हलिवुड बुलेभार्डको ऐतिहासिक महत्त्वको चर्चा गरिएको छ । हलिवुड बुलेभार्ड भन्नु एउटा सडकको नाम हो। नियात्राकार अमेरिकामा नै बस्ने भएकाले अमेरिकाको यात्रा सुखद र रमाइलो भएको छ।

अमेरिका पछि नियात्राकारको यात्रा मेक्सिकोतिर सोझिएको छ । आफ्नो छोराको बिहेमा मेक्सिको पुगेकी नियात्राकारले मेक्सिकोमा पुगेपछि निकै आश्चर्य र रमाइलो अनुभूत गरिएको देखिन्छ। कोजुमेल भन्ने सहरको आँगनमा पुग्दा र रातमा कोजुमललाई देख्दा नियात्राकार निकै रमाएको प्रतीत हुन्छ।

त्यसैगरी क्यारेबियन सागरमाथि डुल्दा आएको छटपटीलाई पनि मजाले व्यक्त गरिएको छ । चेचिनेटेजाको पिरामिड, सिनोटे इक किलको फन्कोले झन् रोमाञ्चकता थपिदिएको छ। सिनोटे इक किलमा रहेको पानीको ४० मिटर गहिरो ६० मिटर डायमिटर भएको इनार र त्यसभित्र पर्यटक पसेर आनन्द लिने तरिका देखेर नियात्राकारलाई अचम्म लागेको छ।

मेक्सिकोको कानकुटमा रहेको विश्वप्रशिद्ध कानकुन तटमा पुग्दा भूपरिवेष्ठित अवस्था भोगेकी नियात्राकार रञ्जित भएको देखिन्छ। अझ आफ्नै छोराको विवाह भएको क्षण नोभेम्बर ८, २०१५ लाई झन् धेरै सम्झिएको छ।

रसियन आमाबाबुकी छोरी सोकोलोभासँग भएको आफ्नो छोराको इसाइ बिहे समुद्र तटमा बालुवामा बनाइएको मण्डपमा बसेर गर्नुपर्दाको क्षण अत्यधिक अचम्म, र रोमाञ्चक लागेको छ नियात्राकारलाई।

त्यसपछि पुस्तकमा नियात्राकारको अफ्रिकाको केन्या भ्रमणका नियात्राहरू छन् । केन्याको यो यात्रा अप्रिल ६, २०१६ मा गरिएको छ। पहिलो नियात्रामा केन्या राज्यको परिचय दिइएको छ। ८ अप्रिल २०१६ मा केन्याको जम्बो केन्याता विमानस्थलमा उत्रेको र नैरोबी प्रवेश गर्दाको अनुभूति प्रकट गरिएको छ।

निसन्देह एसियन तर अमेरिका जस्तो देशलाई कर्मक्षेत्र र बासस्थान बनाएकी नियात्राकारलाई अफ्रिकामा अचम्म, उकुसमुकुस, अत्यासलाग्दो तथा रोमाञ्चक लागेको छ। केन्याको मसाइ सहरमा रहेको संयुक्त राष्ट्र संघको भवनको यात्रा, मसाइ बजारको बजार पर्यटन र त्यसले देखाएको गरिबीपन, नेपालमा झैँ पर्यटकलाई दिक्क लगाउने केन्याली व्यापारी तथा ससाना व्यापारीको चित्रण मजाले गरिएको छ।

नेपालसँग तुलना गर्दै गरिएको यस्तो यात्रा नेपाली पाठकका लागि पनि रोमाञ्चक देखिएको छ। त्यसमाथि मसाइमारा राष्ट्रिय निकुञ्जको भ्रमण, यात्रुको ग्रिनकार्ड हराएको छटपटी, आफ्नै ब्याकप्याकमा पाइएको ग्रिनकार्ड, चितुवाले घेरेको जीप, स्याल, बँदेलका बच्चा आदिको दृश्यपानले रमाएको छ नियात्राकारको मन।

चितुवाले गर्दा झन्डै कालको मुखमा पुगेकोमा आतेस तथा त्रसित पनि छ नियात्राकारको मन । निकुन्जको व्यवस्थापन राम्रो भए पनि नेपालको झैँ बिजुलीबत्ती जाने प्रकृयाले भने दिक्क लगाएको छ। माउन्ट केन्या निकुञ्जको भ्रमणमा मोटर साइकलमा सामान लोड गरेर गरिने नेपालको झैँ व्यापार देखेर भने हाँस उठेको छ।

फेयर माउन्ट केन्या सफारी क्लबको यात्रा गर्दा भने नियात्राकारलाई विशेष लागेको छ। यो क्लब अनाथ जङ्गली जनावरका संरक्षण केन्द्र रहेछ । नियात्राकारले चितुवालाई छोएको, गजबका रमाइला बाँदर याने कि मितेरी लाउने खालका बाँदर देखेर अचम्म पनि लागेको छ।

नियात्राकार आफैँ कछुवाको ढाडमा चढेर सवार गरेको क्षण अचम्म विचित्र र दुर्लभ रहेको छ । त्यसैगरी केन्याको जङ्गलमा रुखमा झुन्डिएको विशाल रेस्टुरेन्टमा माछा खाएको प्रसङ्गले अचम्म तथा रोमाञ्चकता प्रदान गर्छ।

१४ अप्रिल २०१६ मा गरिएको इकवेडर रेखाको भ्रमणले जादु देखाएको छ। चिनियाँले बनाइदिएको ठिका राजमार्गको स्तर नमुना मान्न लायक छ । तर राजमार्गमा स्पिड ब्रेकर धेरै छन् । यो क्षेत्रमा अव्यवस्थित बसोबास असाध्य धेरै भएकाले नियात्राकारको मन अमिलो भएको छ।

इक्वेडर रेखामा हावापानी बहाबको चटक देख्दा रोमाञ्चकता थपिएको छ। एउटा रेखा वारि र पारि हाबा र पानीको बहाबमा आएको परिवर्तनले अचम्मित तुल्याएको छ । नाइभासा निकुञ्ज हेर्न जाँदा टिकट काट्दा ठग्न खोजेको तथा नाइभासा ताललाई नेपालको फेवातालसँग तुलना गरिएको देखिन्छ।

हिप्पोपोटामस, पेलिकन चरा, जिराफ तथा जेब्रा पनि नाइभासा निकुन्जमा देखिएको चर्चा छ । नाइभासाको माछाबजारमा नाइभासा तालबाट निकालेका माछा बेच्न राखेको देखेर रमाइलो लागेको छ । सानो बजार भए पनि, वा अव्यवस्थित भए पनि निकै प्रसिद्ध रहेछ यो बजार।

नैरोबीदेखि माछा किन्न यो बजारमा आउने, माछा मार्ने, बार्गेनिङ गरीगरी माछा किन्ने, पोलेको माछा, तारेको माछा तत्काल खान पाइने हुनाले आन्तरिक र बाह्य पर्यटक आकर्षित भएको कुरा मजाले वर्णन गरिएको छ । यसै गरी हात्ती अनाथालय पुग्दा भने नियात्राकारको हृदय द्रवित भएको छ।

तस्करले मारेका आमा हात्तीका अनाथ छावालाई २ वर्षसम्म दूध खुवाएर राख्न एकजना व्यक्ति डेभिड सेल्ड्रिकले बनाएको वाइल्ड लाइफ ट्रस्टमा हात्तीका छावासँग खेलेको क्षण व्यक्त गरिएको छ। नियात्राकारको यात्रा मानवनिर्मित जङ्गलमा जिराफ सेन्टर रहेको र जिराफलाई खाना खुवाएको कुरा छ।

जिराफ मात्र होइन नैरोबी सहरकै एउटा अलिपरको कुनामा रहेको माम्बा भिलेजमा कछुवा, अष्टिज फार्म, तथा गोही उत्पादन केन्द्र रहेको र गोहीको बच्चालाई मुखमा रबरले बाँधेर हातले बाकेको क्षणले नियात्राकारलाई रोमाञ्चक बनाएको छ।

कृतिभित्र धेरै विशेषताहरू समेटिएका छन् । भाषामा सरलता देखिन्छ भने प्रस्तुतिमा पनि सरलता देखिन्छ। अध्यायहरू अघि बढ्दै जाँदा हजारौँ ठाउँमा सुन्दर प्रकृति चित्रण छ । सहरको, सडकको, बिजुली बत्ती र तारको, हावापानी, पहाड र हिमालको, तथा तालको वर्णन एक दम दुरुस्त देखिन्छ। पाठकलाई आफैँ पुगेजस्तो लाग्छ।

नियात्राको एउटा महत्त्वपूर्ण विषय सूचनामूलक हुनु हो। त्यसकारण यो कृतिमा तततत् ठाउँको वर्णन गर्दा सूचनाहरू भरपर्दो तरिकाले आएका छन् । नियात्राकार जहाँजहाँ पुगेको देखिन्छ, त्यो ठाउँको अर्को स्थानसँग तुलना गरेको पाइन्छ। उदाहरण कतै जापानलाई नेपालसँग तुलना गरिएको छ।

जापानको चालचलन तथा सडक फोहोरको नेपालसँग तुलना छ। जापानलाई अमेरिका सँग विकास तथा रेलवे सिस्टमको तुलना गरिएको छ । फ्रान्स तथा तिब्बतसँग पनि तुलना गरिएको छ। नेपालको प्रकृतिसँग जापान, अमेरिका तथा मेक्सिको वा केन्याको प्राकृतिक दृश्यको तुलना गरिएको छ।

तुलना गर्ने क्रममा तत्कालीन नेपालको राजनीतिक अस्तव्यस्तता तथा असङ्गतिको सुन्दर चित्रण गरिएको छ। यसरी कृतिभित्र कृतिकारको तुलना गर्ने शैलीले कृतिलाई रोचक बनाएको छ । यो नियात्रा कृति पढिरहँदा नियात्राकारको व्यक्तित्व वा चरित्र निकै मेहनेती देखिन्छ।

मुख्य कुरा नियात्रा बन्नको लागि घुमेका ठाउँका बारेमा नियात्राकारको व्यक्तिगत अनुभूति याने निजात्मकता निकै दर्बिलो चाहिन्छ । यो कृतिको सबभन्दा महत्त्वपूर्ण विशेषता भनेको नियात्राकारले आफ्नो निजात्मकता नढाँटीकन बयान गरेको देखिन्छ।

दर्बिलो अनुभूति छ। बिछटट राम्रो छ यो पक्ष । कृतिको सबैभन्दा सबल पक्ष पनि यही हो। उदाहरण-भूगोलको हिसाबबाट केन्या नेपालबाट निकै टाढा भए पनि प्राकृतिक वातावरणले हो वा गरिबीले हो वा शिक्षाको कमीले हो, नेपाल र केन्याको बाटोघाटो, बानीबेहोरा, खानपान, लवाईखवाई मिल्दो जुल्दो रहे छ (पृष्ठ २४३)।

यो कृति अत्यन्त मार्मिक पनि छ । नागासाकीको बयान पढ्दा आँशु आउँछ। हिरोसिमाको आँखोदेखा हाल भन्दा विह्वल बनाउँछ । नियात्राकारलाई कुशल यात्राकार भन्न सकिन्छ । यात्रामा जाँगरिलो, निडर, सरल, रञ्जक, यथार्थवादी पनि देखिन्छ।

आफूले देखेका कुराहरू इमान्दार, अनौपचारिक, सकारात्मक तथा जिज्ञाशु तरिकाले अभिव्यक्त गर्न सक्नु यो पुस्तकको विशेषता हो । नियात्राकारले आफ्ना लेखनीमा समन्वयकर्ताको भूमिका पनि निर्बाह गरेको पाइन्छ।

प्रकृति र मान्छे, मान्छे र संस्कृति, अविकास र विकासको समन्वय गरेर आफ्ना धारणाहरू व्यक्त गरिएको छ। नियात्राकारमा जीवनवादी चिन्तनशीलता पाइन्छ । याने जीवनको चिन्तन छ । मान्छे, जनावर तथा प्रकृतिको जीवनका बारे चिन्तन गरिएको छ।

यसो भएकाले यो कृति विशेषता र सद्गुणले भरिपूर्ण छ। नियात्राकृतिमा हुनुपर्ने सबै गुण यसले मोटामोटी समेटेको छ। कौतूहलता छ। चित्रण छ । रमाइलो छ। अनुभूति छ । विवरण छ । त्यसैले यो कृति पढ्ने पाठकले एउटै पुस्तकमा जापान, अमेरिका, मेक्सिको र केन्या घुम्न पाउँछ । यसका लागि कृतिकार गीता खत्री धन्यवादका पात्र हुन्।

कृतिलाई नियात्राको सिद्धान्तका कसीमा राखेर हेर्यो भने केही न केही कमीकमजोरी अवश्य छ । नियात्राको तीनचम्के सिद्धान्त यात्रा, आकर्षण गर्ने स्थानको महत्त्व तथा यात्रामा पाइएको निजात्मक अनुभूति नै प्रमुख कसी हुन्।

यात्रा को कुरा गर्दा कहाँ (गन्तव्य) ? कोको (यात्रु) ?, किन (कारण) ? कहिले (मिति) ? कसरी (साधन) ? यत्ति कुराको सूचना अपरिहार्य नै हुन्छ । आकर्षणको कारण याने गन्तव्यस्थलको महत्वका बारेमा विवरण वर्णन गुगलमा पनि हुन्छ।

तर नियात्राकारले आँखो देखा हाल बताउने हो। नियात्राकारको निजात्मक अनुभूति प्रथम पुरुष दृष्टिविन्दुमा नै हुनुपर्छ। आँखाले देखेको सत्यलाई नियालेर पाएको ज्ञान तथा अनुभूतिलाई आत्मपरक शैलीमा प्रस्तुत गरिनु बान्छनीय हुन्छ नियात्रामा।

नियात्रासङ्ग्रहको पहिलो निबन्ध ‘अनेक प्रयाशमा जापान’ लाई आधार मानेर हेर्दा नियात्राकारलाई जापान जान मन लागेको भन्ने कुरा छ । तर कहिले गएको भन्ने कुरा छैन । किन गएको भन्ने कुरा पनि छैन । एकै पल्ट एयरपोर्टदेखि मेगुरो सहरमा रहेको तापसजीको घरसम्म पुगेको कुरा छ।

भोलिपल्ट निस्कियौँ भनिएको छ । तर कुन मितिको भोलिपल्ट ? त्यो निबन्ध पढेर कोको जापान गएको भन्ने पनि बुझिँदैन। त्यस कारण नियात्राका तीन चम्कामा यात्रा प्रमुख हो। यात्रा चम्का चाहिँ अझै दर्बिलो बन्न सक्थ्यो जस्तो लागेको छ।

पुस्तकको शीर्षक ‘उडेको आकाश डुलेको धर्ती’ एक दम राम्रो छ । यो शीर्षक देख्दा पाठकलाई यो पुस्तक पढौँ पढौँ लाग्छ । तर पुस्तकभित्र उडेको आकाशको कुनै पनि निबन्ध छैन । हवाइ यात्राको पर्याप्त अनुभूति र वर्णन छैन। त्यस्तै पहिलो पाठ अनेक प्रयासमा जापान भन्ने छ।

तर त्यो निबन्धभित्र प्रवेश गर्दा नियात्राकारले जापान जान के कति पल्ट प्रयाश गर्नुभयो भन्ने कुरा छैन । त्यस्तै गिन्जाको गन्जागोल भन्ने शीर्षक भित्र पनि गिन्जा सहरमा के गन्जागोल भयो भन्ने कुरा छैन । शीर्षक भनेको ऐनामा कृतिको अनुहार देखिनु हो । शीर्षकरूपी ऐना पुछाइमा अझै निखार ल्याउन सकिन्थ्यो।

नियात्राकार आफैँसँग बोलेको आभाष हुन्छ नियात्रामा । जस्तो पेनिजा बहिनी, मिठू भाउजू आदिको प्रसङ्ग झिकिएको छ तर ती को हुन् भन्ने कुरा बताउन सकेको भए नियात्रा झन सुन्दर हुने थियो।

नियात्रा पुस्तकमा नियात्राकारको श्रीमान्को फोटो छ । साथमा श्रीमान् पनि हुनुहुन्छ भन्ने कुरा कतैकतै आउँछ । तर श्रीमान्को भूमिका अति गौण छ । किन तापसजी, विनिता, मदन आदि नेपाली मान्छेले नियात्राकारको यात्रालाई व्यवस्थित गरेका छन्। ती को हुन् ? किन यसरी नियात्राकारलाई सहयोग गर्छन् भन्ने कुराको जानकारी दिएको भए पाठकले रमाइलो मान्ने थिए।

यद्यपि नियात्रा लेखकका लागि बाधा बनेर आएको विषय हो विषयान्तर। आफू घुमेको ठाउँको कुरा वर्णन गर्दा गर्दै अन्यत्र ठाउँको असम्बन्धित विषयको बृहत् वर्णनले पुस्तकको धेरै पाना ओगटेको छ । नागासाकीको वर्णन गर्दा नेपालको राजनीतिक अवस्थाका बारेमा असाध्य धेरै वयान गरिएको छ।

यात्राइतर आफ्ना मनमा लागेका कुरा वयान भएको छ। अनावश्यक वाक्य तथा निजी गन्थन धेरै भएकाले पाठकलाई दिक्क पनि लाग्न सक्ने हुन्छ। अरू स्थापित भनिएका नियात्राकारहरूको जस्तै यो कृतिले पनि एउटा सैद्धान्तिक प्रश्न उब्जाएको छ। हरेक शीर्षकभित्र समेटिएका नियात्राहरू पूर्ण हुनु पर्ने हो कि उपन्यासजस्तो एक पाठ अर्को पाठसँग जोडेर मात्र पूर्ण हुने हो भन्ने प्रश्न टड्कारो रूपमा उभिएको छ।

सायद ४ वटा नियात्रासङ्ग्रहको खुराक यही एउटा सङ्ग्रहमा भएकाले भन्नुपर्ने कुरा धेरै र स्थान समय कम भएकाले नियात्राकारले छिटोछिाटो बयान गरेको देखिन्छ। जसले गर्दा विषयको प्रस्तुतिले छिटोछिाटो फड्को मारेको छ। यो फड्को समात्न पाठकलाई धौधौ पर्दछ।

यद्यपि यो कृति सम्पादित होला तर पर्याप्त सम्पादन नभएको हो कि जस्तो लागेको छ। वर्णनमा इमानदारिता भए पनि कलात्मकताको अभाव हो कि भनेझैँ लाग्छ । यद्यपि तथ्यगत रूपले हेर्यो भने ती सत्य हुन् तर पनि कृतिभित्र नेपालीलाई चित्त दुखाउने केही शब्द पनि छन्  केही वर्णन पनि छन्।

नेपालको विशालता तथा राष्ट्रियताबारे नियात्राकारको विचारमा केही प्रश्न राख्न सक्छन् नेपालमै बसेका नेपाली पाठकले । खासगरी विदेशमा बस्ने नेपालीले नेपाली राष्ट्रियताको कुरा गर्दा अलि विचार नै पुर्‍याउनु पर्नेहुन्छ।

नियात्राकार गीता खत्रीलाई भाग्यले, स्रोतले, चेतले, रहरले, रञ्जनाले, अवसरले नियात्रा लेखनका लागि प्रेरित गरेको छ । यस अर्थमा नियात्राकारलाई सरदरभन्दा विशेष भाग्यमानी मानिदिँदा अर्घेलो हुँदैन भन्ने ठानेको छु।

किनभने नेपालीहरूमा त्यसरी संसार घुम्न मेसो पर्ने कमै व्यक्ति छन् । त्यसो भएकाले गीता खत्री पैदायसी नियात्राकार हुन् । यसो भन्दैमा त्यसरी घुम्ने मान्छेले लेखिहाल्छ, लेख्नु एकदम हल्काफुल्का कुरा हो भन्ने चाहिँ होइन । अति मेहनत गरेर लेखिएको छ यो कृति । नियात्राकार गीता खत्रीमा साधुवाद।

नियात्रा भनेको वर्णनको विशिष्टता हो। भनिन्छ निबन्ध भन्नु नै आफूले आफैँसँग गर्ने गफ हो । त्यहाँ औपचारिकताभन्दा अनौपचारिकता हावी हुन्छ। लेपनभन्दा यथार्थ हुन्छ। तर पनि जब कृति प्रकाशित भइदिन्छ अनि त्यो निजी गफ सामुहिक भइदिन्छ । यद्यपि नियात्रा लेखनमा चुनौती र अवसर दुवै छन्।

गुगलले सबै सूचना दिने भएकाले नियत्राकारले विशेष सजग हुनु पर्ने हुन्छ । अनुभूतिजन्य अभिव्यक्तिमा प्रखरता भएन भने बोझिलो बन्ने खतरा त्यत्तिकै हुन्छ। व्यक्तिगत सूचना नहाली पनि नियात्रा बन्दैन। धेरै हाले पनि दिक्क लाग्दो हुन्छ । सन्तुलन र संयोजन नियात्राको महत्त्वपूर्ण शैली हो।

इमानदारिताका साथ भन्नु पर्दा यो नियात्राकृति लेखिनु नै नेपाली साहित्यका लागि निकै ठूलो योगदान हो । पाठकीय नजरबाट हेर्दा यो पुस्तकबाट पाठकले भरपूर मजा लिन सक्छन् । पढ्न थालेपछि रोकिने छैनन् पाठक । यो कुरा कृतिको सफलता र महत्ता हो। पाठकले मसँग प्रश्न गर्न सक्छन् कि यो पुस्तक किन पढ्ने?

म भन्छु कि यो ‘उडेको आकाश, गुडेको धर्ती’ नियात्रासङ्ग्रह साहित्यका पारखीले मात्र होइन सामान्य पाठकले पनि पढ्नु बान्छनीय छ। पहिलो कुरा त नियात्रामा अनुसन्धान गर्ने मनसुबा भएका शोधार्थीले पढ्नै पर्छ । किनभने भूमिकामा नेपाली साहित्यका नारी नियात्राकारको इतिहास केलाइएको छ । त्यो ज्ञानवर्धक मात्र होइन, सङ्ग्रहणीय छ।

अुनसन्धाताका लागि मार्गदर्शक बन्ने खालको छ । दास्रो कुरा, अमेरिका, जापान, मेक्सिको तथा केन्या चारै देश पुग्ने नेपाली विरलै पाइन्छन्। तर नियात्राकार गीता खत्री पुगेको र त्यहाँको विविध पक्षको बारेमा जस्ताको तस्तै बयान गरिदिएकाले पाठक आफू पनि ती देशमा पुगेको अनुभूति गरेर तथा स्वाद लिन सक्छ।

तस्रो कुरा यो पुस्तकभित्र संसार अटेको छ । संसारभरिका विकसित वा अविकसित संसारका भाषा, सभ्यता, विकास, संस्कृति, मानवता, प्रकृति सबैको एकै थलोमा अध्ययन गर्न पाइन्छ ।

अब अन्त्यमा, स्थापित तथा चर्चित उदात्त कृयाशील साहित्यकार गीता खत्रीको यो कृति पढ्न पाउने संयोगलाई मैले अहोभाग्य ठानेको छु । किनकि अहिले साहित्य संसारमा आएका कृतिहरू चाहेर पनि पढ्न सकिन्न । पढ्न पाएँ, यो मेरालागि निकै ठूलो आकस्मिकता हो।

किनभने कृतिकार गीता खत्रीको यो २१औँ कृति हो, तर मैले पढेको यो पहिलो हो। अब त हामी याने गीता खत्री र म सामाजिक सञ्जालका कारणले आफन्तिएका छौँ । हामी आफ्नै रञ्जनका लागि भए पनि साहित्यमा धेरै सहकार्य गर्ने नै छौँ। यो कृतिका लागि नियात्राकार गीता खत्रीलाई टनका टन साधुवाद र शुभकामना । एउटा गीत छ नि बाँचिरहे चौतारीमा अवस्य भेट होला । यही आशावादी स्वरका साथ यो आलेखको बिट मार्छु।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *