व्यंग्य : चाहिँदा भाँडो नचाहिँदा ठाँडो

बलदेव महत
८ असोज २०७९ ७:२१

बितेको झण्डै असी बर्षमा देशमा आठ वटा संविधान बनेको भए पनि तिनीहरुलाई सबैले आफ्नो भनेको र देशको मूल कानुनको रुपमा गनेको नदेखिँदा जसले जति गफ दिएर अनि मैले वा हामीले बनाएको भन्दै आनन्द लिएर हिँडेपनि सद्धे अबस्थामा हो कि लागुन्जेल पिएर बोले जसरी बोल्ने पनि उस्तै कोही नबोली जसले जस्तो ब्यबहार गरेपनि मुख सिएर बस्ने पनि उस्तै देखिन्छन्।

अहिले चालु रहेको बहत्तर साले संविधान पनि त्यस्तै भएको र सबैले आफू अनुकूल ब्याख्या गर्ने एउटा दस्ताबेजको रुपमा गएको छ। यसमाथि बिभिन्न महानुभाव, समूह वा ब्यक्तिहरुले गरेको ब्यबहार हेर्दा संविधान भनेको अन्धाले हात्ती छामेजस्तो यसका सबै भाग दफा उपदफा आदिलाई चाहे जसरी परिभाषित गरेर बलियालाई सबै खत माफ हुने गरी डामेजस्तो र नसक्ने हुतिहारा चाहिँ यसको भावना अनुसार काम गर्न डराएर कामेजस्तो देखिन्छ।

त्यहाँ जे लेखिएको भएपनि यसले यो गर्नै पर्छ भन्ने एकथरी र त्यसैलाई राम्ररी पढेर अनि त्यसको गहिराइमा गढेर यसले यो गर्नै मिल्दैन भन्ने अर्कोथरिको कुरा सुन्दा सामान्य ब्यक्तिको दिमाग सढेर उसले अझ परिस्कृत जस्तो देखिने गरि अझ माथि चढेर त्यसैको आफ्नै खाले नौलौ परिभाषा निकाल्दा पनि ब्यबहारिक र मिल्दोजुल्दो नै देखिन्छ।

यो पढ्नेले शब्दशब्द केलाएर जता पल्टाए पनि र आफूलाई मात्रै फाइदा हुने गरी समस्यालाई जसरी सल्टाए पनि सुुन्नेलाई ठिकै हो जस्तो लाग्छ।

त्यही भएर छ सय एकजना मध्ये अधिकांश हत्यारा, लुुटेरा, डकैत, ठग, बलात्कारी, भ्रष्टाचारी, ब्यभिचारी, ज्यादै थोरै पढे लेखेका, ज्यादै थोरै इमानदार पनि स्वघोषित महान बिद्वानहरुले आफ्नो भएभरको उन्नत दिमाग, समयमा काम पूरा हुुन नसकेर थप भएकोसमेत दुईदुई कार्यकाल, झण्डै दश अरबको सामान्य बजेट र शानका साथ टाइम पास गरेर ब्यतित गरेको अमूल्य समय आदिसहितको योगदान गरिसकेपछि चार पाँच जना बरिष्ठहरु मार्फत बिदेशीहरुले लेखाएको कागजमा अरुले देखाएको ठाउँमा पढ्दै नपढी ल्याप्चे हान्ने र बिदेशीहरुकै इशारा मान्ने जमातले बनाएको हुनाले जसरी ब्याख्या गरे पनि हुन्छ भन्नेमा जनता ढुक्क छन्।

माछा देखे दुुलामा हात, सर्प देखे पाखामा हात भनेजस्तो आफूलाई मन लागेको काम सोच अनुुसार हुुँदा सारै राम्रो संविधान र आफ्नो काम नभएमा खराब संविधान भन्ने अनि फाइदामा यसको औचित्य र महत्वलाई गन्ने बिचित्रको दस्ताबेज बनाउने स्रष्टाहरुलाई नमन गरेपछि यसैको आधारमा उहाँहरुले जतिसुकै र जे सुकै गमन गरेपनि जायज मान्न पर्छ।

यो संविधान घोषणा भएर लागू हुनासाथ दक्षिणतर्फका अति असल छिमेकीले अघोषित नाकाबन्दी लगाएको र नेताहरुको कारणले जनताको सुख सुबिधा भगाएको यो नै पहिलो संविधान बन्ने सौभाग्य पनि यही संविधानले पायो।

संविधानको बिरोध गरेर र यस बारेमा अनेक भ्रम छरेर अनि दक्षिणी अन्तरराष्ट्रिय सिमाना तरेर आफ्नै देशमा ढुंगा बर्साउने र उताको आड भरोसा र लगानीमा यताका सत्तावालालाई तर्साउने काम पनि मधेशवादी दलहरुबाट तत्कालै सुरु भइहाल्यो।

तिनैले यही संविधान अनुुसारको चुुनावमा भाग लिइ जितेर स्थानीय, प्रादेशिक र संघीय स्तरमा आएपछि आफ्नो माग पूरा नभए पनि खुुसी भएर खानपिन गर्दै र सत्ताको चास्नीमा चर्दै आएपछि यसमा सुुधार गर्छौं भनेर जनतामा भ्रम छर्दै अनि यही माध्यमबाट आफ्नो भुँडी मजाले भर्दै बाहिर बिरोध भित्र समर्थन गरेर काम चलाएको अरुलाई दुुर्लभ जस्तो लागेपनि उनीहरुको लागि सामान्य दृश्य सबैले राम्ररी हेर्न पाए।

संघीय संसदको चुुनाव सकिएको दुई तीन महिनासम्म पनि बहुुमतसहित जितेको दललाई सरकार नछोडी खाइराख्ने र सरकारी सुबिधा पाइराख्ने कार्य बुढानिलकण्ठे सभापतिले जारी राखेपनि कसैले कोही भनेनन्।

सरकार बनाउन र आफ्नो जितको उपलब्धि जनाउन अनि कुुर्सी छोड्ने गरी मनाउन बालकोटे कामरेडले निकै कसरत गरेपछि बल्लबल्ल बुुढानिलकण्ठे सभापतिबाट सरकार छोडेर बाहिर निस्कने काम भयो।

बहुुमतसहित चुुनाव जित्ने बालकोटे कामरेडले सरकारमा जाने हतारले संविधान अनुुसार सपथ खाएर मात्रै पद बहाली गर्न पर्नेमा सपथलाई गोली मारेर आफ्नो टोलीसहित पद बहाली गरिदिए। यसमा संविधानका निर्माता, संरक्षक, अभ्यासकर्ता, ब्याख्याता आदि सबैले मौन रहेर तमासा हेरे।

स्वघोषित महान नेता र सरकार प्रधानकी अर्धाँगिनीले दक्षिणी छिमेकीसित जसरीपनि पारित गराउने जिम्मा लिएर र पूरा गर्ने बचन दिएर आएको पर्सिपल्ट अचानक संसदमा पेश भएर पास भएको नागरिकता बिधेयक राष्ट्र प्रधानले फिर्ता पठाउँदा उनीहरुको ओठ तालु सुकेर र दक्षिणका प्रभुले नालाइक भन्दै थुकेर दुत्कार्ने भएकोले यिनीहरु राष्ट्र प्रधानको बिरुद्धमा ठाउँ कुठाउँ भुकेर हिँडेका हुन् भन्नेमा जनताका पटक्कै बिश्वास छैन।

करिब दुई बर्ष जति बालकोटे कामरेडको सरकार आकाश पाताल जोडिने बिकास, समृद्धि र सुुखी जनताको गफ र उखान टुक्कासहित हाँसो ठट्टा रमाइलो र रमितामै बित्यो। यी सबै कार्यहरु संविधानकै परिधि भित्र रहेर सम्पन्न भएको बालकोटेको जिकिरलाई सबैले सही ठहर्‍याए।

किड्नीको कारणले बालकोटे छिटै परमधाम हुुने र अध्यक्षको कुुर्सीलाई निर्बिरोध आफूले छुुने अनि त्यसका पुुराना आकांक्षीहरु रुने पक्का छ भनेर हतार हतार दलको एकीकरण गरेर अनि सबैकुुरा सधैंभरी आफूले सोचे अनुसार मात्रै हुन्छ भन्नेमा ढुक्क परेर मुख मिठ्याउँदै जोडिन गएका स्वघोषित महान नेता खुमलटारे कामरेडलाई बालकोटेको किड्नी तन्दुरुस्त भएर धोका दियो।

बालकोटे कामरेड पहिलेभन्दा जोसिलो फुर्तिलो र चल्तापुुर्जा भएर हिँड्न थालेपछि र एकततर्फी कदम चालेपछि खुुमलटारेलाई सहिनसक्नुु खपिनसक्नुु हुनु नौलो कुरै होइन। आफ्नै दलका आफू सरहका अध्यक्षलाई जतासुकैबाट असफल बनाउन खुमलटारेले निकै ठूलो मेहनत गरेर आफ्नै दलको एकतामा दुलो पार्न भ्याए।

स्वघोषित रुपमा अत्यन्त नैतिकवान कोटेश्वरे कामरेडको समेत साथ र सहयोगमा एकैचोटि सरकारमा, सदनमा र सडकमा देखा परेर यो टोली संबैधानिक प्रकृया र दलको बिधानलाई लात मारेर हो कि पर सारेर बालकोटेलाई घुँडा टेकाउन अघि बढ्यो।

सौताको रिसले लोग्नेको काखमा कुन्नि के जाति गरेजस्तो बालकोटे कामरेडले संविधानमा ब्यबस्था नै नभएको सरकार प्रधानले संसद बिघटन गरेर चुुनावको घोषणा गरिदिए र बिरोधीको योजनामा पानी छरिदिए अनि बिरोधीहरुलाई तह लगाउन जेपनि गर्ने स्तरमा झरिदिए। संविधानमा ब्यबस्था नै नभएको संसद बिघटनको सिफारिशलाई राष्ट्र प्रधानबाट तत्कालै अनुमोदन प्राप्त भयो र कार्यान्वयनमा गयो।

यस बिरुद्ध परेको रिटमा अदालतले संसदलाई ब्यूँत्याइ दियो र बालकोटेको घोषणाले बिश्राम लियो। सरकार प्रधानको कुर्सीबाट बालकोटेलाई हटाउन र फर्कन नसक्ने गरी डाँडो कटाउन बुढानिलकण्ठे सभापतिलाई अघि सारेर बिरोधीहरुले कोशिश गर्दा सरकार प्रधानको कुर्सीको टेण्डर आह्वानमा अनेक छलछाम र जालझेल सहितको तालमेल गरेर मध्यरातमा राष्ट्र प्रधानबाट बालकोटेले नै बाजी मारेको घोषणा भयो।

यो पनि संविधान अनुसार हो कि के हो सबैले आफ्नो सोचाइ र अनुुकुलता अनुुसार बुझे। आफैंले बिघटन गरेको संसदमा बालकोटेले छाती फुकाएर भाषण ठोके अनि पुरानै तरिकाले सरकारको जिम्मेवारी बोके र कोटेश्वरे कामरेडको पछि लागेर गएका आफ्ना दलका चौधजना सांसदहरुलाई निकाला गर्नेमा तोके। आफ्नै भुपु सहयात्रीहरुको सडक र सदनको निरन्तरको अबरोध पछि बालकोटेले फेरि संसद बिघटन गरेर चुुनाव घोषणा गरिदिए।

सबै संबैधानिक नियुक्तिहरुमा आफ्ना आसेपासेहरुलाई मात्रै मौका दिने उद्देश्यले एकलौटी निर्णय गर्दा प्रधान न्यायमूर्ति पनि आफ्नो भागबण्डा पाउने र कोटा आउने पदाधिकारीमा परे। संसद बिघटन बिरुद्ध परेको रिटमा दोस्रो पटक अदालतले संसद ब्यूँत्याइदियो।

बालकोटेलाई सरकार प्रधानको कुुर्सीबाट निकाल्न परेको रिटमा संविधान अनुुसार संसदबाट मात्रै बन्न सक्ने सरकार प्रधानको नामसहित सपथ ग्रहणको शुुभ साइत समेत अदालतले परमादेशमार्फत घोषणा गरिदियो। संबैधानिक संसदीय ब्यबस्थामा गिनिज बुकमा लेखिने र संसार भरी अचम्मको घटनाको रुपमा देखिने बिरलै घटना मध्येको एउटा घटनापनि हाम्रैमा हुन पुग्यो।

यसमा हामी सबैले सकेसम्म गर्ब र घमण्ड गर्नपर्छ अनि भबिष्यमा अझ बढी यस्ता घटनाहरुको अनुुभव गर्न अघि सर्नपर्छ। यस्ता अबिस्मरणिय घटनाहरु यो संविधानका निर्माता र अभ्यासकर्ताहरुबाट जनताले अझ बढी अनुुभव गर्न पाउने र त्यस्ता अनगिन्ती मौकाहरु आउने पक्का छ।

यसरी परमादेश दिने इजलासमा बसेका प्रधान सहितका न्यायमूूर्तिहरुले सरकारमा राम्रै भागबण्डाको सुबिधा प्राप्त गरेको र मौका अनुसार जेठान समेतलाई मन्त्री बनाएर मजाले चरेको देख्दा र सुन्दा जनताको खुसीको सीमा रहेन।

संविधानको कुनैपनि दफामा अदालतको परमादेशबाट सरकार बन्न सक्नेछ भनेर कतै नलेखिएको भएपनि त्यसलाई राष्ट्र प्रधान, सरकार प्रधान, संसद,पक्ष बिपक्ष आदि सबैले आफ्नो सोचाइ अनुसार आफैं ब्याख्या गरेर स्विकार गरे।

आफ्नो दलबाट खुमलटारे कामरेडले निष्काशनको सिफारिश गरेका कामरेडहरुको संसद सदस्यता तुरुन्तै खारेज भएको सूचना निकाल्ने ज्यानमारा मुद्दा खेपिरहेका र दलको आडमा अदालतलगायत सबैलाई हेपिरहेका सभामुुखले बालकोटे कामरेडले गरेको त्यस्तै सिफारिशलाई अहिलेसम्म कार्यान्वयन नगरेर धोती लगाइदिए अनि अनेक बहाना गरेर संविधानको प्राबधानलाई नै भगाइ दिए।

अदालतमा महिनौँसम्म भएका गाइजात्रे रमिता पछि त सबैलाई थाहा भएको न्यायको बिक्री बितरण र बिचौलिया घिनलाग्दो चर्तिकलाहरु पुरै छ्याब्याल भएर पोखियो अनि सम्पूर्ण न्याय क्षेत्रलाई नै नगदको तुलोमा जोखियो।

संविधानको कुनैपनि धारामा नभएको परमादेश दिने र त्यसबाट भागबण्डा मार्फत भरपुुर फाइदा लिने प्रधान न्यायमूर्तिलाई नै महाभियोग लगाइयो अनि छ छ महिनासम्म त्यसलाई थन्क्याएर उनै ज्यानमारा सभामुखमार्फत संबैधानिक प्राबधानलाई टाढै पुग्ने गरि भगाइयो।

बिपक्षीको करबलपछि छ महिना गुुजारेर थन्क्याएको महाभियोग प्रस्ताबलाई ब्यूूँत्याइयो। जसले महाभियोग प्रस्ताब पेश गरेका हुुन् उनै मध्येबाट सदस्यहरु राखेर अत्यन्त निष्पक्ष सिफारिश समिति गठन गरियो र कुनै पक्षमा नलागि छानबिन गरिने भ्रम छरियो।

यो छानबिनको बयानमा धेरै बर्ष अघि देखिनै आफ्नो लँगौटी फुस्केर पुरै नाँगिइ सकेका प्रधान न्यायमूूर्तिले अरु सबैको लगौँटी समेत फुकालिदिए। छानबिनको झारातिराइ प्रतिबेदन तयार गरेर नौटंकी गर्दागर्दै संसदको म्याद सकियो र आफ्नो औकात गुमाइ सकेकाहरुबाट अर्को संसदले जिम्मा लिन्छ भन्ने महाबाणी बकियो।

उता महाभियोगको सिफारिश हुँदाहुुदै संसद बिघटन भएपछि उसले गरेका र आफूले जे गरेपनि हुुन्छ भन्नेमा भर परेका सांसदहरुका अपूरा कामहरु आपसेआफ निस्किृय हुुने सिद्धान्त अनुुसार सर्बोच्च अदालत जाने सोच बनाएका र आफू भोलि एघार बजे आउने कुरा जनाएका प्रधान न्यायमूर्तिलाई सरकारले सरकारी निवासमै नजरबन्द गरी राखेको भनेर निकै हल्ला चलेपनि कसैले पत्याएनन्।

निलम्बन भएपछि कुनै सरकारी सुुबिधा पाइँदैन भन्ने कुुरापनि झुटो रहेछ भनेर जनताले बल्ल थाहा पाए। प्रधान न्यायमूर्तिले आफू बिरुद्धको महाभियोगको कारबाहि निस्कृय भयो अब अदालत गएर सबैलाई एकएक गरेर ठिक पार्छ भन्ने सोचेका होलान् भनेर डराएका र त्यही कारणले बिवेक हराएका सरकार प्रधान सहितका गठबन्धनवालाहरुले नजरबन्द गरेका हुन् जस्तो सबैको सोचाइ भएपनि जनताले चाहिँ त्यस्तो नराम्रो सोचेका छैनन्।

संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणको लागि राष्ट्र प्रधानकहाँ गएको नागरिकता बिधेयकलाई पन्ध्रवटा बुुँदा सहित पुनर्बिचारको लागि फिर्ता पठाउँदा गठबन्धन सरकार र दुबै सदनले राष्ट्र प्रधानको बुुँदाहरुलाई कोही मतलब नगरी हुबहुु रुपमा जस्ताको तस्तै पारित गरेर फेरि प्रमाणिकरणको लागि पठायो। यसबाट राष्ट्र प्रधान भनेको सरकारको रबर छाप मात्रै हो उसको कुनै औकात र हैसियत छैन भन्ने देखाउन खोजियो अनि हेपेर काम गराउने बाटो रोजियो भन्ने आम जनता र उनका हितैषीहरुको सोचाइलाई सरकारले वास्ता गर्नै परेन।

स्वघोषित महान नेता र सरकार प्रधानकी अर्धाँगिनीले दक्षिणी छिमेकीसित जसरीपनि पारित गराउने जिम्मा लिएर र पुुरा गर्ने बचन दिएर आएको पर्सिपल्ट अचानक संसदमा पेश भएर पास भएको नागरिकता बिधेयक राष्ट्र प्रधानले फिर्ता पठाउँदा उनीहरुको ओठ तालु सुकेर र दक्षिणका प्रभुले नालाइक भन्दै थुकेर दुत्कार्ने भएकोले यिनीहरु राष्ट्र प्रधानको बिरुद्धमा ठाउँ कुठाउँ भुकेर हिँडेका हुन् भन्नेमा जनताका पटक्कै बिश्वास छैन।

दोश्रो पटक जस्ताको तस्तै पठाउँदापनि राष्ट्र प्रधानले आफूलाई संविधानले तोकेको अबधिसम्म प्रमाणित नगरी त्यत्तिकै रोकेको कुरालाई देश प्रेमको भावना बोकेको होइन कि संविधानलाई मुक्का ठोकेको भनेर गठबन्धन सरकार तर्फका सबैले एक स्वरले भनेपनि राष्ट्र प्रधानको पुरानो बालकोटे कामरेडको दलले भने बचाउ गरेको दखिन्छ।

यसमा जनतापनि बिभाजित भएका र आआफ्ना कित्तामा गएका छन्। नागरिकता बिधेयक दोश्रो चोटिपनि प्रमाणित नगरेपछि सरकार प्रधान र गठबन्धनमा भएका पाँच मध्ये चार दलका अध्यक्षले आफ्नै राष्ट्र प्रधान बिरुद्ध बिज्ञप्ति निकालेका छन्।

यसै गरेर उपराष्ट्र प्रधानलेपनि राष्ट्र प्रधान बिरुद्ध बिज्ञप्ति निकालेका छन्। गठबन्धनमा भएका दलका बिद्यार्थी संगठनहरुलेपनि दलको निर्देशनमा राष्ट्र प्रधानको बिरोधमा सडकमा जुलुस, सभा, प्रदर्शन, पुत्ला दहनको साथै अन्य कार्यक्रमहरु गरेर दललाई साथ दिइरहेका र दक्षिणी छिमेकी रिसाउला भनेर गरेको भन्न नसकी मुख सिइरहेका छन्।

राष्ट्र प्रधान, उपराष्ट्र प्रधान, गठबन्धन सरकार, संसद, अदालत आदि सबै नै बिभाजित र बिचलित भएर र एकअर्का बिरुद्ध गएर संविधानको धज्जी उडाएको अनि आआफ्नै इज्जतको भकुन्डो गुडाएको देख्दा यी सबै मिलेर देश र जनताको मान प्रतिष्ठा इज्जत इच्छा आकांक्षा र चाहनाहरु मजाले चुँडाएको हो भन्नपनि जनताले सकेका छैनन्।

राष्ट्र प्रधानको बिरुद्धमा गठबन्धन सरकार कै निर्देशनमा आधा दर्जन जति रिट दर्ता भएको समाचारले पनि निकै हिट खाइसकेको र चर्चा पाइसकेको छ। राष्ट्र प्रधानलाई सरकारले मुद्दा हालेको र यस्तो अद्भुुत कदम चालेको संसारमै पहिलो घटना नहोला भन्न सकिन्न।

यसो हेर्दा यो संविधान भन्ने निर्जिब पुस्तकलाई बलिया र सक्नेले जसरी मन लाग्छ त्यसरि प्रयोग गरेर सबैलाई उल्लु बनाउँदै र म बाहेक अरुले यो अनुसार कामै गरेका छैनन् भनेर सबैतिर भनाउँदै अनि सबैतिरबाट खप्नै नसकिने गरी गनाउँदै हिँडेपनि आफूभन्दा असल र गतिलो अर्को जन्तु यो संसारमा छँदै छैन भनेर जबरजस्ती जनाउँदै हिँडेका छन्।

सबैले आफूलाई चाहिँदा योभन्दा उम्दा दस्ताबेज अर्को हुुनै सक्दैन भनेर संविधानको चर्को वकालत गर्ने र आफूलाई नचाहिँदा यस्को कुुनै कामै छैन भन्न अघि सर्ने गरेर सबैले मिलेसम्म घोर उल्लँघन बाहेक अरु कोही नगरेकोे हुँदा संविधान भनेको चाहिँदा भाँडो नचाहिँदा ठाँडो पो रहेछ भनेर जनताले राम्ररी बुझ्ने मौका पाएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *