अरुको हृदय खोतल्नेले लेखेको ‘हृदय’ पढ्दा

आज बिश्व मुटु दिवस। वरिष्ठ मुटु चिकित्सकको ‘हृदय’ पुस्तक पढेर हृदयस्पर्श भयो। हृदय पग्लियो फर्कियो उम्लियो। त्यही हृदयको संक्षिप्त समीक्षा गर्न र सबैलाई स्वस्थ मुटुको शुभकामना पुकार्न यो आलेख तयार पारेको छु।

हृदय लेख्ने मान्छेको हृदय पो हृदय। कस्तो बिशाल हृदय? जसलाई एक मिनेट फुर्सद छैन, उसले हृदय लेखेर छाड्यो। हृदयले पाठकहरुको हृदय छुने निश्चित छ।

किनभने म पाठकलाई कहीँ रुवायो। कहीं हँसायो। कहीँ भावुक बनायो। तर, समग्रमा मलाई झन निडर, निर्धक्क, ढुक्क र महसुर बनायो। मेरो हृदय मजबुत र बिशाल बनाइदियो।

तारैतार फोन आउदा र तनाबमाथि तनाब हुँदा पनि हृदयका लेखक बरिष्ठ चिकित्सक डा.भगवान कोइराला टेनिस खेल्न आएकै हुन्छन्। गल्फ खेल्न पुगेकै हुन्छन्। सम्पूर्ण तागत लगाएर खेल खेलेकै हुन्छन्। पसिनाले निथु्रक्क भिजेकै हुन्छन्।

किनभने त्यो हृदयलाई नभई नहुने ब्यायाम हो। हृदय बलियो र बिशाल बनाउने कला, सीप र समय हो त्यो। समयको जुगाड् लेखक स्वयंको स्मार्ट ब्यबस्थापन हो। तसर्थ, “टायम ईज मनी” मात्र होइन “टायम ईज् लाईफ्” मैले उहाँबाट सिकेको पाठ हो।

‘हृदय’ सुकर्म, साहस र सकरात्मक सोचको खानी हो। असल र सही बाटोमा डोर्‍याउँदै सुन्दर र सफल भविष्य सुनिश्चित गरिदिने सुबिचारको रामबाण ओखती हो।

खेलले उहाँको हृदय बिशाल राखेको छ र पो त्यो हृदयले अरु समस्याग्रस्त हृदयहरुलाई स्वस्थ सजीव राख्न संभव भएको छ। मलाई पनि सजिलो किनभने लोसे, अल्छे, ढिलो बिद्यार्थीहरुलाई म समयको ब्यबस्थापन डा. भगवानसँग सिक्न आग्रह गर्दछु।

मैले देखेका हृदयहरु

ज्वारभाटासहित उर्लिरहेको बिशाल कोशी नदीले बगाउनु र बेपत्ता पार्नु २ मिनेट अगाडि मैले आकासबाट हामफालेर उद्धार गरेका सैनिक बेहोस भए।

अर्को सेती नदीले बगाउनु र मार्नु १ मिनेट अगाडि उद्धार गरेकी १४ बर्षीय बालिका आमा भन्दै बेपत्ता दगुरिन् र जन्म दिने मातालाई अंकमाल गरिन्। दुबैजना मृत्यूको मुखबाट बाचेकाहरुको हृदय कति फरक । एउटा चिकन हार्ट अर्को आईरन हार्ट।

अर्को दृष्य, नजिकै बम पड्कियो। आमा बेहोस्। उहाँको हृदय संघैलाई बन्द भयो। अर्को घटनामा सहृदयी जवान पुत्रको स्वस्थ हृदय एक्कासी बन्द भयो। त्यो देखेर पिताको स्वस्थ हृदय अनायास चल्न छाड्यो।

जीवनमा सजिलै जुध्न जित्न सकिने जाबो सानो समस्या र संघर्षसंग आत्तिएर डराएर आत्महत्याको वाहियात बिकल्प रोज्ने डरपोकहरुको चलिरहेको स्वस्थ हृदयले ब्यर्थ बिश्राम पायो। एउटा स्वस्थ हृदय पानीमा हाम फाल्दा डरले बन्द भयो । अर्को सुन्दर हृदय आकासबाट हाम फाल्दा बन्द भयो। स्वस्थ मुटुहरुको सर्वनास।

कसैले अत्यधिक मादकपदार्थ र पान, गुट्खा सेवन गरेर हृदय बिगार्‍यो। अर्कोले धुम्रपान गरेर हृदयलाई अचाक्ली दुखः दियो। यी मैले जीवनमा आँखाले देखेका हृदयहरु भए।

पढेको ‘हृदय’

डा. भगवानको बिचित्रको हृदय। कति महसुर हृदय। साहसीको नमूना हृदय। चट्टानी अडान लिने स्वाभिमान हृदय। तर कहीं पग्लिएको छ। छिनमा धुरुधुरु रोएको छ। पुस्तक साँच्चीकै हृदयष्पर्सी छ। हृदयबिदारक छ।

तर हृदय लेख्ने हृदयसँग ज्ञान, अनुभव, इमोसन, सहानुभूति, शुभेच्छा, सप्रेम, समबेदना सबै छ। त्यो भन्दा धेरै, “सकिन्छ, संभव छ, सफल हुन्छ” भन्ने सकरात्मक सोचको खानी छ । कर्मशील भएर कर्म गरेर खानुपर्दछ। ढाँट्न झुक्याउन ठग्न चोर्न हुँदैहुदैन।

आँट गर भगवानले पु¥याउदछ भन्ने सत्य र सफल पाठ हृदय पुस्तकमा छ। अझ पारदर्शिता र सुशासनको सिक्नैपर्ने पाठले हृदय झन् शोभायमान छ।

हृदयले मेरो हृदयलाई पुस्तक छिटोछिटो पढ्ने उर्जा भरिदियो। सेकेण्ड बिश्राम र बिलम्ब गर्न दिएन। “नयाँ ब्यबस्थापनको जिम्मा लिनु। गरेर देखाउनु। सफलता अवस्यम्भावी छ । अझ सके नेतृत्व स्वीकार गर्नु। सफल र लोकप्रिय हुने निश्चित छ।” हृदयले मलाई हेरक पृष्ठ, हरफ र पंक्तिमा जुरुक जुरुक पारिरह्यो।

“सत्यको सँधै जित हुने। सत्यले न्याय पाउने। असत्य नटिक्ने र हारेर छाड्ने। लोभ, पाप, कुकर्म त्याग्न जरुरी छ। र, सुकर्म परमसेवा नै परमधर्म हो र सबैले खोजेको सुख र सन्तुष्टि प्राप्त गर्ने उपयुक्त माद्यम हो” भन्ने दृढ आत्मविश्वास मलाई हृदयले भरिदियो।

सिफारिस

हृदय प्रकृतिको उपहार हो। मातापिताको बरदान। हृदयको चाल हेरौं। धड्कन सुनौं। त्यस्तो सुन्दर हृदयलाई रक्सी, चुरोट, चिल्लो, पिरो, चिन्ता, निराशाले किन दुखः दिने, सताउने, कमजोर पार्ने र मार्ने? त्यो अक्षम्म पापलाई आजैका मितिबाट सधैका लागि छाडौं।

सबैलाई हृदय सुन्दर, सफा, स्वस्थ, सक्रिय चाहिएको छ। हृदय पुस्तक पढौं र सबैलाई पढ्ने प्रेरणा दिउँ। सबैलाई सफल उद्यमी, ब्यबशायी, ब्यबस्थापक, नेतृत्व बन्ने रहर छ। दृढ ईच्छाशक्ति छ। कृपया हृदय पढेर आफ्नो हृदयमा त्यो साहस भरौं।

हृदय उज्वल भविष्यको सपना देख्ने हाईस्कूलका सबै बिद्यार्थीहरुले पढ्नै पर्ने पुस्तक छ साथै यो सबै नेपालीले पढ्नै पर्ने पुस्तक हो। ‘हृदय’ सुकर्म, साहस र सकरात्मक सोचको खानी हो।

असल र सही बाटोमा डोर्‍याउँदै सुन्दर र सफल भविष्य सुनिश्चित गरिदिने सुबिचारको रामबाण ओखती हो। जीवनलाई सृजनशील, प्रतिभावान, सुन्दर बनाएर बहुआयामिक र बहुउद्देश्यीय छवि भएको सफल पात्रका रुपमा उभियाउन हृदय अति उपयोगी मन्त्रको दस्तावेज हुन सक्दछ।

अर्को दृष्य, नजिकै बम पड्कियो। आमा बेहोस्। उहाँको हृदय संघैलाई बन्द भयो। अर्को घटनामा सहृदयी जवान पुत्रको स्वस्थ हृदय एक्कासी बन्द भयो। त्यो देखेर पिताको स्वस्थ हृदय अनायास चल्न छाड्यो।

अबोध बालबालिकाको मुटु चिर्दा लेखकको मन छोएको र रोएको छ। सबै बालबालिकाले सरल सुलभ स्वास्थ्योपचार पाउनु पर्दछ भन्ने दृढ सपना पलाएको छ। त्यो सुन्दर सपनालाई बिपनामा उतार्ने महान अभियान प्रारम्भ भइसकेको छ।

हृदयले अस्पताल संचालनको संकल्प पूरा गरि छाड्ने छ। सेवा र धर्मका सपना पूरा गर्न कटिबद्ध लेखक डा. भगवानलाई कोटीकोटी नमन छ। हृदय पुस्तक बिक्रीबाट प्राप्त रकम काठमाडू इन्स्टिच्युट अफ चाईल्ड हेल्थ (किओच्) लाई दान दिने उहाँको प्रण कदरयोग्य छ।

जीबनको पहिलो देखाइ

ने रु. २५ हजारको पहिलो संस्करण पुस्तक हेर्न पढ्न र मनमन्दिरमा सजाउन योग्य छ। मैले जीवनमा यति राम्रो र उपयोगी पुस्तक पहिलो पटक देखेको हुँ।

बिशेष व्यक्तित्वलाई गुन तिर्न, उपहार दिन र सम्मान गर्न तथा घर लाईबे्ररीमा सजाउन पुस्तक हिरा जस्तो ओजिलो र मूल्यवान छ। फाईन प्रिण्टको बिशाल हृदयलाई पनि सलाम।

अन्त्यमा

मुटु दिवसले दशैं लगायतका चाडबाडलाई भित्र्याउन शुरु गरिसकेको छ। यी चाडवाडमा मालदार र स्वाददार मिठो भन्दा साधारण र स्वस्थ्कर खाना र आराम भन्दा नियमित ब्यायाम गरेर मुटु खुशी राख्ने काम होस्। हृदय पुस्तकलाई पढ्न यो छुट्टी उपयोग होस्।

आजको हृदय दिवसले प्रकृतिको धनी सुन्दर देश नेपालका अतिथि देवो भवः जन्मजात सत्चरित्रका दरो मुटु भएका हामी साहसिक नेपालीहरुलाई आफ्नो हृदय अझ स्वस्थ र दरो राख्न सद्बुद्धि दियोस्।

मुटु दरो बनाउने सब से उपयुक्त ठाउँ राष्ट्रिय निकुञ्ज, आरक्ष र बनक्षेत्र हुन्। खराब लत र अम्मल त्यागेर त्यहाँ मुटु मजबुत बनाउन सकिन्छ। मुटु दिवसको उपलक्ष्यमा शुभकामना।

(लेखक बालबालिकाको सेवामा समर्पित किवानिज इन्टरनेशनलका सदस्य हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *