यात्रा संस्मरण

बी हाइभ भवन, मौरीका चाका र बेलिङ्टनको यात्रा

कपिल लोहनी
१२ असोज २०७९ १०:१७

जनवरी १, २०२० को दिन म अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीबाट बिहानको हवाई यात्राबाट न्युजिल्याण्डको ठूलो शहर अकल्याण्डको लागि रवाना भएँ।

अष्ट्रेलियाका एडिलेड, ब्रिस्वेन, गोल्डकोस्ट र क्यानवेराको भ्रमणका साथै मेल्वोर्न र सिड्नीमा मैले लेखेको पुस्तक ‘विचार र अनुभूति’ को लोकार्पण र हस्ताक्षर कार्यक्रम पश्चात म अकल्याण्डमा पनि मेरो पुस्तकको लोकार्पण गर्ने हेतुले गएको थिएँ।

यसभन्दा पहिले म सन् २००९ मा न्युजिल्याण्ड गएको थिएँ। मेरा जेठा दाजु, भाउजु र भतिज तथा बुहारी त्यहीँ बसोवास गरिरहेकोले न्युजिल्याण्ड मेरो लागि आफ्नै अर्को घर जस्तो लाग्ने गर्दछ।

सिड्नी जस्तो विशाल शहरको घुमघाम गर्न समय नपुगे पनि म जनवरी १ तारिखमा जसरी पनि अकल्याण्ड पुग्नु पर्ने नै थियो। कारण थियो, त्यो दिन मेरो दाजैको जन्मदिन।

त्यसैले अघिल्लो रातको नयाँ साल शुरु हुने बेलाको सिड्नीको प्रख्यात आतिशवाजी र आधा-रातसम्म रमाइलोसँग टिकेर बसिरहनको निम्ति साथीहरूको साथमा पिएका नानाथरी वियर, ह्विस्की, भोड्का र टकिलाका साथै अनिन्द्राको वावजुद पनि बिहानको उडान पक्रन म विमानस्थल पुग्नु नै थियो।

भाइ भेष थापाले बिहानै उठेर मलाई नास्ता खुवाएर विमानस्थल पुर्‍याए। विशाल सिड्नी विमानस्थलमा पनि नयाँ सालको चहल पहल थियो। अपरिचित मानिसहरूले पनि एक अर्कालाई नयाँ वर्षको शुभकामना दिइरहेका।

क्वान्टासको विमानमा नयाँ वर्षको दिन यात्रा गर्दा विमानका परिचारिका तथा अधवैँशे उमेर नाघिसकेका अनुभवी स्टेवार्डले नयाँ सालको शुभकामना दिँदै विशेष खाना खुवाएका थिए।

अकल्याण्डमा दाजुको घरमा पुगेपछि केही बेरको आराम पश्चात नै हाम्रो सानो पारिवारिक जन्मदिनको कार्यक्रम सम्पन्न भयो। धेरै वर्षपछिको मिलनले निक्कै रमाइलो महसुस भयो।

उनीहरूको पनि क्रिसमस र नयाँ वर्षको लामो बिदा भएकोले यसपाली समय मिलाएर न्युजिल्याण्डको राजधानी वेलिङ्गटन जाने कार्यक्रम तय भयो। विश्वका १० सबैभन्दा बस्न लायकका शहरहरूमा अकल्याण्ड पहिलो नम्बरमा, एडिलेड तेश्रो, वेलिङ्ग्टन चौथो, मेलबोर्न नवौँ र ब्रिस्वेन दशौँ नम्बरमा पर्दछन्।

यसरी यस पटकको भ्रमणमा विश्वका १० मध्ये ५ सबैभन्दा बस्न लायकका शहरहरूको भ्रमण गर्ने अवसर मिल्यो। न्युन आपराधिक गतिविधि, सफा वातावरण र रोजगारीको अवसर धेरै भएका सुन्दर शहरहरू यस्तो श्रेणीमा पर्दछन्।

एक महिनाको लागि न्युजिल्याण्ड जाँदा पनि यता उता घुमफिर, पिकनिक, पार्टी भ्याउँदा र पहिले चिनाजानी भएका नेपालीहरूसँग भेटघाट गर्दा र पुस्तकको लोकार्पण कार्यक्रमको तयारी गर्दा गर्दै नेपाल फर्कने बेला भइसकेछ।

त्यतिबेला अष्ट्रेलियामा लागेको विशाल बुश फायर (डढेलो)को धुवाँ र धुलो न्युजिल्याण्डको आकाशसम्म पनि पुगेको र एकाध पटक आकाश नै पहेँलो भएका दृश्य पनि देखियो। आखिर हाम्रो वेलिङ्गटन जाने कार्यक्रम नेपाल फर्कनु भन्दा दुई दिन अघिको लागि तय भयो।

भूकम्पीय क्षेत्रमा परेकोले यो भवनको मुनी जगमा विशाल फलामे संरचना बनाएर भूकम्पन हुँदा यो भवन पनि सँगसँगै यताउता गुडेर भूकम्पको धक्कालाई कम गर्नुका साथै भवनको सुरक्षासमेत हुने प्रवन्ध मिलाएको रहेछ।

मोटरगाडीमा जाँदा अकल्याण्डबाट वेलिङ्ग्टनको दूरी ६३५ किलोमिटर यानी ८ घण्टा जति हुँदो रहेछ। तर मोटरको यात्रामा बाटोमा धेरै ठाउँहरू हेर्दै जान पाइने भएकोले पनि हवाइजहाजबाट जानु भन्दा धेरै रमाइलो हुने।

बिहान सबेरै हामी दाजुको जिपमा रवाना भयौँ। भतिजको घर दाजुको अकल्याण्डको घरबाट करिव ४५ मिनेटको दूरीमा एउटा ज्यादै मनोरम सानो स्याटलाइट टाउनमा पर्छ। उसको घरमा नास्ता गरेर बाटोको लागि पनि केही खानपिनको सामान गाडीमा राखेर हामी अगाडि बढ्यौँ।

शुरुमा मेरो मनमा अकल्याण्डबाट वेलिङ्ग्टनको बाटो कम्तिमा पनि ६ लेनको होला जस्तो लागेको थियो। किनकी अकल्याण्ड न्युजिल्याण्डको सबैभन्दा व्यस्त र ठूलो शहर हो भने वेलिङ्ग्टन राजधानी शहर नै हो। तर मेरो सोचको ठीक विपरित यो राजमार्ग २ लेनको मात्र रहेछ।

हाम्रो मुलुकका राजमार्ग जस्तै। फरक चाहिँ के भने, त्यहाँको राजमार्गको मर्मत सम्भार नियमित रूपमा हुने र त्यहाँको ट्राफिक व्यवस्थापन अति नै चुस्त हुने भएकोले बाटोमा गुड्ने सबै सवारी साधनहरू नियमको पालनासहित अनुशासित तवरले गुड्ने। त्यहाँको राजमार्गमा गाडीको चाप पनि कम। यसो भएपछि बाटो चौडा नभए पनि खासै फरक नपर्ने रहेछ।

बाटोमा विभिन्न प्रकारका मह पाइने हुका हनी हाइभमा हामी रोकियौँ। त्यहाँ स्थानीय महको उत्पादन गरेर प्रदर्शनी र बिक्रीमा राखिएको रहेछ। हामीले केही प्रकारका मह चाख्यौँ र खरिद गर्‍यौँ पनि।

न्युजिल्याण्डका ग्रामीण क्षेत्रमा मिलौँ मिल लामा भेँडा-बाख्रा र गाईका चरन क्षेत्र हुँदा रहेछन् र त्यस्ता ठाउँमा उच्च नश्लका हजारौँ भेँडा-बाख्रा र गाई-गोरुहरू चरिरहेका देख्न पाइने। त्यहाँबाट अघि बढेपछि मनोरम लेक टाउपोले फेवा तालको झझल्को दियो।

तर यो ताल ज्यादै ठूलो, सफा र यसको किनाराबाट मोटर बाटो गएको। तालको अतिक्रमण गर्ने हिम्मत कसैको पनि हुँदैन। किनकि यो मुलुक पनि अन्य विकसित मुलुक जस्तै कडा कानुन र अनुशासनमा चलेको छ। टाउपोमा खाना खाने धेरै रेष्टुरेन्ट र बस्ने होटेलहरू पनि।

हामीले पनि एउटा पुरानो डकोटा हवाइजहाजलाई होटेलको रूप दिइएको रेष्टुरेन्टमा गएर कफी पियौँ। टाउपो ताल फेवा तालभन्दा धेरै ठूलो। यसको किनार किनार गाडी कुदाउँदै हामी अघि बढ्यौँ र एक ठाउँमा रोकिएर हामीले लगेको खाना खायौँ र पानीमा खेलेर टाउपो तालको मज्जा पनि केही बेर लियौँ।

लेक टाउपो नजिकै एक ठाउँमा ज्यादै सफा पानी बग्ने विशाल झरना रहेछ। वाइकाटो स्ट्रीम भनेर चिनिने यो पानीको विशाल झरनालाई आइस ब्लु स्नो ह्वाइट पनि भनिँदो रहेछ। यस्तो कन्चन पानी त सायदै कतै पाइन्छ।

यो राजमार्गको अधिकांश भाग हराभरा भएपनि माउन्ट रुवापेहुबाट अघि बढ्ने बित्तिकै ज्यादै उराठ लाग्दो मरुभूमि जस्तो क्षेत्र। टाढा देखिने मनमोहक माउण्ट रुवापेहु जम्मा २,७९७ मिटर मात्र अग्लो रहेछ।

न्युजिल्याण्डको सबैभन्दा अग्लो पहाड नै जम्मा ३,७६४ मिटरको माउण्ट इउक हो। हराभरा पहाड, ताल, चरन क्षेत्र, मरुभूमि र समुद्रको किनाराको मनमोहक दृश्य हेर्दै हामी वेलिङ्ग्टन पुग्यौँ।

साँझपख वेलिङ्ग्टन पुगेपछि हामी दार्जिलिङको झल्को दिने तर ज्यादै विशाल भवनहरू रहेको उकाली ओरालीयुक्त स्थानमा रहेको हाम्रो होटेलमा पुग्यौँ। २२औँ तल्लामा हाम्रा कोठाहरू रहेछन्।

एकछिन आराम गर्नु पर्‍यो भनेर पल्टने वित्तिकै घच्याक्क हल्लाएको महसुस भयो। पछि बुझ्दा साना साना भुकम्पहरू त त्यहाँ समय समयमा गइरहँदा रहेछन्। साँझको झिलीमिली हेर्न र खाना खान हामी होटेलबाट निस्केर हिँड्दै त्यहाँको मुख्य बजारतिर लाग्यौँ।

वेलिङ्टन शहर खासगरी हिँड्दै घुम्न निक्कै रमाइलो रहेछ। ज्यादै सफा, चौडा पेटी तथा कम जनसङ्ख्या रहेको यो शहरमा भिडभाड कम हुनुका साथै सवारीका साधनहरू पनि निक्कै कम चल्दा रहेछन्।

५० लाख जनसङ्ख्या भएको न्युजिल्याण्डको जन-घनत्व मात्र १८ जना प्रति किलोमिटर छ। सफा हरिया दुइतले सार्वजनिक बसहरू मिनेट मिनेटमा आवत जावत गर्ने भएकोले टाढा जानु पर्ने यात्रुहरूलाई पनि राम्रो सुविधा उपलव्ध रहेछ।

सडकको दुवैतिर किनमेल र खानपिनका दोकानहरू क्रमवद्ध रूपमा खुलेका। मानिसहरू प्रायः हिँड्ने नै भएकाले ज्यादै छरिता देखिने। नजिकको क्युवा स्ट्रीटमा हिँडेर घुम्ने विशाल पेटीहरू र हरियालीबीच आराम गर्न कुर्सीहरू राखिएका।

यो सडकमा रात्रीको चहल पहल नै भिन्दै। चौडा पेटीमा चटके तथा गीत गाउनेहरूले मनोरञ्जक प्रस्तुति दिएर केही रकम कमाइ पनि रहेका। बकेट फाउन्टेनको अगाडि बसेर फोटो खिच्नेहरू पनि धेरै।

सडकको किनारामा पव तथा रेष्टुरेन्ट र आइसक्रिम पार्लर अनि कफीसपहरू। हामीले पनि एउटा निक्कै रमाइलो पवमा गएर चिसो आइरिस स्टाउट वियरको मज्जा लियौँ। वेलिङ्ग्टन वियर उत्पादनको निमित्त पनि प्रख्यात ठाउँ हो।

त्यहाँ आएका अन्य ग्राहकहरू पनि रमाइला खालका। गफगाफ गरियो। फर्कँदा त्यहाँको नाइट मार्केटको रमाइलो लिँदै एउटा रेष्टुरेन्टमा हल्का डिनर गरेर होटेलमा गएर सुत्यौँ।

न्युजिल्याण्डको उत्तरी टापुमा प्रायः जसो माओरी आदीवासीहरूको बसोवास भएपनि यसकोे दक्षिणी कुनामा रहेको सुन्दर राजधानी वेलिङ्ग्टनमा भने गोराहरूको बाहुल्यता छ।

माओरीहरू यहाँ करिव १,००० वर्ष अघि साना साना डुङ्गामा लामो यात्रा गरेर टाढाका टापुहरूबाट आएर बसेको अनुमान छ। वेलिङ्ग्टनबाट दक्षिणी टापुमा पुग्न समुद्री मार्गबाट ३ घण्टा लाग्दो रहेछ र त्यहाँ फेरीहरू चल्ने गर्दछन्।

नयाँ गगनचुम्वी भवनहरूका साथै वृटिश साम्राज्यको पालाका पुराना भवनहरूलाई पनि ज्यादै जतनका साथ सम्वद्र्धन गरेर राखिएको छ। वेलिङ्ग्टन एक अति नै हावा चल्ने शहर हो। यहाँको विमानस्थलमा अवतरण गर्ने र उड्ने हवाइजहाजहरू निक्कै धेरै हल्लिने गर्दा रहेछन्।

भोलिपल्ट हामी बिहानैदेखि घुम्न निस्कियौँ। वेलिङ्टनको माउन्ट भिक्टोरिया पिक (१९६ मिटर) यहाँको विशेष आकर्षण रहेछ। शहरको मध्य भागबाट हङकङमा जस्तै मोनोरेल जस्तो केवल कार चढेर पहाडको ठाडो उकालो छिचोल्दै हामी डाँडाको टुप्पोमा पुग्यो जनही ५ न्युजिल्याण्ड डलर तिरेर।

६४ एकड क्षेत्रफलमा फैलिएको निक्कै मनमोहक बोटानिकल गार्डेन रहेको यो डाँडाबाट चारैतिर पुरै वेलिङ्टन शहर र समुद्र देखिँदो रहेछ। त्यहाँ धेरै पहिले चल्ने गरेको पुरानो प्रविधिको मोनोरेल केवल कारलाई पनि सङ्ग्रहालय बनाएर राखिएको रहेछ।

वेलिङ्ग्टनका सबैभन्दा पुराना रुखहरू बचाएर राखिएको र बाल उद्यान पनि बनाइएको। नेपालले सिक्नु पर्ने धेरै कुराहरू। विभिन्न प्रकारका फूल, अर्किड तथा विरुवा र पुतली अनि अन्य चराचुरुङ्गी र किरा-फट्याङ्ग्राको अवलोकन गर्ने हो भने त यो बगैँचामा दिनभरी बसे पनि धित मर्दैन।

शहरको मुख्य भागको हरित बगैँचाभित्रको उकालीमा अवस्थित माहुरीको विशाल चाकाको आकृतिमा बनाइएको न्युजिल्याण्डको संसद भवन (बि हाइव) र मन्त्रिपरिषद सचिवालय तथा मन्त्रालयहरू रहेका स्थान राजधानी वेलिङ्ग्टनको मुख्य आकर्षणको केन्द्र हुन्।

बि हाइब र यसको बगलमा रहेको पुरानो भवनको भ्रमण गर्ने एक प्याकेज नै बनाइएको रहेछ पर्यटक तथा भ्रमण गर्न चाहने अन्य व्यक्तिहरूको लागि।

नेपाल वा अन्य मुलुकका संसदमा जस्तो कडा सुरक्षा यहाँ देखिँदैन तर प्रविधिको माध्यमबाट भने यसलाई पक्कै सुरक्षित नै राखिएको छ। भवनको भित्री भागमा प्रवेश गर्ने वित्तिकै त्यहाँका विभिन्न क्षेत्रहरू बारे लामो जानकारी दिनुका साथै सुरक्षा जाँच पश्चात एउटा स्टिकर छातीमा टाँसिन्छ।

भूकम्पीय क्षेत्रमा परेकोले यो भवनको मुनी जगमा विशाल फलामे संरचना बनाएर भूकम्पन हुँदा यो भवन पनि सँगसँगै यताउता गुडेर भूकम्पको धक्कालाई कम गर्नुका साथै भवनको सुरक्षासमेत हुने प्रवन्ध मिलाएको रहेछ।

यो प्रविधिको पनि अवलोकन गरियो। पुरानो तथा नयाँ संसदको मुख्य हल, सांसदहरू विभिन्न कार्यक्रममा भेला हुने हलहरू तथा पुस्तकालयको पनि हामीले अवलोकन ग र्‍यौँ। यसरी विश्वमा नै नगण्य भ्रष्टाचार हुने मुलुकको संसद र कार्यपालिका भवनहरूको अवलोकन गर्न पाउँदा निक्कै खुशी लाग्यो।

वर्गर, पिज्जा र आइसक्रिमसहितको लञ्च पश्चात हामी प्रख्यात टि पापा म्युजियम (न्युजिल्याण्डको राष्ट्रिय संग्रहालय) गयौँ। बच्चाहरूले खुबै मन पराउने कार्टुनका विभिन्न पात्रहरू र किवी, ह्वेल, डाइनोसर, विभिन्न चराचुरुङ्गी र जनावर तथा माछा प्रजाती र विज्ञान तथा प्रविधि अनि भूकम्प सम्बन्धि तथा माओरी सभ्यता र न्युजिल्याण्डको इतिहास र सेनाको विरता बारेको ज्ञान दिने यो संग्रहालय सबै उमेरका मानिसहरूका लागि ज्यादै उपयोगी रहेछ। त्यस्तै वेलिङ्ग्टन शहरको इतिहास छर्लङ्ग बनाउने वेलिङ्ग्टन म्युजियमको पनि अवलोकन गर्ने मौका मिल्यो।

वेलिङ्ग्टन विश्वकै अङ्ग्रेजी सिनेमा बन्ने एक प्रमुख शहर पनि हो। प्लकबुस्टर सिनेमाहरू जस्तै किङ कङ, दि एभेन्जर्स, लर्ड अफ द रिङ्ग्स्, अभतार र स्पाइडर म्यान, ब्ल्याक शिप, विथाउट अ प्याडल, द लभ्ली बोन्स, द लिजेन्ड अफ जोर्रो, डिस्ट्रीक्ट नाइन, पिटीज् ड्रागन, द फ्राइटनर्स आदि यहीँ बनेका थिए भने कैयन् विश्व प्रसिद्ध सिनेकर्मीहरूको बसोवासको शहर पनि हो यो।

त्यसैले यो शहरलाई ‘विलीवुड’ पनि भनिन्छ। यस्ता केही सुटिङ र सेलिबे्रटीहरूका निवास तथा विटा केभ र संग्रहालय क्षेत्रहरूको पनि हामीले भ्रमण ग¥यौँ। त्यस्तै गाडीबाट मात्र घुमे पनि हामी त्यहाँको प्रख्यात र मनमोहक प्रिन्सेस बे नामक समुद्री किनाराको अवलोकन गर्न पुग्यौँ। राम्रो मौसम भएको बेला यहाँबाट निक्कै टाढाको दक्षिणी टापु पनि देखिने रहेछ।

समय अभावको कारण न्युजिल्याण्ड चिडियाखाना, पुस्तकालय र अन्तर्राष्टियस्तरको क्रिकेट ग्राउण्ड भने हेर्न जान सकिएन। तैपनि दक्षिणी पहाडको टुप्पाबाट यी ठाउँहरू, विमानस्थल र दक्षिणी टापुमा ओहोर दोहोर गरिरहेका फेरीहरूको भने अवलोकन गर्न भ्यायौँ।

त्यस्तै बृटिशहरूको पालामा बनेको वेलिङ्ग्टन रेल स्टेशनको पनि अवलोकन गर्‍यौँ। त्यहाँको बगैचामा महात्मा गान्धीको पूर्णकदको शालिक राखिएको हेर्न पाउँदा पनि आफ्नो दक्षिण एशियाको झझल्को र गौरव महसुस भयो।

बेलुकी इन्डियन रेष्टुरेन्टमा खाना खायौँ र भोलिपल्ट हतार हतार अकल्याण्ड फर्केर केही घण्टाको आराम पछि नै सबैसँग भारी मनले बिदा मागेर नेपालको लागि विमान पक्रन विमानस्थल भित्र लागिहालेँ।

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *