रोजर फेडेररले टेनिसबाट सन्यास लिए, अन्तिम खेलमा रोए

डिसी नेपाल
८ असोज २०७९ १०:१७

काठमाडौं । लिजेण्ड टेनिस खेलाडी रोजर फेडेररले करियरको अन्तिम प्रतियोगितामा हार बेहोरेर शुक्रबार टेनिसलाई बिदाइ दिएका छन् । लेभर कपमा फेडेरर राफेल नाडालसँग खेल्दै थिए ।

यस खेलमा फेडेरर र नाडाल अमेरिकाका फ्रान्सिस टियाफो र ज्याक सोकसँग ४-६, ७-६, ११-९ ले पराजित भएका थिए । यो हारसँगै फेडेररको टेनिस करियर समाप्त भएको छ ।

खेलको अन्त्यमा फेडेरर भावुक भए । करियरको अन्तिम खेलमा पराजयको पश्चाताप उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । उनले टेनिस कोर्टबाट त्यहाँ उपस्थित दर्शकहरूलाई अभिवादन गरे।

पछिल्लो दुई दशकयता टेनिसमा सबैभन्दा बढी चर्चामा रहेका फेडेररले २४ वर्षपछि खेललाई अलविदा भनेका छन् । आफ्नो करियरमा २० ग्रान्डस्लाम जितेका फेडेररले २०२१ विम्बल्डनपछि एउटा खेल खेलेका छैनन्। उनको घुँडामा चोट लागेको थियो ।

रोजर फेडेररले आफ्नो टेनिस करियरको अन्तिम दिन भनेका छन्, ‘हामी सबै यो क्षणबाट गुज्रिरहेका छौं । यो एक अद्भुत दिन थियो। म खुसी छु, दुखी छैन। यहाँ हुनुमा गर्व छ। अन्तिम पटक जुत्ताको फिता बाँध्दा म धेरै खुसी छु, यहाँ मेरो लागि अन्तिम पटक थियो।’

उनले भने, ‘मैले तनाव लिएको छैन । यद्यपि मलाई केहि हुन लागेको महसुस भएको थियो। तर खेल उत्कृष्ट भयो । राफेल र यहाँ भएका सबै अद्भुत व्यक्ति सबैलाई धन्यवाद।”

फेडेररले टेनिसको संसारमा आफ्नो यात्रामा आफ्नी श्रीमतीको सहयोग निकै महत्वपूर्ण भएको बताएका छन् ।

फेडेरर भन्छन्, ‘उनले मलाई धेरै अघि नै रोक्न सक्थिन् । धेरै समय भयो तर उनी रोकिइनन् । उनले मलाई अगाडि बढ्न र निरन्तर खेल्न दिइन्। यो शानदार छ। धन्यवाद।”

रोजर फेडेररले २० ग्रान्डस्लाम उपाधि जितेका छन् । उनले २००३ मा विम्बल्डनमा आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जितेका थिए। आफ्नो करियरमा फेडेररले ६ अष्ट्रेलियन ओपन, १ फ्रेन्च ओपन, ८ विम्बल्डन र ५ युएस ओपन प्रतियोगिता जितेका छन् । फेडेरर अहिले पुरुष वर्गमा कुल ग्राण्डस्लाम उपाधिका आधारमा आफ्ना मुख्य प्रतिद्वन्द्वी राफेल नाडाल र नोभाक जोकोभिच पछि तेस्रो स्थानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *